स्वास्थ्यका सहसचिव गौतमको पालामा पनि अवैध लाइसेन्स जारी भएको पुष्टि, कुन डिजीको पालामा कति जारी भयो ?


काठमाडौं । १९ दिन यातायात व्यवस्था विभागको महानिर्देशक भएर बसेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमको पालामा १ हजार १ सय ३६ थान नक्कली लाइसेन्स जारी भएको खुल्न आएको छ । यातायात व्यवस्था विभागले अख्तियार  दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको प्रतिवेदनमा गौतमको पालामा पनि अवैध लाइसेन्स जारी भएको पुष्टि भएको हो ।
अख्तियार स्रोतका अनुसार सबैभन्दा बढी नक्कली लाइसेन्स रूपनारायण भट्टराईको पालामा भएको छ । उनको पालामा ३१ हजार ६ सय ६२ थान नक्कली लाइसेन्स जारी भएको हो । त्यस्तै उनलाई पछ्याउँदै गोगनबहादुर हमाल दोस्रो भएका छन् । हमालको पालामा १० हजार ५ ३५ थान नक्कली लाइसेन्स जारी भएको अख्तियारबाट प्राप्त विवरणमा उल्लेख छ ।


त्यस्तै नमराज घिमिरेको पालामा ८ हजार २ सय थान, लावण्यकुमार ढकालका पालामा ७ हजार ३ सय ९४ थान, कुमारप्रसाद दाहालका पालामा ३ हजार ५ सय ४९ थान नक्कली लाइसेन्स जारी भएको खुल्न आएको छ ।
त्यस्तै चन्द्रमान श्रेष्ठको पालामा १ हजार ४ सय ५९ थान, डा. टोकराज पाण्डेयको पालामा १ हजार ८४ थान अवैध लाइसेन्स जारी भएको देखिन्छ ।  नारायणप्रसाद भट्टराईको पालामा ६ सय ९७ थान र सुरेश राउतका पालामा ३ सय ५० थान नक्कली लाइसेन्स जारी भएको खुल्न आएको हो ।
अख्तियार स्रोतका अनुसार अवैध लाइसेन्स जारी धन्दामा यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशकहरुको कुन हदसम्मको संलग्नता रहेको थियो त्यो भने एकिन भइसकेको छैन । अनुसन्धानबाट उनीहरुको संलग्नताको अवस्था खुल्ने अख्तियार स्रोतको भनाइ छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com