स्तनपान बर्तमान स्थिति चुनौती र मार्गदीशा

नव शिशुलाई जन्म दिएपछि आमाले आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया नै स्तनपान हो । यो शिशुको लागि पोषणको प्रमुख स्रोत र सबैभंन्दा उत्कृष्ट खाना हो । त्यसैले भन्ने गरिन्छ -“स्तनपान अमृत समान” मातृ तथा शिशु स्वास्थ्यको विभिन्न आयामहरुलाई स्तनपान गराएको र नगराएको कुराले प्रभावित पार्ने गर्दछ । जन्मनेवित्तिकै स्तनपान गराउन पाउनु शिशुको नैसर्गिक अधिकार हो, भने बाल अधिकारको आधारभूत पक्ष हो।
शिशु जन्मनेवित्तिकै पहिलो पटक खुवाउने विगौतीले शिशुलाई पहिलो खोपको रूपमा काम गर्दछ जसले रोगहरुबाट र मृत्युबाट बच्न महत्वपूर्ण सुरक्षा प्रदान गर्दछ भन्ने गरिन्छ । त्यसैले आमाको दुधलाई प्रबर्धन गर्ने अभिप्रायले विश्व स्वास्थ्य संगठनले हरेक बर्षको १-७ अगष्टलाई स्तनपान सप्ताहका रुपमा मनाउँदै आएको छ । यस बर्ष पनि ३३ औ स्तनपान दिवस “Prioritize Breast Feeding, Create Sustainable Suport System” अथात “स्तनपानलाई प्राथमिकता दीऔ: सहयोगी वातावरण निर्माण गरौ” भन्ने नाराका साथ बिशव भरी मनाईदै छ l
नेपालको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को परिच्छेद ३ को दफा १३ मा उल्लेख गरिएको प्रसूति बिदाको अधिकार भित्र नवजात शिशुलाई स्तनपान प्रबर्द्धन र सहजीकरणको लागि ९८ दिन पूर्ण तलबी बिदाको व्यवस्था गरेको छ भने आवश्यक परेमा थप विदाको पनि व्यवस्था गरेको छ । त्यस्तै आमाको दुधलाई प्रतिस्थापन गर्ने किसिमका कुनै पनि खाद्य पदार्थ बिक्रि वितरणलाई निषेध गर्ने र पूर्ण स्तनपानलाई बढावा दिने अभिप्रायले २०४९ मा आमाको दुध प्रतिस्थापन सम्बन्धी ऐन ल्याइ कार्यान्वयनमा रहेको छ।
अध्ययन अनुसार ६ महिनासम्म आमाको दूधमात्र खुवाएको अवस्था तथा उचित पूरक आहार पाएमा २० प्रतिशतसम्म बाल मृत्युदर घटाउन सकिन्छ । कुपोषण न्यूनीकरणमा र बच्चाको बिरामी दर कम गर्न पनि स्तनपानको ठूलो भूमिका रहेको छ। पूर्ण स्तनपानले बालबालिकामा भबिश्यमा हुने श्वास्प्रश्वास सम्बन्धी रोग, पुडकोपना, मोटोपनाका अतिरिक्त टाइप-१ प्रकारको मधुमेह हुनबाट समेत रोक्न सक्छ र टाइप २ मधुमेहको जोखिमलाई कम गर्छ। स्तनपानले आमा र शिशुबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै मातृत्वको अनुभूति बढाउँछ।
स्तनपान र यसको लाभ
स्तनपान शिशुको शारीरिक र मानसिक विकासका लागि आधारशिला हो । ८०% मस्तिस्क विकास गर्भदेखि जन्मेको २ बर्ष भित्र भइसक्छ त्यसैले मातृ र बाल पोषणलाई प्रथामिकताका साथ सुनौला १००० दिनको नारा सहित स्तनपानलाई पनि महत्वका साथ हेरिन्छ ।
स्तनपानको अभ्यासलाई सुधार गरिएमा वार्षिक रुपमा विश्वभर ८२०,००० शिशुहरुको ज्यान जोगाउन सकिन्छ भने स्तनपान नगराउदाको वार्षिक अनुमानित खर्च विश्व भर रु. ३०० खर्ब देखिन्छ । युनिसेफले दक्षिण एशियामा सन् २०१८ मा प्रकाशन गरेको तथ्याङ्क अनुसार सन् २००० मा ६८ प्रतिशत स्तनपान २०१८ मा आइपुग्दा जम्मा २ अंकले बृद्धि भइ ७१ प्रतिशत पुगेको छ।
विश्वमा आएका अनेक परिर्वतनहरूका कारण स्तनपान गराउने प्रचलन घटेको देखिएको छ भने धनी आमाको तुलनामा गरिव आमाहरुमा स्तनपान गराउने संख्या उल्लेखनीय रुपमा बढी रहेको छ। यही कारण स्तनपान गराउने प्रचलनलाई निरन्तरता दिन बेलाबेलामा महिलाहरूका लागि सूचनाको पनि आवश्यकता अनुभव गरिएको छ । धनी देशका २२ प्रतिशत आमाहरुले कहिल्यै पनि स्तनपान नगराएको तथ्याङ्क छ त्यसले गर्दा उनीहरुको रोग प्रतिरोधात्मक क्षमता पनि कम रहेको अनुमान गर्न सकिन्छ।
विभिन्न स्तनधारी प्रजातिहरूमा स्तनपान गर्ने तरिका, अवधि र वातावरण भिन्न हुन्छ। जस्तै गाईका बाच्छा/बाच्छीहरूले जन्मेको तुरुन्तै आमाको स्तनबाट कोलोस्ट्रम नामक पहिलो दूध चुस्न थाल्छन् जुन रोग प्रतिरोधक क्षमता बढाउन आवश्यक हुन्छ।प्राकृतिक रुपमा बस्न पाएमा बाच्छा/बाच्छीहरूले प्रायः ६ देखि १० महिनासम्म स्तनपान गर्छन् र सँगसगै ठोस आहार पनि खाने गर्दछन । त्यसै अरु प्रजातिले पनि प्राकृतिक रुपमा सृष्टिबाट प्रदान स्तनपान गराइरहेका हुन्छन भने मानिसमा यो प्राकृतिक प्रकियालाई स्थयित्व दिन नसकेको अवस्था छ ।
स्तनपान सम्बन्धी सिफारिस गरिएका व्यवहारहरु
शिशु जन्मने वित्तिकै आमाको नागो छातीमा टँसाएर राख्नुपर्छ,
- जन्मेको १ घण्टा भित्र स्तनपान गराउनुपर्छ.
- दिनमा र रातमा पनि पटक पटक स्तनपान गराइरहने,
- माग अनुसार वा ठीक समयमा स्तनपान गराउने,
- बालबालिकाले खोजेको चाहेको प्रत्येक पटकमा दूध चुसाउने,
- शिशुले दूध पुरै चुसिसकेपछि आफै मुण्टा छोडेपछि मात्र अर्को स्तनमा चुसाउने,
- बालबालिका २ वर्ष वा सो भन्दा बढि उमेरसम्म लगातार स्तनपान गराइरहने,
- स्तनपान गराइरहेकी आमाले साविक भन्दा थप २ पटक खाना खाने,
- बालबालिका वा आमा बिरामी पर्दा पनि स्तनपान गराइरहनु,
- कहिल्यैपनि बोतलको प्रयोग गरी दूध नखुवाउने।
स्तनपानको मूलमन्त्र (३E) · Early (सकेसम्म छिटो शुरुवात) शिशु जन्मेको १ घण्टा भित्र स्तनपान गराउन शुरु गरौं)। · Exclusive (पुर्ण स्तनपान) ६ महिना पुरा नभएसम्म शिशुलाई आमाको दुधमात्रै चुसाऔं अरु खानेकुरा वा पानी पनि दिनु पर्दैन)। · Extended (बच्चा ६ महिना पुरा भएपछि थप पौष्टिक आहार दिनुपर्छ र कम्तिमा २ वर्ष वा सो भन्दा बढी समयसम्म बच्चालाई स्तनपान भने गराई राख्नु पर्दछ)।
|
नेपालमा स्तनपानको बिद्यमान अवस्था
नेपाल स्वास्थ्य तथा जनसाँख्यिक सर्बेक्षण २०२२ का अनुसार नेपालमा दक्ष प्रसुतीकर्मीबाट सुत्केरी गराउने महिलाहरुको संख्या ८०% पुगेको छ। नवशिशु मध्ये ५६ प्रतिशतले ०-५ महिनासम्म आमाको दुधमात्र खुवाएको देखिन्छ जुन अंक सन् २०१६ को भन्दा १० अंकले कम हो। त्यसैगरी नेपालमा ५५% ले शिशु जन्मेको एक घण्टा भित्र स्तनपान गराउछन्। त्यसैगरी १ घण्टा भित्र स्तनपान गराउने शिशुको संख्या ग्रामीण क्षेत्रमा ६३% छ भने शहरी क्षेत्रमा ५१% मात्र देखिन्छ ।
नियमित सूचना प्रणालीबाट प्राप्त सूचनाका आधारमा बागमती प्रदेशमा १ घण्टाभित्र दुध खुवाउने आमा ५४ प्रतिशत रहेका छन् भने कर्णाली प्रदेशमा लगभग १०० प्रतिशत रहेको छ। यसले गर्दा पढेलेखेका शहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरुमा स्तनपान सम्बन्धी सूचकहरुको अवस्था सन्तोषजनक देखिन्न।
शिशु जन्मेको २ बर्षसम्म स्तनपानलाई निरन्तरता दिने को अनुपात ९४% देखिन्छ यद्यपि २ बर्ष सम्मका २२% बालबालिकाले बोतलबाट दुध पिउछ्न जुन शहरी क्षेत्रमा बढी २६% र ग्रामीण क्षेत्रमा १५% रहेको छ । दिन प्रतिदिनको शहरीकरण, कामकाजी महिला र गलत धारणाको कारणले स्तनपानमा कमी हुँदै गएको सजिलै अनुमान गर्न सकिन्छ ।
स्तनपानको लागि हालसम्म भएका प्रयासहरु
- सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ ले महिलालाई ९८ दिनको प्रसुति विदाका अतिरिक्त घर बाहिर काम गर्ने आमाहरुलाई मध्यनजर गर्दै बढी भीडभाड हुने स्थानमा स्तनपायी आमाहरुको सहजताका लागि स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि २०८० बमोजिम त्यस किसिमको सुबिधा उपलब्ध हुँदै गएको छ,
- शिशु जन्मिकसेपछि कम्तीमा ४ पटक उत्तर प्रसुति जाँचको प्राबधानले पनि आमाहरुलाई स्तनपानको महत्वका बारेमा जानकारी गराउन सकिन्छ,
- नेपालमा स्तनपानलाई बढावा दिन र मातृ तथा नवजात स्वास्थ्य सुधार गर्न राष्ट्रिय/प्रादेशिक योजना र कार्यक्रमहरू संचालन गरिंदै आएका छन्।
- आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तु बिक्रि वितरण गर्न र त्यस किसिमका सूचना संप्रेषण गर्न पाइन्न,
- गैरसरकारी तथा सरोकारवाला संस्थाहरुले पनि मातृ तथा शिशु स्वास्थ्यलाइ प्राथमिकतामा राखेर स्तनपान प्रवर्द्धनका क्रियाकलापहरु सञ्चालन गरेको पाइन्छ,
- स्तनपानको प्रवर्द्धनमा समुदायस्तरमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, आमासमूहदेखि स्वास्थ्यकर्मीहरुले पनि परामर्श दिँदै आएका छन्,
- विकसित मुलूकहरुको तुलनामा नेपालमा स्तनपान गराउने आमाहरुको संख्या उच्च छ,
- परोपकार तथा प्रसुति गृह अस्पतालमा दुध ब्याङ्क र स्तनपान संचालनमा गरेको छ,
- स्तनपानसंग सम्बन्धित अध्ययन र अनुसन्धान भइरहेको पाइन्छ,
समस्या र चुनौतीहरु
- मातृ तथा शिशु स्वास्थ्यमा भएका थुप्रै योजना, कार्यक्रमहरु भए तापनि शिशु जन्मने वित्तिकै स्तनपान र पूर्ण स्तनपान गराउने आमाहरुको संख्या थोरै मात्र बृद्धि भएको छ,
- कार्यक्रममा विज्ञता हाँसिल गरेका व्यवस्थापकहरुबाट नै कानून उल्लघंन हुँदा कार्यान्वयनको पक्ष फितलो देखिएको छ,
- स्तनपान सप्ताह पर्वका रुपमा रंहदा स्तनपानको प्रचारकहरुबाटै स्तनपानले सिफारिश गरेका ब्यबहार अपनाउन आनाकानी गरेको देखिन्छ,
- भूमण्डलीकरण साथै बढ्दो शहरीकरणले महिलाहरु रोजगारमा संलग्न हुनुपर्ने हुँदा नवशिशुलाई स्तनपान गराउनका लागि समयको अभावले आमा र शिशुको स्वास्थ्यमा ध्यान दिइएको छैन,
- स्तनपान गराउने आमाहरु डिजिटल मिडियाबाट प्रभावित हुनु स्तनपान गरे शारीरिक सौदर्य बिग्रन्छ भन्ने भ्रम मा रहनु,
- आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तु बिक्रि वितरणको प्रचार प्रसार र सजिल्यै उपलब्धता हुनु अर्को चुनौती रहेको देखिन्छ,
- बोतल र फर्मुला दूधको बढ्दो प्रयोग व्यावसायिक प्रचारको प्रभाव बजारमा पाइने बोतल दूध र फर्मुला दूधको प्रचारले आमाहरूलाई स्तनपानभन्दा तिनीहरूलाई प्रयोग गर्न आकर्षित गरेको छ,
- घर बाहिर काममा जाने महिलाको लागि हालको प्रसुति बिदा पूर्णस्तनपान गराउनको लागि आफैमा अपर्याप्त छ भने अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाहरु यसबाट बन्चित छन्
- गैरसकारी र निजि क्षेत्रमा काम गर्ने महिलाहरुले पनि पूर्णरुपमा ९८ दिनको प्रसुति बिदा उपयोग गर्न पाइरहेका छैनन्,
- सरकारले स्तनपान कक्ष स्थापना तथा सञ्चालन कार्यविधि २०८० बनाई सोहि अनुरुप संथामा आउने सेवा ग्राहीलाई र सेवा प्रदायकलाई स्तनपानको प्रवंधन गर्ने भनिएता पनि एकै पटक धेरै महिला कर्मचारी सुत्केरी हुने स्वास्थ्य संथा र अन्य कार्यालयमा पनि यसको महत्व नबुज्दा स्तनपान गर्ने व्यवस्था मिलाउन सकेको छैन,
- आमाहरुमा स्तनपानको ज्ञान हुँदा हुदै पनि स्तनपान नगराएको पाइन्छ भने उनीहरुलाई प्रोत्साहित गर्ने खालका कार्यक्रमहरु सञ्चालन हुन सकेका छैनन,
- अनुगमन र नियमन प्रभावकारी नहुँदा कार्यक्रमको मर्म अनुरुप काम हुन सकेको छैन,
- दक्ष प्रसुतिकर्मी बाट सुत्केरी हुने ८०% अनि १ घण्टाभित्र स्तनपान गाराउने ५५% भने तथ्यांकले स्वास्थ्यकर्मी माथि प्रश्नचिन्ह खडा भएको छ,
- दिनानुदिन शल्यक्रियाबाट सुत्केरी हुने दर बढ्दै जाँदा स्तनपान गराउने दरमा पनि कमी आएको छ,
- नेपालको सामाजिक संरचना पुरै खल्बलिएर एकल परिवारको अवधारणाले गर्दा नि पारिवारिक सहयोग र ज्ञान नपाउदा स्तनपान गराउन नसक्नुमा ठुलो भूमिका रहेको देखिन्छ ।
- अझै पनि आमाहरुमा जनचेतनाको कमी साथै केही सांस्कृतिक र धार्मिक विश्वासहरूले विगौती दुध र पूर्ण स्तनपानलाई हतोत्साहित गरेका छन्,
- सामाजिक दबाबले आमाहरुलाई सार्वजनिक रूपमा स्तनपान गर्न कठिनाई छ भने श्रीमान् र परिवारका सदस्यको असहयोगले पनि स्तनपानलाई चुनौतीपूर्ण बनाएको छ।
हामीले अबलम्बन गर्नुपर्ने मार्गदिशा
स्तनपान शिशुको स्वस्थ भविष्यको लागि आधारभूत प्रक्रिया हो। स्तनपानको महत्त्वलाई बुझेर, यसको फाइदाहरूको लाभ उठाउन र सही तरिका अपनाउन हरेक आमा सचेत हुनुपर्छ।विश्व स्वास्थ्य संगठनका अनुसार ५३ प्रतिशत बालबालिकाको मृत्यु कुपोषणका कारण हुने हुँदा नवजात शिशु मृत्युदर र बाल मृत्युदरमा कमी ल्याउन मातृशिशु स्वास्थलाई थप प्रवर्धन गर्नुपर्ने देखिन्छ।त्यसैले,
- स्वास्थ्य नीति अपर्याप्त भएकाले ऐनमार्फत नै शिशुलाई ६ महिनासम्म पूर्ण स्तनपान र २ बर्षसम्म स्तनपान सहित पूरक खानाको सुनिश्चित गर्न ठोस कार्यक्रमको अपरिहार्य छ,
- प्रसूति विदा सम्बन्धी विद्यमान कानूनको पूर्ण कार्यान्वयन र घरबाहिर काम गर्ने महिलाको लागि कम्तिमा ६ महिना प्रसूति विदा र २ बर्ष सम्म स्तनपान प्रोत्साहनको लागि कार्यक्षेत्रमा (कार्यालय, विद्यालय, सर्बसाधारणको सम्बन्धको क्षेत्रहरु) उचित वातावरणको व्यवस्था गरी स्तनपान मैत्री स्थानको सुनिश्चितता जरुरी छ.
- सुत्केरी बिदा स्वीकृत गर्ने निकायलाई कानूनको प्रस्टता र स्तनपानको महत्वका वारेमा अभिमुखिकरण गर्नुपर्ने आवश्यक देखिन्छ,
- प्रसुति बिदा महिलाहरुका लागि सहुलियत नभइ अधिकार भित्र पर्दछ भन्ने कुराको हेक्का सबैले राख्नु पर्दछ, आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तु बिक्रि वितरण नियन्त्रण ऐन २०४९ र नियमावली २०५१ को उचित कार्यान्वयन
- पूर्वप्रसूति देखि उत्तर प्रसूतिको सुनौला हजार दिनलाई स्तनपानसँग जोड्दै अझ जोड दिदै जानुपर्छ,
- आमाको दुध आफूले जन्म दिएको शिशुलाई पुग्ने भएकोले गर्दा जुन तरिकाबाट बच्चा जन्माएपनि स्तनपान शिशुको लागि प्रयाप्त आहार हो भन्ने कुराको बुझाई पढेलेखेका बुद्दिजीवि देखि आम जनमानसमा पुर्याउनुपर्छ र कार्यान्नयनमा जोड दिनुपर्छ l
- स्वास्थ्यकर्मीले आफ्नो फाइदा र सजिलोको लागि भन्दा सेवाग्राहीको फाइदा र तोकिएको मापदण्ड अनुसार गुणस्तरीय सेवा प्रदान गर्ने,
- स्तनपानको अभ्यासका बारेमा प्रभावकारी अनुगमन, अध्ययन/अनुसन्धान तथा नियमन गर्ने,
- सामाजिक र सांस्कृतिक कुरीतिहरुलाई परिवर्तन गर्ने,
- कामकाजी श्रमिक महिलाको अनुभव र अनुभूति संकलन गरी थप प्रबर्धनात्मक क्रियाकलापहरु सञ्चालन गर्ने,
- राज्यले स्तनपान प्रोत्साहन कार्यक्रमको पहुँच बृद्धि गर्ने, अमृत कोष जस्तो एक्सप्रेस दुध भण्डारण र आवस्यकता अनुरुप वितरण गर्ने मिल्क बैंकहरु वृद्धि गर्ने, जनमानसमा यसको उपलबद्धता, आमाको दुध दान र यसको महत्वको सूचना अभिवृद्धि गर्नुपर्ने देखिन्छ,
- सीमान्तकृत, अल्पसंख्यक, बिपन्न, किशोरीहरुलाई पनि समेट्दै विद्यालयस्तर देखि नै स्तनपानसँग सम्बन्धित कार्यक्रम विस्तार गर्नुपर्ने देखिन्छ।
अन्त्यमा, कुनै समय संसार विजेता नेपोलियन बोनापार्टले “तिमी मलाई असल आमा देऊ, म तिमीलाई असल राष्ट्र दिन्छु” भनेका थिए। जसले आमा र शिशुको स्वास्थ्य बीच रहेको अन्योन्याश्रित सम्बन्धलाई प्रतिविम्बित गर्दछ। अबका दिनमा हामीले मातृशिशुका बिषयमा सरकारले ल्याएका कानून तथा कार्यक्रमहरुलाई थप परिस्कृत र फराकिलो बनाउदै लैजानुपर्ने देखिन्छ।
आमा र शिशुको बिषयमा परिवार र समाजको सहभागितालाई बृद्धि गरी आवश्यकतालाई जनचेतनासँग जोडन सकेमा पक्कैपनि हाम्रा बालबालिहरु कम्तीमा २बर्षसम्म स्तनपान साथै पूर्ण स्तनपान गर्न पाउने नैसर्गिक अधिकारबाट बन्चित हुने छैनन्। जसको प्रभाव राज्यले एक स्वस्थ र योग्य नागरिक प्राप्त गरी सम्बृद्ध राष्ट्रको परिकल्पना साकार हुनेछ।
-: लेखक भटृराई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अस्पताल नर्सिङ्ग प्रशासक हुन् ।
क्याटेगोरी : विचार
तपाईको प्रतिक्रिया दिनुहोस