श्रम सचिवमा घनश्याम, स्वास्थ्यमा को ?


काठमाडौं । अहिले स्वास्थ्य तथा जनसंख्या, निर्वाचन आयोग जस्ता निकायमा सचिव पद रिक्त रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले अवकाश पाएपछि उक्त ठाउँमा नयाँ सचिव जान सकेको छैन । बैशाखमा उपनिर्वाचन हुन लागेकोमा निर्वाचन आयोगको सचिव पनि रिक्त छ । गत फागुन ६ गते निर्वाचन आयोगका सचिव सूर्यप्रसाद गौतमले ५ वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि सरकारले नयाँ सचिव पठाउन सकेको छैन । उपनिर्वाचनको मुखमा सचिव पठाउन नसकेको भनेर सरकारको आलोचना हुन थालेको छ ।

यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले राजीनामा दिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिव भण्डारीको राजीनामा स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । भण्डारीको ठाउँमा बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायलाई ल्याउने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले स्वास्थ्यलाई बतायो । काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी समेत भइसकेका उपाध्याय श्रम सचिव भएर आउन लागेको स्रोतको दाबी छ । यद्यपि निर्णय परिपक्व भइनसकेको स्रोतको भनाइ छ ।

निर्वाचन आयोगको सचिवमा दिनेशकुमार घिमिरेको सरुवा हुने चर्चा छ । उनी मधेश प्रदेशको प्रमुख सचिवको रूपमा कार्यरत छन् । यस्तै स्वास्थ्यमा आजै बढुवा भएका चूडामणि पौडेल आउने सम्भावना रहेको स्रोतले बतायो । अर्थ सचिव कृष्णहरि पुष्करको पनि सरुवा भएको चर्चा छ । उनको ठाउँमा राजस्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने तयारी भएको स्रोतको भनाइ छ । कानुन सचिवमा फणिन्द्र गौतम आउने चर्चा छ ।

बिहीबारको मन्त्रिपरिषद्को बैठकले धेरै सचिवहरु सरुवा गरेको स्रोतले बतायो । निर्णय परिपक्व हुँदा सचिवहरुले अर्के मन्त्रालय पाउने सम्भावना पनि रहेको प्रधानमन्त्री कार्यालय उच्च स्रोतको भनाइ छ ।

क्याटेगोरी : समाचार
ट्याग : #घनश्याम उपाध्याय, #चूडामणि पौडेल, #दिनेशकुमार घिमिरे, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com