ग्लोबल फन्डको अनुदानमा भारी कटौती, नेपालमा जीवनरक्षक कार्यक्रम संकटमा

काठमाण्डौं । ग्लोबल फन्डले एचआईभी, क्षयरोग र मलेरियाविरुद्धको कार्यक्रममा दिँदै आएको अनुदानमा भारी कटौती गरेको छ। अनुदान साइकल ७ अन्तर्गत नेपाललाई उपलब्ध गराएको रकममा भारी कटौती गरेको हो। ग्लोबल फन्डले १४ जुलाई २०२५ भित्र CCM बाट पुनःप्राथमिकतासहितको नयाँ प्रस्ताव माग गरेको छ।
हालै नेपालका पिआर र CCM लाई पठाइएको औपचारिक पत्रमा ग्लोबल फन्डले भनेको छ, “हालको विश्वव्यापी स्वास्थ्य समस्या अत्यन्तै जटिल भएको छ। हामीले केही दाताबाट रकम प्राप्त गरेका छौं, तर सातौं पुनःभरण अन्तर्गत गरिएका वाचा पूर्ण रूपमा कार्यान्वयन हुनेमा अझै पनि शंका छ।”
कटौतीपछि नयाँ रकम: पुनःप्राथमिकता अनिवार्य
ग्लोबल फन्डको पत्रअनुसार, नेपालको कुल अनुदान रकम घटाइएको छ। यो निर्णयसँगै नेपालले एचआईभी, टीबी र मलेरिया कार्यक्रमहरू पुनःसमायोजन गर्नुपर्ने भएको छ।
ग्लोबल फन्डले स्पष्ट रूपमा भनेको छ कि “CCM ले दिइएको नयाँ अनुमानित रकम स्वीकार गर्न वा संशोधित रकम प्रस्ताव गर्न सक्नेछ। तर, सबै प्रस्तावित अनुदानहरूको कुल रकम कटौती गरिएको रकमभन्दा कम हुनुपर्नेछ।”
१४ जुलाई भित्र निर्णय नभए, स्वचालित रूपमा लागू हुने
पत्रमा भनिएको छ, “यदि १४ जुलाई २०२५ को जिनेभा समय अनुसार साँझ ५ बजेभित्र CCM बाट कुनै प्रतिक्रिया प्राप्त भएन भने, यस पत्रमा उल्लेख गरिएका अनुदान रकमहरूलाई स्वीकृत ठानिनेछ।”
यदि CCM ले वैकल्पिक प्रस्ताव गर्न चाहन्छ भने, अध्यक्ष तथा उपाध्यक्षले उक्त समय भित्र प्रतिक्रिया दिनुपर्नेछ। एकपटक ग्लोबल फन्डबाट अन्तिम रकम स्वीकृत भएपछि, CCM, पिआर र ग्लोबल फन्ड सचिवालयद्दारा संयुक्त रूपमा अनुदानहरूको पुनःप्राथमिकता तथा पुनःलगानी प्रक्रियामा अगाडि बढ्नेछन्।
समुदाय र नागरिक समाजको भूमिका अपरिहार्य
ग्लोबल फन्डले निर्णय प्रक्रियामा समुदाय तथा नागरिक समाज को सार्थक सहभागिता अनिवार्य गरिएको जनाएको छ। “CCM ले निर्णय लिँदा सबै सरोकारवालाहरूको समावेशी सहभागिता सुनिश्चित गर्नुपर्छ,” पत्रमा उल्लेख छ।
रोकिएको कार्यक्रम स्वीकृत नभएसम्म कार्यान्वयन नहुने
अप्रिल २०२५ मा अपनाइएको अनुकूलन उपायअनुसार केही कार्यक्रमहरू स्थगित गरिएका थिए। ती कार्यक्रमहरू अब ग्लोबल फन्डको नयाँ स्वीकृति नभएसम्म पुनःसञ्चालन नहुने स्पष्ट गरिएको छ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस