प्रदेश सांसद दिपेन्द्रले प्रसूति गृहलाई एम्बुलेन्स उपलब्ध गराए


काठमाडौं । बागमती प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)लाई एम्बुलेन्स उपलब्ध गराएका छन् ।  उनले बागमती प्रदेशबाट संघ मातहतको प्रसूति गृहलाई १ थान एम्बुलेन्स उपलब्ध गराएका हुन् । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका नाममा कोरोनाकालमा आएको बजेटबाट प्रसूति गृहले उक्त एम्बुलेन्स पाएको सांसद श्रेष्ठले जानकारी दिए ।

प्रसूति गृहका निर्देशक डा. श्रीप्रसाद अधिकारीले सांसद दिपेन्द्रमार्फत अस्पतालले एउटा एनेस्थेसिया उपकरण र एम्बुलेन्स सहयोग पाएको बताए । अस्पताल अहिले आर्थिक संकटका रहेकाले उक्त सहयोगले ठूलो राहत भएको उनको भनाइ छ । साढे २७ लाख रुपैयाँ महिन्द्राको बोलेरो खरिद गरिएको हो । उक्त एम्बुलेन्स चाँडै सञ्चालनमा आउने अस्पतालले जनाएको छ । प्रसूति गृहका लागि भनेर सांसद श्रेष्ठले ६० लाख रुपैयाँ बजेट छुट्याएको सुनाए ।

प्रसूति गृहले संघीय सरकारबाट पाउँदै आएको वार्षिक बजेटमा व्यापक कटौती भएको छ । वार्षिक ५३/४५ करोड आउने बजेटमा अहिले अर्थ मन्त्रालयले कौँची लगाइदिएको छ । प्रसूतिले यसपटक ३७ करोड जति मात्र बजेट पाउने छाँटकाट देखिन्छ । उक्त बजेट तलब भत्तामै सकिने निर्देशक अधिकारी सुनाउँछन् ।

प्रसूति गृहले आईभीएफ सेवा समेत सञ्चालन गरेको छ । तर, बजेट र पूर्वाधार अभावका कारण ‘ए लेभल’को आईभीएफ सेन्टर बनाउन प्रयासमा धक्का लागेको छ । त्यसका लागि सहयोग गरिदिन अस्पताल निर्देशक अधिकारीले सांसद श्रेष्ठलाई आग्रह गरे । सांसद श्रेष्ठले सुविधासम्पन्न आईभीएफ सेन्टर निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनको कुराले अस्पताल निर्देशक अधिकारी हौसिएका छन् । सांसद श्रेष्ठले प्रसूति गृहका लागि चाहिने अत्यावश्यक कुरामा आफ्नो सक्दो सहयोग रहने समेत बचन दिएका हुन् ।

प्रसूति गृह सुधारका लागि निरन्तर लागिपरेका निर्देशक अधिकारी केही नयाँ गरौ र नयाँपन देखाउ भन्ने पक्षमा छन् । तर, भएको एउटा ल्याप्रोस्कोपी मेसिन पनि ब्रिगिएर हैरान छन् । त्यसका लागि नयाँ मेसिन किन्ने अस्पतालसँग बजेट छैन । मर्मतका लागि बाहिर पठाउनु पर्छ । त्यसैले सेवाग्राहीहरु सेवाबाट बञ्चित भएका निर्देशक अधिकारी चिन्तित छन् । त्यसका लागि पनि उनले सांसद श्रेष्ठसँग सहयोगको अपेक्षा राखे । आन्तरिक स्रोत परिचालन गरेर अस्पताल चलाउन धौधौं परिरहेको उनी सुनाउँछन् ।

प्रसूति गृहको नयाँ भवन निर्माणको भुक्तानी नहुँदा सञ्चालन आउन सकेको छैन । भुक्तानी नभइ ठेकेदारले भवन हस्तान्तरण गर्दैन । त्यसका लागि निर्देशक अधिकारी स्वास्थ्य मन्त्रालयदेखि अर्थ मन्त्रालयसम्म धाइरहेका छन् । तर, कुराले सकरात्मक मोड नलिएको उनको गुनासो छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ