यी हुन् आर्थिक वर्षभित्र सेवानिवृत्त हुन लागेका ६ सचिव, बढुवाको लाइनमा रहेका ७ सहसचिव

काठमाडौं। यो आर्थिक वर्षभित्र नेपाल सरकारको विशिष्ट श्रेणी(सचिव)बाट ७ जनाले अवकाश पाउन लागेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले अनिवार्य अवकाश पाएसँगै ६ जना सचिव अवकाशको मुखमा पुगेका हुन्। ६ जना सचिवमध्ये प्रशासन सेवाका २, इन्जिनियरिङ, कानुन, संसद्, लेखापरीक्षण सेवाका १/१ जना सचिव रहेका छन्।
प्रशासन सेवाका गणेशप्रसाद पाण्डे, रघुराम विष्ट, इन्जिनियरिङ सेवाका मधुप्रसाद भेटुवाल, कानुनका उदयराज सापकोटा, संसद् सेवाका सुदर्शन खड्का, लेखापरीक्षणका बामदेव अधिकारी अवकाशमा जान लागेका हुन्।
पर्यटन सचिव सिंहले अवकाश पाएसँगै उनको ठाउँमा सहसचिव शोभाकान्त पौडेल बढुवाको लाइनमा छन्। पौडेल अर्थ मन्त्रालयमा कार्यरत छन्।
महालेखा नियन्त्रक (सचिव) गणेशप्रसाद पाण्डे यहीँ बैशाख २९ गते (सोमबार) सेवानिवृत्त हुँदैछन्। पाण्डेको ठाउँमा वन तथा वातावरण मन्त्रालयका सहसचिव भूपाल बराल बढुवा हुनेछन्।
जल तथा ऊर्जा आयोगका सचिव मधुप्रसाद भेटुवाल जेठ ५ गते अवकाशमा जाँदैछन्। भेटुवालको ठाउँमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दिनानाथ मिश्र बढुवा हुनेछन्। मिश्र सचिव बढुवाका लागि १ नम्बरमा सिफारिस भएर पनि पटकपटक बढुवा हुन नपाउने सहसचिवमा पर्छन्।
गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्ट जेठ २३ गते सेवानिवृत्त हुँदैछन्। विष्टको ठाउँमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरे बढुवा हुनेछन्।
सचिवको ५ वर्षे सेवा अवधिका कारण २०८२ जेठ २७ गते अनिवार्य अवकाशमा जान लागेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सहसचिव निर्मला अधिकारी भट्टराई बढुवा हुनेछिन्। महिला कोटाबाट कानुन समूहको सहसचिव बनेकी निर्मला अहिले कानुनको सबैभन्दा वरिष्ठ सहसचिव हुन्। उनै निर्मला सापकोटाको ठाउँमा सचिव बन्ने देखिन्छ।
जेठ २९ गते अवकाशमा जान लागेका संसद् सेवाका सचिव सुदर्शन खड्काको ठाउँमा सुरजकुमार दुराको बढुवा हुनेछ। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सचिव समेत रहेका दुरा अहिले उक्त व्यवस्थापिका संसद् सेवाको सबैभन्दा वरिष्ठ सहसचिव हुन्।
२०८२ असार ५ गते अवकाशमा जान लागेका महालेखा परीक्षकको कार्यालयका उपमहालेखापरीक्षक (सचिव) बामदेव अधिकारीको रिक्त स्थानमा घनश्याम पराजुली बढुवा हुनेछन्। ५ वर्षे सेवा अवधिका कारण आगामी ४ महिनापछि घर जान लागेका उपमहालेखापरीक्षक अधिकारीको ठाउँ नायब महालेखापरीक्षक पराजुलीले लिने देखिन्छ। वरिष्ठ नायब महालेखापरीक्षक (सहसचिव) श्रीकुमार राईले सचिव हुन आवश्यक पर्ने एसईडीपी तालिम अहिलेसम्म नलिएपछि पराजुलीको भाग्य चम्किने भएको हो। राईले उक्त तालिम नलिँदा उनीभन्दा पछिका सहसचिव (नायब महालेखापरीक्षक) बैकुण्ठबहादुर अधिकारी समेत सचिव (उपमहालेखापरीक्षकमा) बढुवा भइसकेका छन्।
एसईडीपी तालिम लिन कम्तिमा पनि छ महिना लाग्ने भएकाले उनीभन्दा जुनियर पराजुली नै लेखापरीक्षणतिरको सचिव बन्ने प्रवल सम्भावना रहेको पाइन्छ। योसँगै चालू आर्थिक वर्षमा घर जाने र सचिव बन्नेको चक्र पूरा हुन्छ।
क्याटेगोरी : समाचारट्याग : ##उदयराज सापकोटा, #गणेशप्रसाद पाण्डे, #घनश्याम पराजुली, #डण्डुराज घिमिरे, #दिनानाथ मिश्र, #बामदेव अधिकारी, #भूपाल बराल, #मधुप्रसाद भेटुवाल, #रघुराम विष्ट, #विनोदप्रकाश सिंह, #शोभाकान्त पौडेल, #सहसचिव निर्मला अधिकारी भट्टराई, #सुदर्शन खड्का, #सुरजकुमार दुरा
तपाईको प्रतिक्रिया दिनुहोस