समूह नमिल्ने चिकित्सकलाई स्वास्थ्य मन्त्रालयमा छानीछानी महाशाखा प्रमुखको जिम्मेवारी

उपचारभन्दा प्रशासक बन्न चिकित्सकहरूबीच होडबाजी


काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलमा सेवा समूह नमिल्नेलाई छानीछानी महाशाखा प्रमुख बनाएको पाइएको छ। सेवा समूह नमिल्ने डा. कृष्णप्रसाद पौडेल, डा. सरोज शर्मा, डा. प्रकाश बुढाथोकीलगायत सेवा समूह नमिल्नेलाई महाशाखा प्रमुख बनाएको पाइएको हो।

स्वास्थ्य मन्त्रालयमा नीति, योजना तथा अनुगमन महाशाखा, गुणस्तर मापन तथा नियमन महाशाखा, स्वास्थ्य समन्वय महाशाखा, जनसंख्या तथा व्यवस्थापन महाशाखा, प्रशासन महाशाखा रहेका छन्। अहिले स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाई हेर्ने गरी पनि एघारौँ तह (सहसचिव सरह)लाई नै खटाउने गरिएको छ। जनसंख्या तथा व्यवस्थापन महाशाखा र प्रशासन महाशाखा प्रमुख प्रशासन सेवाका सहसचिव हुन्छन् भने अन्य महाशाखाको नेतृत्व स्वास्थ्य सेवाका एघारौं तहका अधिकृतले गर्छन्।

स्वास्थ्य लाइभको खोजीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संगठन तथा व्यवस्थापन संरचनामा नीति, योजना तथा अनुगमन महाशाखा, गुणस्तर मापन तथा नियमन महाशाखा, स्वास्थ्य समन्वय महाशाखा र स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाई हेर्ने गरी स्वास्थ्य सेवाका एघारौं तहका अधिकृतलाई खटाइएको छ। संगठन संरचना अनुसार स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाईमा एघारौँ तह नभइ ९ वा १० तहले नेतृत्व गर्ने गर्छ।

मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख स्वास्थ्य सेवा पब्लिक हेल्थ एडमिनिस्ट्रेसन (प.हे.ए) समूहले गर्ने भनिएको छ। अहिले स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख पेडियाट्रिक्स समूह पेडियाट्रिक्स मेडिसिन उपसमूहको एघारौँ तह प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन डा. कृष्णप्रसाद पौडेल रहेका छन्। पब्लिक हेल्थ एडमिनिस्ट्रेसन ठाउँमा पेडियाट्रिक्सले नीति, योजना बनाउने , र त्यसको अनुगमन गर्ने काम गरिरहेको पाइन्छ। यो संगठन संरचनामाथि कै भद्दा मजाक हो। उक्त सेवा समूहको नभएर होइन पहुँच र प्रभावका भरमा फरक समूहका अधिकृतलाई उक्त महाशाखा जिम्मा लगाइएको हो।

नीति, योजना तथा अनुगमन महाशाखा मात्र होइन गुणस्तर मापन तथा नियमन महाशाखाको हालत पनि उस्तै छ। गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख जनरल हेल्थ सर्भिसेज(ज.हे.स.) समूहको बन्न पाउँछ। तर, उक्त महाशाखाको नेतृत्व रेडियोलोजी समूह रेडियो डाइग्नोसिस उमसमूहको प्रमुख कन्सलटेण्ट रेडियोलोजिष्ट डा. सरोज शर्माले गरिरहेका छन्। उक्त सेवा समूहमा प्रयाप्त प्रमुख कन्सलटेण्ट भएपनि सेवा समूह नमिल्नेलाई गुणस्तर मापन तथा नियमन महाशाखा बनाएको पाइन्छ।

स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाईमा हेल्थ इन्सपेक्सन (हे.इ.) समूहको नेतृत्व दिनु पर्नेमा डेन्ट्रिष्टी समूह जनरल डेन्टल उपसमूहको प्रमुख कन्सल्टेण्ट सर्जन डा. प्रकाश बुढाथोकीलाई दिइएको छ। यसले स्वास्थ्य मन्त्रालय मनपरी ढंगले चलिरहेको छ भन्ने देखाउँछ।

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य समन्वय महाशाखा मात्र समूह मिल्नेलाई दिएको पाइएको छ। स्वास्थ्य समन्वय महाशाखाको नेतृत्व हेल्थ इन्सपेक्सन (हे.इ.) समूह एघारौँ तहले गर्ने भनिएको छ। अहिले स्वास्थ्य मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा हेल्थ इन्सपेक्सन (हे.इ.) समूह एघारौँ तहका प्रमुख जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटा रहेका छन्। यशोदा अर्यालको पनि उक्त महाशाखाको नेतृत्व गर्न समूह मिल्ने देखिन्छ।

उपचारमा खटिनु पर्ने विशेषज्ञ चिकित्सक मन्त्रालयमा रमाउँदै

नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मा, र स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाई प्रमुख डा. प्रकाश बुढाथोकी उपचारमा खटिनु पर्ने व्यक्ति हुन्। उक्त महाशाखाको नेतृत्व गर्ने सेवा समूह मिल्ने अधिकारीहरू बिरामी हेर्ने डाक्टर होइनन्। तर, बिरामी हेर्न छाडेर विशेषज्ञ चिकित्सकहरू मन्त्रालयमा रमाइरहेका छन्।

राम्रा, दक्ष र अनुभवी चिकित्सकमा गनिने सरूवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलालाई पनि बिरामी हेर्न नदिएर दरबन्दी बिना नै मन्त्रालय तानिएको छ। यसले राज्यलाई मात्र होइन निरन्तर बिरामीसँग सम्पर्कमा रहेर ‘अपडेट’ हुनुपर्ने चिकित्सकहरुलाई समेत घाटा भएको छ। स्वास्थ्य मन्त्रालयले जनशक्तिको उचित व्यवस्थापन गर्न नसक्दा यस्तो अवस्था आएको देखिन्छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #डा. कृष्णप्रसाद पौडेल, #डा. प्रकाश बुढाथोकी, #डा. सरोज शर्मा, #भीमप्रसाद सापकोटा, #यशोदा अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ