मन्त्रिमण्डल पुनर्गठनले रोकियो यादवको जेनेभा भ्रमण, नयाँ स्वास्थ्य मन्त्री को ?


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्य सुरू गरेसँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप यादवको जेनेभा भ्रमण रोकिएको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा जेठ १४ देखि १९ सम्म हुने विश्व स्वास्थ्य संस्था सम्मेलनमा आज राती २ बजे प्रस्थान गर्ने कार्यतालिका रहेको थियो । तर, स्वास्थ्य मन्त्रालयबाट यादवलाई हटाउने तयारी भएपछि उनको भ्रमण रोकिएको हो । उनको भ्रमण प्रधानमन्त्री कार्यालयले रोकेको हो ।

मुख्य सचिव बैकुण्ठ अर्यालले स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगिता कौशल मिश्रालाई ‘तपाईहरु जानु मन्त्री अहिले जानु हुन्न’ भनेपछि राजनीतिमा नयाँ कोर्स सुरु भएको बुझिएको छ ।

आर्थिक वर्ष २०७१÷ ८२ को बजेट प्रस्तुत गर्नुभन्दा अगाडि नै प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेरको तयारी गरेका हुन् । स्रोतका अनुसार उनलाई विश्वास मत दिने सिके राउतको जनमत पार्टी, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीदेखि आम जनता पार्टीका प्रभु साहसम्मलाई सरकार सहभागी गराउन खोजिएको हो । त्यसका लागि प्रधानमन्त्री दाहालले मन्त्रिमण्डल पुनर्गठनको तयारी थालेका हुन् ।

नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका केही मन्त्रीहरु फेरिने सम्भावना रहेको स्रोतले बतायो । रञ्जिता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने दौडधुमा छिन् । उनलाई त्यो मन्त्रालय दिँदा माओवादी केन्द्रबाट मन्त्री बनेका हितबहादुर तामाङ हट्नु पर्ने अवस्था आउँछ । माओवादीभित्र लामो समयदेखि मन्त्री खाइरहेका नारायणकाजी श्रेष्ठ, शक्तिबहादुर बस्नेत र रेखा शर्मालाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउनु पर्ने मत बलियो छ ।

नारायणकाजीले परराष्ट्र छाडे उक्त मन्त्रालय लिने नेकपा एमालेको दाउ छ । अन्जन शाक्य, सुनिता बराल हरू परराष्ट्र ताकेर बसिरहेका छन् । माओवादीबाट पुराना मन्त्री फिर्ता गए माधव सापकोटा ऊर्जा र सञ्चारमध्ये कुनै मन्त्री बन्न सक्छन् । जनमत पार्टीले पुरानै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना बढेर गएको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) फुटाएर अशोक राईको नेतृत्वमा बनाइएको जनता समाजवादी पार्टीले ३ वटा मन्त्रालयको दाबी गरेको छ । उक्त पार्टीबाट नवलकिशोर साह सडी वन तथा वातावरणमन्त्री र प्रदीप यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं हसिना खान स्वास्थ्य राज्यमन्त्री छिन् ।

अशोक राई नेतृत्वको जसपाबाट रञ्जु ठाकुरलाई मन्त्री बनाउन प्रचण्डमाथि दबाव छ । रञ्जु विनाविभागीय मन्त्री बन्ने हो कि मन्त्रालय समेत तोकिने हो टुंगो लागेको छैन । रञ्जु मन्त्री बने जसपाले स्वास्थ्य मन्त्रालय छाड्नु पर्ने हुन्छ ।

प्रभु साह सहरी विकासमन्त्री बन्न खोजिरहेका छन् । कानुनमन्त्रीमा पनि उनको सम्भावना उत्तिकै छ । नेकपा एकीकृत समाजवादीबाट प्रेम आले कृष्णकुमार उर्फ किसान श्रेष्ठहरु पनि मन्त्री खाने दौडधुमा छन् । किसानलाई मन्त्री बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैं अग्रसर भइरहेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ