तीन करोड बढी खोप लगाएपछि प्रधानमन्त्री उत्साहित


काठमाडौं । खोप, खोप, खोप भन्ने मुलमन्त्रका साथ प्रधानमन्त्रीको कार्यभार सम्हालेका शेरबहादुर देउवा कोभिड-१९ विरुद्धको तीन करोड बढी मात्रा खोप लगाएपछि निकै उत्साहित बनेका छन् । उनले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन भूमिका खेल्ने आम नागरिक, स्वास्थ्यकर्मी, कर्मचारी तथा दातृ निकायलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री देउवाका स्वास्थ्य विज्ञ सल्लाहकार प्राध्यापक डाक्टर  आरपी बिच्छाकाअनुसार तीन करोड बढी डोज खोप लगाउन सकिएकोमा प्रधानमन्त्री देउवा निकै उत्साहित बनेका हुन् । असोज मसान्तसम्म ३३ प्रतिशत, पुस मसान्तभित्र दुई तिहाई र चैत मसान्तभित्र लक्षित सबै नागरिकलाई पूर्ण खोप लगाउने देउवा सरकारको घोषणा थियो । पहिलो र दोस्रो मात्रा गरेर अहिलेसम्म ३ करोड ४ लाख ७५ हजार ५ सय ८९ मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पहिलो मात्रा खोप लगाउनेको संख्या १ करोड ६४ लाख ५८ हजार ४ सय ७५ रहेको छ । पूर्ण मात्रा खोप लगाउनेको संख्या १ करोड ३७ लाख ३४ हजार ३ सय ९० रहेको छ । त्यस्तै बुस्टर डोज लगाउनेको संख्या पनि २ लाख ८२ हजार ७ सय २४ पुगिसकोको छ । अब करिब ३४ लाख नगरिक पहिलाे मात्रा खोपको पहुँचभन्दा बाहिर रहेकाे देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रेकर्डअनुसार ८२ प्रतिशत बढी नागरिकले खोप लगाइसकेका छन् ।

सरकारको लक्ष्यभन्दा बढी खोप लगाउन सफल भएकोमा प्रधानमन्त्री देउवा उत्साहित हुँदै धन्यवाद समेत ज्ञापन गरेको विज्ञ सल्लाहकार डा. बिच्छाले स्वास्थ्य लाइभलाई जानकारी दिए । यो सफलतामा सबैको उत्तिकै भूमिका रहेको प्रधानमन्त्री देउवाको भनाई उद्धृत गर्दै बिच्छाले भने ।

अहिले सरकारले औसत दैनिक दुईलाख भन्दा बढी खोप लगाइरहेको छ । यही हिसाबले खोप लगाउने क्रम जारी रह्यो भने चैत्र मसान्तसम्म सरकारको लक्ष्यअनुसार नै लक्षित समूहलाई पूर्ण खोप लगाउन सक्ने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## कोभिड -१९ विरुद्धको, ## डा. आरपी बिच्छा, ## पूर्ण मात्रा खोप, ## लक्षित समूह, ##शेर बहादुर देउवा, #प्रधानमन्त्री, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com