आईटी माफिया पौडेल बन्धु विकल र सुनिल बने नामुद भ्रष्टाचारी


काठमाडौं । आईटी क्षेत्रका माफिया पौडेल बन्धु विकल र सुनिल नामुद भ्रष्टाचारी प्रमाणित भएका छन् । विशेष अदालतले विकल पौडेल र सुनिल पौडेललाई भ्रष्टाचारी ठहर गरेपछि उनीहरू नामुद भ्रष्टाचारीमा कहलाएका हुन् । सूचना प्रविधि क्षेत्रका खरिदमा एकछत्र राज गरिरहेका विकल र सुनिल विशेष अदालतको फैसलाले अहिले भ्रष्टाचारी बनेका हुन् । उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचारका मुद्दा खातकाखात दर्ता हुन थालेको छ ।

आईटी माफिया विकल र सुनिललाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले भ्रष्टाचारी ठहर गरेको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुबै जनाविरुद्ध हालेको पहिलो मुद्दामै विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको हो ।

साविक कटुवाचौपारी-४ पर्वत जिल्ला स्थायी ठेगाना भै हाल बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ मण्डिखाटार शान्तिकोलोनी बस्ने विष्णुप्रसाद पौडेलको नाती धर्मप्रसाद पौडेलका छोरा तत्कालीन सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले गुणस्तरहीन ट्रान्सफर्मर खरिद गरेर राज्यको सम्पत्ति हानि नोक्सानी पुऱ्याएका भ्रष्टाचारी ठहर भएका हुन् ।

विकलविरुद्ध गत २०८० बैशाख ३ गते गुणस्तरहीन ट्रान्सफर्मर खरिद गरेर राज्यको सम्पत्ति हानि नोक्सानी पुऱ्याएको आरोपमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यसको १ वर्ष नाघेपछि २०८१ जेठ ८ गते विशेष अदालतले विकलविरुद्धको उक्त भ्रष्टाचार मुद्दामा २ वर्ष कैद र २५ करोड ४७ लाख बिगो कायम गरी सोही बराबरको जरिवाना हुने फैसला गरेको हो ।

४ महिनादेखि अख्तियारको हिरासतमा रहेका भ्रष्टाचारी विकलविरुद्ध त्यसपछि सरकारी पदमा बहाल रहँदा अमेरिकाको पिआर लिएको, सुरक्षण मुद्रण केन्द्रमा हार्डवेयर र सफ्टवेयर खरिद गर्दा झन्डै ४१ करोड भ्रष्टाचार गरेको र ६२ करोड बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा छुट्टाछुट्टै भ्रष्टाचार मुद्दा विशेषमा दर्ता भएको छ । विकल पहिलो मुद्दामा भ्रष्टाचारी ठहर भएको भोलिपल्टै अकुतको अर्को अर्थात् उनीविरुद्ध अख्तियारले विशेष अदालतमा चौथो मुद्दा दर्ता गराएको हो । अख्तियारले विकलविरुद्ध भ्रष्टाचारका थप मुद्दाको तयारी गरेको पाइन्छ ।

विकलभन्दा सुनिललाई ६ महिना पछाडि भ्रष्टाचार मुद्दा दायर भएको हो । राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक हुँदा ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’मा भ्रष्टाचार भएको आरोपमा अख्तियारले उनीविरुद्ध २०८० असोज १५ गते विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गराएको थियो । उक्त मुद्दामा विशेषका अध्यक्ष कुँवर र श्रेष्ठको संयुक्त इजलासले सुनिललाई २०८१ बैशाख ७ गते भ्रष्टाचारी  ठहर गरेको हो । ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’मा भ्रष्टाचार गरेको ठहर गर्दै विशेषले सुनिललाई ९ वर्ष कैद २३ करोड साढे २७ लाख रुपैयाँ बढी भ्रष्टाचारको बिगो कायम गरी सोही बराबरको जरिवाना हुने फैसाला सुनाएको छ । भ्रष्टाचारी ठहर भएसँगै सुनिलले नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी)को जागिर समेत गुमाएका छन् ।

साविक खैरेनीटार-४  तनहुँ जिल्ला स्थानीय ठेगाना भै हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर ३१ शान्तिनगर शान्तिचोक, घर नम्बर १२० मा बस्ने डोलीरमण पौडेलको नाती, योगराज पौडेलको छोरा सुनिल भ्रष्टाचारी ठहर भएलगत्तै अकुतमा पनि जाकिएका छन् । अख्तियारले उनीविरुद्ध २३ करोड ७५ लाख रुपैयाँ बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले सुनिलविरुद्ध भ्रष्टाचारका थप मुद्दाको तयारी गरिरहेको बुझिन्छ ।

उमेरले पूर्वसिडिओ योगराजको छोरा सुनिलभन्दा धर्मको छोरा अधर्मी विकल जेठा हुन् । राज्यकोष लुटेर अर्बपति बनेका विकल ४२ वर्षका भए । सुनिल ४० हाराहारीका भए । ४० कटेसी रमाउने बेलामा एउटा मुद्दामा मात्रै उनी ९ वर्ष जेल जानु पर्ने भएको छ । आईटी क्षेत्रका खरिद घोटालामा विकल मुख्य योजनाकार हुन् । सुनिल भने उनका मतियार मात्र । विकलले दिएको जुठोपुरो खान पल्किएका सुनिल टेलिकम डुबाउने ध्याउन्नमा थिए । टेलिकमको एमडी सुनिल भएपनि विकलले द्वारिका होटलबाट नेपाल टेलिकम चलाउँदै आएका थिए । धन्न अख्तियार र विशेष अदालतले विकल र सुनिललाई ड्याम्का लगाइदियो र थप क्षति हुनबाट जोगियो ।

भ्रष्टाचारी विकल र सुनिलका पछिल्ला मुख्य संरक्षक बैकुण्ठ अर्याल भने मुख्यसचिवको कुर्सीमा विराजमान छन् । उनलाई कसैले चलाउन सकेको छैन । देशलाई ‘लुट्न सके लुट कान्छा’ बनाएका मझौला माछा भ्रष्टाचारी दहरिए पनि ठूला माछा हाइसञ्चोमा देखिन्छन् । यसमा अख्तियार समेत चुकेको देखिन्छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #विकल पौडेल, #सुनिल पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com