स्वास्थ्यबाट उपेन्द्र गए प्रदीप आए वर्ल्डलिंकका लक्ष्मण यादवलाई फरक परेन


काठमाडौं । राज्यलाई झन्डै २ अर्ब राजस्व नतिरेका वर्ल्डलिंक कम्युनिकेसनका सञ्चालक लक्ष्मण यादव अझै शक्ति केन्द्र धाइरहेका छन् । इन्टरनेट सेवा प्रदायकले राजस्व बेरुजु बक्यौता तिर्नुपर्ने सरकारको निर्णयको पक्षमा सर्वोच्च अदालत नै उभिएको छ । तर, वर्ल्डलिंकका लक्ष्मण यादव अझै लबिइङमा लागेको पाइन्छ ।

उपेन्द्र यादव स्वास्थ्यमन्त्री हुँदा लक्ष्मणले उनलाई प्रयोग गरेर इन्टरनेट सेवा प्रदायकसँग राजस्व बेरुजु बक्यौता असुल नगर्न दबाब दिएका थिए । उपेन्द्र हटेर स्वास्थ्यमन्त्रीमा प्रदीप यादव आए तर लक्ष्मणको धन्दा रोकिएको छैन । लक्ष्मणले जसरी उपेन्द्रलाई प्रयोग गरे प्रदीपलाई पनि त्यसरी नै प्रयोग गर्न सक्ने निकटवर्तीहरू सुनाउँछन् ।

तत्कालीन सञ्चार तथा सूचना प्रविधि सचिव (हालका मुख्यसचिव) डा. बैकुण्ठ अर्यालसँग अति घनिष्ठ सम्बन्ध रहेका लक्ष्मणको उपेन्द्र र प्रदीपसँग पनि त्यहिँ तहको सम्बन्ध हो । बैकुण्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाललाई प्रयोग गरेर राजस्व बेरुजु बक्यौता  डिसमिस गराउन खोजेका लक्ष्मणको सञ्चारमन्त्रीमा रेखा शर्मा आएपछि खेलोमेलो बिग्रिएको छ । त्यसमाथि सर्वोच्च अदालतले समेत वर्ल्डलिंकको रिट खारेज गरिदिएपछि उनी पानी-पानी भएका छन् ।

सरकारलाई राजस्व बेरुजु बक्यौता नतिर्न लक्ष्मणले संसद्को सार्वजनिक लेखा समितिका तत्कालीन अध्यक्ष भरतकुमार साह र सचिव डा. रोजनाथ पाणडेलाई समेत प्रयोग गर्न भ्याए । बैकुण्ठलाई त तीनपटक महालेखापरीक्षकको कार्यालय पुऱ्याए । सत्ता फेरिएपछि सञ्चारमन्त्रीको भूमिकामा रेखा शर्मा आइन् । तर, लक्ष्मणको रबैया फेरिएन । स्वास्थ्यमन्त्री भएपछि उपेन्द्रलाई समेत प्रयोग गरे । अहिले पनि उनी उपेन्द्रलाई विस्थापित गरेर स्वास्थ्यमन्त्री बनेका प्रदीपलाई प्रयोग गरिरहेका छन् । उपेन्द्र गए प्रदीप आए तर लक्ष्मणको सत्ता गएन भने जस्तै भइरहेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #मुख्यसचिव डा. बैकुण्ठ अर्याल, #लक्ष्मण यादव वर्ल्डलिंक कम्युनिकेसन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ