विकलको डिजाइनमा आईटीका ठेक्कामा तुलहरि र अकबरको रजाईँ


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रमा करिब ४१ करोडको सफ्टवेयर र उपकरण खरिदमा भ्रष्टाचार भएको भन्दै विकल पौडेल र आपूर्तिकर्ता अकबर हुसेनलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ । अकबर तिनै व्यक्ति हुन् जसले विकलको संरक्षणमा सरकारी आईटीका ठेक्कामा हत्याउँदै आएका छन् ।

कोभिड-१९ ले नेपाललाई अत्याएका बेला ओम्नी समूह स्वास्थ्य उपकरण खरिदमा छिऱ्यो । त्यो बेला ओम्नी घोटाला भनेर निकै चर्चित बन्यो । उक्त ओम्नीका तुलहरि र म्याक्स इन्टरनेसनलका अकबर हुसेन मिलेर आईटीका ठूला ठेक्का कब्जा गर्दै आएका छन् ।

तत्कालीन सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सुरुवात गरेको टेरामक्स र विद्यालय आईटी ल्याबमा पनि ओम्नीका तुलहरि र म्याक्सका अकबर जोडिएको छ । आईटी माफिया विकल पौडेलको डिजाइनमा तत्कालीन सञ्चारमन्त्री बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणबाट टेरामक्स र विद्यालय आईटी ल्याब खरिद गर्ने निर्णय गरेका थिए । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटा निकट भएर काम गरेका विकलले उक्त आईटी ल्याब ओम्नी-म्याक्स जेभीले पायो । डेढ अर्ब पनि नपर्ने आईटी ल्याब ३ अर्ब पुऱ्याएर प्रतिष्पर्धालाई सीमित पारी ओम्नी-म्याक्स जेभीलाई उक्त ठेक्का परिएको हो । यो ठेक्का सेटिङ गर्ने मुख्य पात्र भने विकलका गुरू दिनेश मानन्धर हुन् । विकल  सुनिल, सतिशलाल आचार्यलगायत सबैलाई मानन्धरले मिलाउने गर्छन् । सेक्युरिटी प्रिन्टिङ प्रेसमा पनि सेटिङ मिलाउन उनी फ्रान्स पुगेका थिए ।

निर्वाचन आयोगले खरिद गरेको २५ करोड प्रिन्टर पनि ओम्नीले पाएको हो । टेरामक्सको करिब ४० करोडको उपकरण म्याक्सले आपूर्ति गरेको फेला परेको छ । लेबलानको भेनराइज कम्पनीले पाएको ठेक्कामा तत्कालीन सञ्चार सचिव बैकुण्ठ अर्याल र विकलको डिजाइनमा अकबरले टेरामक्समा समेत सामान आपूर्ति गर्ने जिम्मा पाए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जडान गरिएको भिडिओ कन्र्फेरेन्सिङ सिस्टमदेखि राष्ट्रिय परिचयपत्रमा समेत ओम्नी जोडिएको छ । विकल र सुनिल पौडेल जोडिएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका अधिकांश ठेक्का ओम्नी ग्याक्सले पाएका छन् । नेपाल टेलिकमदेखि सुरक्षण मुद्रण केन्द्रसम्म ओम्नी, म्याक्स कै नाम आउँछ ।

ओम्नीको तुलहरिको श्रीमती सुमन सिंहको नाममा सिंगापुरमा खोलिएको ब्याङ्कोटेक कम्पनीमा विकल र सुनिल परामर्शदाता भएर काम गरिरहेका छन् । नेपालमा आईटीका हार्डवेयर र सफ्टवेयर खरिद गर्दा उक्त कम्पनीमार्फत सिंगापुरमै कमिसन बुझ्ने गरेको अख्तियारले पुष्टि गरिसकेको छ । सुनिलले राष्ट्रिय सूचना प्रविधि केन्द्रमा खरिद गरेको उपकरण होस् वा विकलले सुरक्षण मुद्रण केन्द्रमा त्यहाँ ओम्नी र म्याक्स जोडिन्छन् । कमिसन भने ओम्नीको भगिनी कम्पनी ब्याङ्कोटेकमार्फत बुझ्ने गरेका छन् ।

ओम्नी र म्याक्स भुकम्पपछि गठन भएको पुनर्निर्माण प्राधिकरणदेखि राष्ट्रिय सूचना प्रविधि केन्द्रको राउटर खरिदसम्म जोडिएका छन् । आईटीका ठेक्कामा बदमासी गर्ने अकबर भ्रष्टाचारमा डामिएका छन् । तर, आयोगको प्रिन्टरदेखि स्वास्थ्य सामग्री खरिदसम्म जोडिएका तुलहरि अहिलेसम्म फुक्काफाल देखिन्छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स र एमडिएमएसभन्दा ठूलो ठूलो बदमासी र घोटाला भएको अनुमान गरिएको विद्यालय आईटी ल्याबमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गर्ने हो भने अकबरसँगै तुलहरि पनि जाने देखिन्छन् । यो विषयमा अख्तियारले तत्काल छानबिन प्रक्रिया अघि बढाउन जरुरी छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #अकबर हुसेन, #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #ओम्नी समूह तुलहरि, #म्याक्स, #विकल पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ