सत्तारूढ दलका नेताहरूको हिंसा भड्काउने अभिव्यक्ति: सुट गर्ने आदेशदेखि चट् चट् चट्सम्म

काठमाडौं। सत्तारूढ दलका नेताहरूले हिंसात्मक अभिव्यक्ति दिन थालेका छन्। हिंसात्मक अभिव्यक्ति दिनेमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसकी समानुपातिक सांसद नागिना यादवदेखि नेता महेश बस्नेतसम्म रहेका छन्।
नेकपा एमालेले लुम्बिनीको बुटवलमा राखेको जागरसभामा बेल्दै एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले राजावादीहरूलाई सडकमै पछार्नु पर्छ भन्ने हिंसा भड्काउने खालको अभिव्यक्ति दिएका थिए। राजावादीहरूको कुनै भविष्य छैन, तिनीहरूलाई कहिल्यै शीर उठाउन नसक्ने गरी सडकमा पछार्नु पर्छ।’, पौडेलले सार्वजनिक कार्यक्रममै भनेका थिए, ‘दरबारियाहरूले, राजतन्त्रका मतियारहरूले काहीँ पनि कुनै पनि खालका कोशिसहरू गरे भने त्यसका खिलापमा नेपाली जनता सडकमा ओर्लिएर प्रतिवाद गर्नुपर्छ र तिनीहरूलाई कहिल्यै शीर उठाउन नसक्ने गरी सडकमा पछार्नु पर्छ भनेर म यहाँहरूलाई आग्रह गर्न चाहन्छु।’, देशको उपप्रधानमन्त्री समेत रहेका पौडेलले यस्तो हिंसा भड्काउने खालको अभिव्यक्ति दिएका हुन्।
पौडेलले मात्रै होइन नेपाली कांग्रेसकी नेतृ एवं सांसद नागिना यादवले आफू गृहमन्त्री भएको भए दुर्गा प्रसाईंलाई सुट गर्ने आदेश दिन्थेँ भनेर हिंसात्मक अभिव्यक्ति दिएकी थिइन्। यादवले गत चैत्र १५ गतेको राजावादीको प्रदर्शनका जनकमान्डर दुर्गा प्रसाईंलाई सुट गर्ने आदेश नदिएको भन्दै गृहमन्त्री रमेश लेखकको आलोचना गर्दै आफू मन्त्री भएको भए सुट गर्न आदेश दिने हिंसात्मक अभिव्यक्ति दिएकी हुन्।
तीनकुनेमा प्रहरीलाई किच्ने गरी गाडी कुदाएका प्रसाईँको प्रसंग निकाल्दै समानुपातिक सांसद यादवले भनिन्, ‘म मन्त्री भएको भए सुट गर्ने आदेश दिन्थेँ, कडाभन्दा कडा कारबाही गर्नुपर्छ।’ कानून, न्याय तथा मानवअधिकार समितिकी सदस्य रहेकी नागिना यादवले मानवअधिकार समितिको बैठकमै यस्तो हिंसात्मक अभिव्यक्ति दिएकी हुन्। मानवअधिकार समितिको बैठकमै सुट गर्ने अभिव्यक्ति दिँदा समेत समिति सभापति विमला सुवेदीले रोक्ने प्रयास गरिनन्।
यस्तै सत्तारुढ दलका नेता महेश बस्नेतले हिंसात्मक प्रकृतिको अभिव्यक्ति दिएका छन्। प्राइमटाइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा नेता बस्नेतले सांसद पूर्णबहादुर तामाङ ‘कान्छाराम’को प्रसंगमा विराज भट्टको फिल्म जस्तै चट् चट् चट् भन्दै भड्किलो हाउभाउ देखाएका छन्।
पत्रकार धमला प्रश्न गर्छन् तपाईंलाई कान्छाराम तामाङले किन बलात्कारी भन्नु भयो त? बस्नेत जवाफ फर्काउँछन्, ‘उ त्यो विराज भट्टको फिल्म छ नि चट्, चट्, चट्, महेश बस्नेत चाहिँ यस्ता अराजक अपराधी तत्त्वहरूलाई चाहिँ चट्, चट्, चट् होइन कि चट्, चट्, चट् कानुनी दायरामा ल्याउँछ।’, बस्नेतले धारेहात लगाएर यस्तो अराजक अभिव्यक्ति दिएका हुन्।
सत्तारूढ दलका नेताहरूले सार्वजनिक रूपमै यस्तो हिंसा भड्काउने खालको अभिव्यक्ति दिँदा पनि राज्य संयन्त्र मौन छ। यस्ता अभिव्यक्तिले कतै हिंसाका लागि प्रोत्साहन त गरिरहेको छैन। गृह प्रशासनले चासो र जवाफदेही बनाउन जरूरी देखिन्छ। जिम्मेवारी पदमा बसिसकेका व्यक्तिहरूले गैरजिम्मेवार अभिव्यक्ति दिँदा समाजमा अराजकता फैलिने खतरा उत्पन्न भएको छ। यसले सत्तारूढ दल कै नेताहरू हिंसा भड्काउन खोजिरहेका छैनन् भन्ने आशंका पैदा भएको हो।
क्याटेगोरी : समाचारट्याग : #नागिना यादव, #महेश बस्नेत, #विष्णु पौडेल
तपाईको प्रतिक्रिया दिनुहोस