वीपी प्रतिष्ठानमा बेथिति 

वीपीको अर्थोपेडिक विभाग प्रमुख श्रेष्ठ औषधि कमिसन चक्करमा लागेको खुलासा


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका अर्थोपेडिक विभाग प्रमुख (एचओडी) विक्रम श्रेष्ठले कमिसनको चक्करमा लागेर निश्चित ब्रान्डको औषधि लेख्न लगाएको तथ्य फेला परेको छ ।

स्वास्थ्य लाइभलाई प्राप्त वीपीको अर्थोपेडिक टिमको गोप्य च्याटमा खास ब्रान्डको औषधि प्रेसक्रिप्सन (सिफारिस) गर्न अर्थोपेडिक विभागमा कार्यरत चिकित्सकहरुलाई भनिएको छ ।

अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ मा ब्रान्ड तोकेर औषधि सिफारिस गर्न निषेध गरेको छ । तर वीपीमा अर्थोपेडिक विभाग प्रमुख श्रेष्ठले औषधिको बान्ड नै तोकेर सिफारिस गर्न भनेको तथ्य स्वास्थ्य लाइभले फेला पारेको हो ।

एचओडी प्रमुख विक्रम सरको हवला दिँदै ८ प्रकारका औषधिको ब्रान्ड नै तोकेर उक्त विभागमा कार्यरत सबै चिकित्सकलाई प्रेसक्राइब गर्न आग्रह गरिएको छ । त्यो विभागमा कार्यरत अधिकांश चिकित्सकले हस सर भन्दै जवाफ फर्काएको प्रमाण स्वास्थ्य लाइभले फेला पारेको हो ।

स्वास्थ्य लाइभलाई प्राप्त प्रमाणमा  सेलाक्याल/सेलाक्याल यच डी ब्रान्डको क्याल्सियम,  एनाल्जेसिक -एनासें २५० र ५०० एमजी ,प्यान्टप्राजोल-प्यान्टोप ४० एमजी ,नयूराल्जिक  रिग्याब-एम ७५०/१५००,  भिटामिन डी- सेफ्रोल ६० के प्रेसक्राइब गर्न आग्रह गरिएको छ । त्यस्तै  इन्जेक्सन ट्राइमकोलोन- ट्राइकोर्ट १० यमजी र ४० एमजी, पोभिड़ोंन आयोडिन-सेप्टीडीन १०%, ट्रीपसिन काइमोट्रिप्सिन् – काइमोसिन / काइमोसिन फोर्ट औषधिको ब्रान्ड नै तोकेर सिफारिस गर्न भनिएको हो ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा नेतृत्वको समितिले बुझाएको प्रतिवेदनले पनि वीपीमा चिकित्सकले औषधिमा कमिसन खाएर बिरामीलाई सिफारिस गर्ने गरेको औंल्याएको छ । त्यो आरोपलाई यो घटनाले पुष्टि गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले चिकित्सकले त्यहीं औषधि सिफारिस गर्दै आएको छन् ।

अर्थोपेडिक विभागका प्रमुख श्रेष्ठ धरानका एक धनाड्य परिवारका सदस्य तथा प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष समेत हुन् । हाल उनी प्रतिष्ठानको उपकुलपति हुने दौडमा लागेका छन् ।श्रेष्ठले प्रतिष्ठानको जग्गामा आफ्ना पिता र माताको नाममा धर्मशाला बनाएर सोको स्वामित्व प्रतिष्ठानलाई नदिएर धर्मशालाको आम्दानी आफै चलाउने गरेको आरोपसमेत लाग्दै आएको छ ।

धर्मशालाको विगत १० वर्षदेखि लेखा परीक्षण नभएको सम्बन्धमा अख्तियारमा उजुरी समेत परेको छ । औषधि काण्डले श्रेष्ठको भूमिकामाथि थप आशंका उब्जाएको छ ।प्रतिष्ठानलाई भ्रष्टाचारमुक्त बनाउनु पर्छ भन्दै सुद्धीकरण आन्दोलनको नेतृत्व गर्दै आएका डा. श्रेष्ठ आफै कमाऊ धन्दामा लागेको भनेर आलोचना हुन थालेको छ ।

 

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com