सेवा, समूह नमिल्ने सहसचिव मेहतालाई महानगरको प्रमुख प्रशासकीय अधिकृत खटाउन दबाब


समाचार टिप्पणी

काठमाडौं। शिक्षाको दरबन्दीमा खटिनु पर्ने सहसचिव रामचरित्र मेहतालाई अमिल्दो पदमा खटाइएको छ। प्रशासन सेवाका दर्जनौं सहसचिव विभिन्न मन्त्रालयको जगेडामा थन्किरहँदा शिक्षातिरका सहसचिव मेहतालाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै आधा दर्जन बढी प्रशासनका सहसचिव जगेडामा हुँदाहुँदै शिक्षातिरका मेहतालाई विराटनगर पठाइएको हो। सामान्यमा बढी सहसचिव भएपछि केहीलाई सगरमाथा संवाद सचिवालयमा समेत काजमा खटाइएको छ। केही सहसचिव त सामान्यको बरण्डामा ४ महिनादेखि हल्लिरहेका छन्। एकातिर प्रशासनको दरबन्दीमा विज्ञापन खोलेर पदपूर्ति गर्ने अर्कातिर शिक्षातिरको सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने विकृत अभ्यास सरकारले गरेको छ। यस्तो विकृत अभ्यास सच्याएर प्रशासन सेवा (मिल्दो सेवा)कै सहसचिव पठाउनु त कता हो कता अमिल्दो दरबन्दीमा गएका शिक्षाको सहसचिवलाई हाजिर गर्न दबाब दिएको पाइन्छ।

शिक्षातिर आवश्यक भएरै विज्ञापन गरेपछि प्रक्रिया पुऱ्याएर मेहता सहसचिव भएका हुन्। उनले प्रशासन सेवाका सहसचिव जाने दरबन्दीमा जाँदा शिक्षाका सहसचिवलाई कार्यबोझ बढ्छ भने प्रशासनका सहसचिव जगेडामा थन्किन्छन्। प्रशासनका सहसचिव त्यो पदमा लगातार जान मानेनन् भने दरबन्दी कटौती गरेर उपसचिव पठाउने व्यवस्था गरिदिए हुन्छ। तर, एउटा सेवाको सहसचिवको दरबन्दी रहेको ठाउँमा अर्को सेवाको पठाउँदा यसले विकृत अभ्यास निम्तन्छ। कुशासनले जरा गाढ्छ। यस्तै ताल हो भने भोलि कानुन समूहका सहसचिवहरू प्रमुख प्रशासकीय अधिकृत र सिडिओ बनेर जाने परिपाटी विकास हुन्छ।

मेहतालाई त्यसै विराटनगर महानगरपालिकामा हाजिर हुन दिएको छैन। उनी कार्यरत युवा तथा खेलकुद मन्त्रालयको महाशाखामा सेवा समूह अनुसारको दरबन्दीमा अर्को सहसचिव पनि पठाइएको पाइँदैन। सेवा समूह मिल्दो सहसचिव पठाएर हाजिर गर्न दबाब दिँदा उपयुक्त हुन्छ। सेवा नमिल्ने सहसचिवलाई पठाएर हाजिर गर्न दबाब सिर्जना गर्नु भनेको विकृत अभ्यासलाई अनुमोदन गर्नु हो। मन्त्रीले आफूले चाहेको सचिव खोज्दा मेयरले आफूले चाहेको प्रमुख प्रशासकीय अधिकृत खोज्नु अस्वाभाविक होइन। तर, सेवा, समूह मिल्दो कर्मचारी खोज्नु उपयुक्त हुन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #रामचरित्र मेहता, #रामचरित्र मेहता सहसचिव

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ