विवादित पृष्ठभूमिका बिक्रमप्रसाद श्रेष्ठ बने वीपी प्रतिष्ठाको उपकुलपति

काठमाडौं। विवादित पृष्ठभूमिका बिक्रमप्रसाद श्रेष्ठ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति (भिसी) बनेका छन्। भ्रष्टाचारमा डामिएका बलभद्रप्रसाद दासको पालामा शिक्षाध्यक्ष रहेका श्रेष्ठ नेपाली कांग्रेसको कोटाबाट वीपी प्रतिष्ठानको उपकुलपति बनेका हुन्।
वीपी प्रतिष्ठान कै पहिलो विद्यार्थी र खासै विवादमा नआएका प्रल्हाद कार्कीलाई रिङ आउट गर्दै श्रेष्ठ कांग्रेसी कोटाबाट वीपीको भिसी बन्न सफल भएका हुन्। इम्प्लान्ट व्यापारीहरू श्रेष्ठलाई वीपीको भिसी बनाउन सक्रिय रहेको चर्चाका बीच उनी नै वीपी प्रतिष्ठानको भिसी बन्नु केवल संयोग मात्र देखिँदैन।
वीपी प्रतिष्ठानभित्र बाबु भागवत प्रसाद श्रेष्ठ स्मृति धर्मशाला स्थापना गरी आफ्नो छुट्टै कोष खोलेर आम्दानी प्रयोग गरेका बिक्रमप्रसाद श्रेष्ठ वीपीको उपकुलपति बनेका हुन्। यो महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनबाटै पुष्टि हुन्छ।
वीपी प्रतिष्ठानको परिसरभित्र स्थापित जुनसुकै संरचना प्रतिष्ठानको स्वामित्वमा हुने र उक्त संरचनाको आय पनि प्रतिष्ठानकै कोषबाट संचालित हुनुपर्नेमा धर्मशालाको परिषरमा रहेको खाजा घर र अन्य आम्दानी प्रतिष्ठानको कोषमा आउनुको सट्टा धर्मशालाको छुट्टै कोषमा जम्मा भइ प्रयोगमा आएको महालेखाले जनाएको छ । २०६७ सालमा नै धर्मशाला हस्तान्तरण भएपनि वीपी प्रतिष्ठानभित्र धर्मशालाले मनोमानी गरिरहेको महालेखाको ठहर छ। धर्मशाला खोलेर व्यापार गरिरहेका उनै बिक्रम श्रेष्ठलाई पुरस्कार स्वरूप वीपी प्रतिष्ठानको उपकुलपति बनाइएको हो।
वीपी प्रतिष्ठानको अर्थोपेडिक विभाग प्रमुख (एचओडी) हुँदा श्रेष्ठले कमिसनको चक्करमा लागेर निश्चित ब्रान्डको औषधि लेख्न लगाएको तथ्य समेत स्वास्थ्य लाइभले खुलासा गरेको थियो।
अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ मा ब्रान्ड तोकेर औषधि सिफारिस गर्न निषेध गरेको छ । तर वीपीमा अर्थोपेडिक विभाग प्रमुख श्रेष्ठले औषधिको बान्ड नै तोकेर सिफारिस गर्न भनेको तथ्य स्वास्थ्य लाइभले फेला पारेको थियो।
स्वास्थ्य लाइभलाई प्राप्त वीपीको अर्थोपेडिक टिमको गोप्य च्याटमा खास ब्रान्डको औषधि प्रेसक्रिप्सन (सिफारिस) गर्न अर्थोपेडिक विभागमा कार्यरत चिकित्सकहरुलाई उर्दी जारी गरिएको छ।
चिकित्सकले अनावश्यक औषधि नलेखुन भनेर लिस्ट सार्वजनिक गरेको बिक्रमले स्वास्थ्य लाइभसँग दाबी गरेका थिए। ‘वीपीको अर्थोपेडिक्स विभाग प्रमुख श्रेष्ठ औषधि कमिसन चक्करमा लागेको खुलासा’ शीर्षकमा स्वास्थ्य लाइभमा छापिएको समाचारलाई लिएर उनीसँग जवाफ सिमेत मागिएको थियो। निश्चित ब्रान्डको औषधि सिफारिस गरेको विषयमा स्पष्टीकरण समेत खेपेका श्रेष्ठ स्पष्टीकरण माग्ने ठाउँमा पुगेका हुन्। श्रेष्ठलाई उपकुलपति बनाएसँगै वीपी प्रतिष्ठानमा सुशासन र कांग्रेसीले एकैपटक हावा खाएका छन्। श्रेष्ठलाई उपकुलपति बनाएसँगै स्वास्थ्यमन्त्री प्रदिप पौडेलको समेत असलियत देखिएको छ।
केदारबहादुर अधिकारी नेतृत्वको कार्यदलले विभागीय कारबाही गर्न सिफारिस गरेका व्यक्तिलाई नै खोजीखोजी वीपी प्रतिष्ठानको उपकुलपति बनाइएको हो। यसले कांग्रेसीहरूलाई ‘सुशासन’को ठेकेदार बन्न समेत नमिल्ने अवस्था सिर्जना भएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस