कामदारको पसिनामा श्रम मन्त्रालयका उच्च अधिकारीहरूको रजाइँ


काठमाडौं। कामदारको पैसा ‘पसिना’मा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीको रजाइँ चलेको पाइएको छ। विदेशमा रगत र पसिना बगाएर कामदारले जम्मा गरेको वैदेशिक रोजगार कल्याणकारी कोषको पैसामा श्रम मन्त्रालयका उच्च अधिकारीहरूले मोज गरिरहेको पाइएको हो।

वैदेशिक रोजगार बोर्डको सचिवालयबाट स्वास्थ्य लाइभलाई प्राप्त विवरण अनुसार श्रम मन्त्रालयका उच्च पदस्थहरू कामदारको पैसामा विदेश घुमेको पाइएको छ।  प्रधानमन्त्री रोजगार कार्यक्रममा परामर्शदाताका नाममा करोडौं रकम दुरुपयोग गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीले वैदेशिक रोजगार कल्याणकारी कोषको रकम पनि हिनामिना गरेको फेला परेको हो।

श्रमिकले दुःख गरेर कमाएको पैसा जम्मा गरेर खडा भएको वैदेशिक रोजगार कल्याणकारी कोषको पैसामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीदेखि महन्थ ठाकुरकी छोरी डा. मिनाक्षी ठाकुरसम्म दुबई घुमेर आएको पाइएको छ। उनीहरूले खर्च गर्न नमिल्ने वैदेशिक रोजगार कल्याणकाणी कोषको १८ लाख २६ हजार ९०८ रुपैयाँ भ्रमण खर्च बापत बुझेको तथ्य फेला परेको हो। वैदेशिक रोजगारीमा गएका कामदारको हकहितका लागि वैदेशिक रोजगार कल्याणकारी कोषको पैसा प्रयोग गर्नुपर्नेमा श्रम मन्त्रालयका उच्च अधिकारीलाई दुबई घुम्नका लागि प्रयोग भएको पाइन्छ। उक्त विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग छानबिन गरेर कारबाही गर्न जरूरी देखिन्छ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३३ मा अनुसार वैदेशिक रोजगार कल्याणकारी कोषको पैसा श्रमिकको हितमा मात्र प्रयोग गर्न पाइन्छ। तर, श्रममन्त्री शरदसिंह भण्डारीदेखि डा. मिनाक्षी ठाकुरसम्म श्रमिकको पैसमा दुबई घुमेर आएको तथ्य फेला परेको हो।

वैदेशिक रोजगार ऐनले वैदेशिक रोजगार कल्याणकारी कोषको पैसा वैदेशिक रोजगारमा जाने कामदारलाई सिपमूलक तालिम र रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न, अङ्गभङ्ग भएका कामदारलाई स्वदेश फिर्ता ल्याउन, फिर्ता आएका कामदार र उनका परिवारका सदस्यलाई आर्थिक सहयोग प्रदान गर्न, वैदेशिक रोजगारमा रहेका कामदारलाई गम्भीर प्रकृतिको फौजदारी कसूरको अभियोग लागेका त्यसको प्रतिरक्षा तथा बहस पैरवी गर्न, वैदेशिक रोजगारमा रहेको कामदारको मृत्यु भएमा शव ल्याउन र परिवारलाई आर्थिक सहयोग गर्नेलगायतका कामका लागि मात्र प्रयोग गर्न मिल्छ। तर, कल्याणकारी कोषको पैसामा श्रम मन्त्रालय र वैदेशिक रोजगार बोर्डको सचिवालयका कर्मचारीले विदेश घुमेर रजाइँ गरेको पाइएको हो। उक्त बदमासीलाई महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदनमै उजागर गरेको छ।

वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्राप्त विवरण अनुसार कल्याणकारी कोषको पैसाबाट दुबई घुमेर श्रममन्त्री शरदसिंह भण्डारीले ३ लाख ८४ हजार ३०६ रुपैयाँ भ्रमण खर्च लिएको फेला परेको छ। त्यस्तै तत्कालीन श्रम सचिव केवलप्रसाद भण्डारीले २ लाख ५० हजार ९१४ रुपैयाँ र वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले २ लाख ५९ हजार १२४ रुपैयाँ वैदेशिक भ्रमण खर्च लिएको पाइन्छ।

बोर्डका सदस्य डा. दुर्गाप्रसाद खतिवडाले २ लाख ३५ हजार ३६ रुपैयाँ, मन्त्री भण्डारीका तत्कालीन निजी सचिव सुशिलप्रसाद आचार्यले २ लाख ४१ हजार ७३ रुपैयाँ र वैदेशिक रोजगार बोर्डको सचिवालयमा कार्यरत उपसचिव टिकाराम ढकालले २ लाख ४१ हजार ७३ रुपैयाँ भ्रमण खर्च लिएको पाइन्छ। उनी अहिले वैदेशिक रोजगार विभागका हर्ताकर्ता हुन्।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरकी छोरी डा. मिनाक्षी ठाकुरले पनि श्रमिकले रगत र पसिना बगाएर कोषमा जम्मा गरेको पैसाबाट दुबई घुमेर २ लाख १५ हजार ३९२ रुपैयाँ वैदेशिक भ्रमण खर्च लिएको खुल्न आएको छ।

महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा पनि उक्त बदमासीको उजागर गरिएको छ। महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा उक्त कोषको रकमबाट नेपाली राजदूतवास अबुधाबीलाई वैदेशिक रोजगार मेला व्यवस्थापन र वैदेशिक रोजगार व्यवसायी तथा संघ/संगठनका प्रतिनिधिहरूलाई ३३ लाख १६ हजार गरेको समेत उल्लेख छ।

रोजगार मेलामा सहभागी पदाधिकारी/कर्मचारीको भ्रमण खर्च १८ लाख २७ हजार, दुई थान कार विद्युतीय कार किनेको ७९ लाख ४० हजार र तीन दूतावासमा सवारीसाधन मर्मत गरेको २३ लाख ९८ हजार कोष कै पैसा खर्च भएको महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ। नियोगमा कर्मचारी नियुक्ति गर्न समेत कोष कै रकम प्रयोग भएको पाइन्छ। कोषको २ करोड ५७ लाख २८ हजार रुपैयाँ बजेट राजदूतावासमा भर्ति गरिएका कर्मचारीको तलबभत्तामै सकिएको छ। कोषको रकम जथाभावी खर्च गर्न लेखा अधिकृत गोपाल अधिकारीको पनि उत्तिकै भूमिका देखिन्छ। कोषको उद्देश्य र कानुनविपरीत श्रमिकको पसिनाको पैसा प्रयोग भएकाले त्यस्तो कार्यमा संलग्न अधिकारीलाई अख्तियारले छानबिन तथा कारबाहीको दायरामा ल्याउन आवश्यक देखिन्छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #उपसचिव टिकाराम ढकाल, #उपसचिव सुशिल प्रसाद आचार्य, #डा. द्वारिका उप्रेती, #डा. मिनाक्षी ठाकुर, #दुबई रोजगार मेला, #दुर्गाप्रसाद खतिवडा, #वैदेशिक रोजगार कल्याणकारी कोषको रकम दुरुपयोग, #वैदेशिक रोजगार बोर्डको सचिवालय, #शरदसिंह भण्डारी श्रममन्त्री, #श्रम सचिव केवलप्रसाद भण्डारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ