विशिष्ट श्रेणीबाट एकैपटक उच्चको न्यायाधीश भएका ३ जना सर्वोच्चमा


काठमाडौं। विशिष्ट श्रेणीबाट एकैपटक उच्चको न्यायाधीशमा नियुक्त भएका ३ जना सर्वोच्च अदालतमा पुगेका छन्। विशिष्टबाट उच्च हुँदै सर्वोच्चको न्यायाधीश भएका महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेल हुन्। महेश बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव, टेक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र श्रीकान्त सर्वोच्च अदालतको रजिष्ट्रारबाट उच्चको न्यायाधीश हुँदै सर्वोच्च अदालत पुगेका हुन्।

सुशील कार्की प्रधानन्यायाधीश एवं न्याय परिषद्को अध्यक्ष हुँदा मध्यरातमा बहुमतका आधारमा ८० न्यायाधीश नियुक्त गरिएको थियो। त्यो चर्चित नियुक्तिमा विशिष्ट श्रेणीका ५ कर्मचारीलाई ‘टप फाइभ’मा राखेर सिफारिस भएका थियो। उक्त सिफारिसमा न्याय समूहका २ विशिष्ट, सरकारी वकिल समूहका २ विशिष्ट र कानुन समूहको १ गरी ५ विशिष्ट उच्चको न्यायाधीशमा नियुक्त भएका थिए। न्याय समूहबाट कृष्ण गिरी र श्रीकान्त पौडेल, सरकारी वकिल समूहबाट राजेन्द्र सुवेदी र महेश शर्मा पौडेल तथा कानुन समूहबाट टेकप्रसाद ढुंगाना उच्च अदालतको न्यायाधीश भएका हुन्।

राजेन्द्र महान्यायाधिवक्ताको कार्यालयको नायब महान्यायाधिवक्ता, कृष्ण न्याय परिषद् सचिव, श्रीकान्त पौडेल सर्वोच्च अदालतको रजिष्ट्रार, महेश बेपत्ता छानविन आयोगको सचिव र टेक कानुन मन्त्रालयका सचिवबाट उच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। यिनीहरूमध्ये राजेन्द्र र कृष्ण उच्चको न्यायाधीशबाटै अवकाशमा गए। महेश, टेक र श्रीकान्त सर्वोच्चको न्यायाधीश बन्न सफल भएका छन्।

संविधानसभाबाट संविधान जारी भएपछि उच्चमा एकैपटक ८० न्यायाधीश नियुक्त भएका थिए। त्यो लटमा नियुक्त भएका आधाभन्दा बढी उच्चका न्यायाधीश अवकाशमा गइसकेका हुन्। उक्त लटका महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्ति सिंह थापा सर्वोच्च अदालतको न्यायाधीश भइसकेका छन्। सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी पनि महेश, टेक, श्रीकान्त, नित्यानन्द र शान्तिसँगै उच्चको न्यायाधीश भएका थिए। एकै मितिमा उच्चको न्यायाधीश भएका ५ जना सर्वोच्चको न्यायाधीश छन्। सोही मितिमा उच्चमा पुगेका थप ३ जना सर्वोच्चमा सिफारिस भएका हुन्। एकै लटका ८ न्यायाधीश सर्वोच्च पुग्ने भएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #कृष्ण गिरी, #टेकप्रसाद ढुंगाना, #महेश शर्मा पौडेल, #राजेन्द्र सुवेदी, #श्रीकान्त पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ