सामान्यको जगेडामा आधा दर्जन सहसचिव, महानगर र उपमहानगरपालिकामा उपसचिवको हालिमुहाली


काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा प्रशासन सेवाका आधा दर्जन सहसचिव रहेका छन्। तर, वीरगञ्ज महानगरपालिकादेखि अधिकांश उपमहानगरपालिकामा उपसचिवको हालिमुहाली रहेको छ।

सामान्य प्रशासन मन्त्रालयको बरण्डामा प्रशासन सेवाका सहसचिवहरू गोविन्दप्रसाद अधिकारी, सिर्जना थपलिया, हेमराज अर्याल, टंकनाथ लम्साल र निता शर्मा लामो समयदेखि हल्लिरहेका छन्। सहसचिव रूद्रप्रसाद लामिछाने पनि बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवबाट सामान्यको बरण्डामा आइपुगेका छन्। सामान्यको जगेडामा आधा दर्जन सहसचिव हुँदा पनि वीरगञ्ज महानगरपालिका, धरान उपमहानगरपालिकादेखि धनगढी उपमहानगरपालिकासम्म प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव हैकम जमिरहेको पाइन्छ। वीरगञ्ज महानगरपालिकामा उपसचिव अरविन्द लाल कर्ण प्रमुख प्रशासकीय अधिकृत रहेका छन् भने विराटनगर महानगरपालिकामा शिक्षातिरका सहसचिव रामचरित्र मेहतालाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ। प्रशासन सेवाका सहसचिवहरू भने सामान्य प्रशासन मन्त्रालयको बरन्डामा ‘घाम तापेर’ बसिरहेका छन्।

सहसचिवको दरबन्दी रहेको धरान उपमहानगरपालिकामा उपसचिव अम्बिकाप्रसाद चौलागाईं प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा रहेका छन्। ईटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका सहसचिव हेमराज भुसाललाई बागमती प्रदेशमा सरूवा गरेर उपसचिव नै खटाउने तयारी भइरहेको छ। नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का र जनकपुर उपमहानगरपालिकाका वीरेन्द्रकुमार मिश्रलाई सुदूरपश्चिम प्रदेशमा पठाएर त्यहाँ पनि उपसचिवलाई नै जिम्मेवारी दिने चलखेल भइरहेको हो। यसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यसचिव एकनारायण अर्याल समेत उतिकै जिम्मेवार देखिन्छन्।

कलैया उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नाथु साह पनि उपसचिव हुन्। बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी र धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खाती उपसचिव नै हुन्। सहसचिव जानै नमान्ने वा पठाउन नसक्ने त्यस्ता ठाउँमा सहसचिवको दरबन्दी कटौती गर्न जरूरी छ। हैन भने तत्काल सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउनु पर्छ।

हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतभरत गौतम र जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईं मात्र सहसचिव हुन्। सहसचिवलाई मन्त्रालयको बरण्डामा ‘घाम तपाएर’ उपसचिवलाई सहसचिवको दरबन्दीमा खटाउने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र सचिव रविलाल पन्थले सुशासनको खिल्ली उडाइँरहेका छन्। राज्यलाई अनावश्यक आर्थिक भार पर्ने गरी सहसचिव बनाएर कार्यक्षेत्रमा उपसचिव खटाउँदा उनीहरूको प्रशासनिक क्षमतामाथि समेत प्रश्न उठेको हो। यस्तो विकृतिले स्थानीय तहमा समेत मनमौजी चल्न थालेको छ।

सामान्य प्रशासन मन्त्रालयका सचिव समेत रहिसकेका मुख्यसचिव एकनारायण अर्याल पनि यो बेथितिको भागिदार हुन्। उनले उपमहानगरपालिकामा रहेका सहसचिव समेत झिक्न भूमिका खेलेका छन्। नयाँ पठाएका छैनन्। निजामती कर्मचारीको अवकाशको उमेर हद ६० बनाएर मंसिर ९ गते घर जान लागेका मुख्यसचिव अर्याललाई आफ्नो जागिर लम्ब्याउने ध्याउन्न मात्र रहेको पाइन्छ। यसले निजामती प्रशासनमा सुशासन धुलिसात भएको छ। स्थानीय तह र कर्मचारी प्रशासनमा बेथितिको ऐजेरु पलाएको छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #गोविन्दप्रसाद अधिकारी, #टंकनाथ लम्साल, #निता शर्मा, #सिर्जना थपलिया, #हेमराज अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ