प्रशासन सेवाबाट सहसचिव भएका मुकेश डंगोललाई नागरिक उड्डयन महाशाखा प्रमुख बनाउने तयारी

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखा प्रमुख बुद्धिसागर लामिछाने वाइडबडी विमान प्रकरणमा विशेष अदालतबाट भ्रष्टाचारी ठहर भइसकेका छन्। लामिछाने भ्रष्टाचारी ठहर भएर जागिर गएपछि उनको समूहको सहसचिव अर्को छैन। त्यसैले उक्त महाशाखा अहिले पर्यटन महाशाखा प्रमुख समेत रहेकी प्रशासन सेवाकी सहसचिव इन्दु घिमिरेले हेर्दै आएकी छिन्।
पर्यटन मन्त्रालयमा ४ वटा महाशाखा रहेका छन्। पर्यटन महाशाखा इन्दु घिमिरे, प्रशासन तथा योजना महाशाखा रामकृष्ण लामिछाने र संस्कृति महाशाखा सुरेश सुरश श्रेष्ठ प्रमुख रहेका छन्। नागरिक उड्डयन महाशाखा भने बुद्धिसागर लामिछाने भ्रष्टाचारमा डामिएकाले इन्दुलाई दोहोरो जिम्मेवारी दिइएको थियो। मन्त्रालयको पर्यटन र प्रशासन तथा योजना महाशाखामा नेपाल प्रशासन सेवाको सहसचिव प्रमुख हुन्छन्।
त्यस्तै पर्यटन विभागमा नेपाल प्रशासन सेवा कै डा. नारायणप्रसाद रेग्मी महानिर्देशक छन्। नेपाल होटल तथा पर्यटन व्यवसाय प्रतिष्ठान (नाथम)को कार्यकारी निर्देशकमा नेपाल प्रशासन सेवा कै सहसचिव संगिता ओझा छिन्। यसैबीच नेपाल प्रशासन सेवा कै सहसचिव मुकेश डंगोल अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरूवा भएर आएका छन्।
नेपाल प्रशासन सेवाको खुला प्रतिस्पर्धाबाट सहसचिव भएका मुकेश डंगोल, एकदेव अधिकारी, सफल पोर्तेलमध्ये मुकेशले संघीय मन्त्रालयमै जाने अवसर पाएका छन्। कारण उनी प्राविधिकबाट प्रशासन समूहको सहसचिव हुनु हो। मुकेश सहसचिव हुनुभन्दा पहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखा अन्तर्गतको हवाई सुरक्षा तथा दुर्घटना जाँच शाखामा ए.टी.सी. अफिसरको रूपमा कार्यरत थिए। उक्त समूहको सहसचिव नभएपछि प्रशासन कै सहसचिव भएपनि मुकेश विज्ञताको हिसाबले नागरिक उड्डयन महाशाखाको जिम्मेवारी पाउने ‘भाग्यमानी’ व्यक्ति बनेका छन्।
अधिकृत हुँदा मुकेश हवाई सुरक्षा तथा दुर्घटना जाँच शाखामा तनुजा पोखरेलको मातहतमा रहेर काम गरिरहेका थिए। अब उनी तनुजाको ‘हाकिम’ बनेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भित्रिएका छन्। विकासले नागरिक उड्डयन महाशाखाको प्रमुखको हैसियतमा नेतृत्व लिँदा तनुजा उनको मातहतमा रहेर काम गर्नेछिन्। मुकेशले नेतृत्व गर्ने नागरिक उड्डयन महाशाखा अन्तर्गत हवाई सुरक्षा तथा दुर्घटना जाँच शाखा, नागरिक उड्डयन सुपरीवेक्षण शाखा र हवाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखा रहेको छ।
नागरिक उड्डयन महाशाखा सधै विवादमा पर्ने गरेको छ। उक्त महाशाखा अन्तर्गत काम गर्ने प्रमोद नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात समात्दा तनुजा र मुकेश पनि अख्तियारको निगरानीमा परेका थिए। प्रमोदलाई विशेष अदालतले भ्रष्टाचारी ठहर समेत गरिसकेको छ। आर्थिक चलखेल हुने गरेको आरोप लाग्दै आएको उक्त महाशाखाको नेतृत्व गर्न मुकेशलाई त्यति सहज भने देखिँदैन। विज्ञताको हिसाबले भने इन्दुलाईभन्दा मुकेशलाई नै उक्त महाशाखा प्रमुख बनाउन उपयुक्त हो।
क्याटेगोरी : समाचार
ट्याग : #इन्दु घिमिरे, #डा. नारायण रेग्मी, #तनुजा पोखरेल, #बुद्धिसागर लामिछाने, #मुकेश डंगोल, #रामकृष्ण लामिछाने, #संगिता ओझा, #सुरेश सुरश श्रेष्ठ
तपाईको प्रतिक्रिया दिनुहोस