स्वास्थ्यमा अन्तर्राष्ट्रिय दातृ संस्थाको मनपरी खर्च


काठमाडौं । स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय दातृ संस्था तथा आईएनजिओले मनपरी खर्च गर्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ), युनिसेफ, सेभ द चिल्ड्रेन, युरोपियन युनियनलगयतका दातृ निकायले स्वास्थ्य क्षेत्रमा आफूखुसी खर्च गरेका हुन् ।

नेपाल सरकारको वार्षिक बजेट तथा कार्यक्रममा समावेश नगरी ती अन्तर्राष्ट्रिय दातृ संस्था तथा आईएनजिओले साढे २५ करोडभन्दा बढी रकम सोझै खर्च गरेको महालेखापरीक्षकको ६१ औं प्रतिवेदनले औंल्याएको छ । स्वास्थ्यमा अन्तर्राष्ट्रिय दातृ संस्था र आइएनजिओको अपारदर्शी खर्च हुनु र अनियमितता हुनुको यो प्रमुख कारण हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम १७ मा बजेट तथा कार्यक्रमसँग सम्बन्धित सम्झौताबमोजिम प्राप्त हुने नगद तथा वस्तुगत सहायतालाई वार्षिक तथा कार्यक्रममा समावेश गर्नुपर्ने उल्लेख छ । तर ती संस्थाले गैरब जेटरी सहयोग गरेको महालेखाले ठहऱ्याएको हो ।

स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनको १ करोड ७४ लाख ६५ हजार रुपैयाँ र स्वास्थ्य सेवा विभागले पनि उक्त संस्थाको ९ करोड ५९ लाख ५५ हजार रुपैयाँ नगद अनुदान सोझै भुक्तानी लिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

युनिसेफको ५ करोड ३९ लाख ३७ हजार, सेभ द चिल्ड्रेनको २४ लाख ४७ हजार र युरोपियन युनियनको ३ करोड २६ लाख ३० हजार रुपैयाँ स्वास्थ्य सेवा विभागले बजेट तथा कार्यक्रम समावेश नगरी सीधै खर्च गरेको छ । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा विश्व स्वास्थ्य संगठनको ५ करोड ३० लाख १६ हजार पनि सोझै प्रयोग भएको खुलेको हो । उक्त रकम परामर्श सेवा तथा तालिमको नाममा सकेको प्रतिवेदनले देखाएको छ ।

महालेखापरीक्षकको कार्यालयले सहायता रकम बजेर तथा कार्यक्रममा समावेश गरेर मात्र खर्च गर्नुपर्नेमा जोड दिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ