यी हुन् एकनारायणको इशारामा चल्ने सचिवहरू


समाचार टिप्पणी

काठमाडौं। प्रशासनिक बेथिति र ‘कुलिङ अफ पिरियड’ छेडखानीका ‘नाइके’ एकनारायण अर्याल मुख्यसचिवबाट अवकाश पाउन साथ सुटुक्क भारत पुगेका छन्। गौरीबहादुर कार्की नेतृत्वमा गठित ‘जेन-जी’ आन्दोलन दमन जाँचबुझ आयोगले बयान लिएपछि रन्थनिएका एकनारायण अहिले भारततिर लागेका हुन्। कुलिङ पिरियड छेडखानीदेखि जेन-जी आन्दोलन दमनसम्मका घटनामा राज्यको निगरानीमा रहेका ‘पञ्जेबाजा’ मुख्यसचिव एकनारायण अवकाशलगत्तै भारत प्रस्थान गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। कतिपयले आर्थिक कारण त कतिपयले राजनीतिक चलखेलका लागि उनी सुटुक्क भारत गएको चर्चा गर्न थालेका छन्। मुख्यसचिवबाट अवकाश हुनुभन्दा अघि एकनारायणले राखेको अन्तिम सचिव बैठकमा पनि राजनीतिमा जाने संकेत गरेका थिए। त्यसैले उनको भारत भ्रमणले अहिले निकै चर्चा पाएको छ।

मुख्यसचिव हुँदा गृह, श्रम, सामान्य, सञ्चार र पर्यटन मन्त्रालय एकनारायण कै इशारामा चल्ने गरेको आरोप लाग्दै आएको थियो। महालेखा नियन्त्रक शोभाकान्त पौडेल एकनारायण कै कारण महिना कट्नेबितिकै गण्डकी प्रदेशबाट ‘पावर’ देखाएर सिंहदरबार फर्किएको कुरा जगजाहेर नै छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी व्यवस्थापनदेखि सिडिओ सरूवामा समेत एकनारायणको इशारामा चल्ने गरेका तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी उनीसँगै घर गएका छन्। भिजिट भिसा सेटिङमा एकनारायणले विमानस्थल पठाएका कर्मचारी बढी ‘डामिने’ खतरा देखेपछि सरकारदेखि अख्तियारसम्मको छानबिन प्रभावित भएको आरोप लाग्दै आएको छ। विमानस्थलमा गोकर्णकाभन्दा एकनारायणको ‘सोर्स’ लगाएर गएका नायब सुब्बा र अधिकृत अधिक भएकाले गोकर्णलाई हाइसञ्चो भयो। ‘एस-म्यान’ बनेर एकनारायणपछि मुख्यसचिव बन्ने दाउमा रहेका गोकर्णको सपना सबै ‘जेन-जी’ आन्दोलनले उडायो।

एकनारायणको ‘एस-म्यान’ बनेर काम गरेका अर्का सचिव रविलाल पन्थ हुन्। एननारायण घर जाने भएपछि सरकाले उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट राष्ट्रिय योजना आयोग पुऱ्याएको छ। कुलिङ पिरियड छेडखानीदेखि अनियमित सरूवामा मुछिएका रविलाललाई सरकारले नियमित सरूवा गरेर योजना आयोग पठाएको हो। तर, उनको ठाउँमा एकनारायणले चलाखीपूर्ण तरिका चन्द्रकला पौडेललाई सामान्य प्रशासन सचिवमा ल्याउन सफल भएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जगेडामा सचिव डा. कमलप्रसाद पोखरेल हुँदाहुँदै एकनारायणले चन्द्रकलालाई सामान्यमा ल्याउन सफल भएका हुन्। सामान्यमा सचिवहरू डा. दिपक काफ्ले, डा. कमल, राजकुमार श्रेष्ठ र गोविन्दबहादुर कार्कीको चर्चा भइरहेको अवस्थामा भ्यागुता जस्तो उफ्रिएर चन्द्रकला आइपुगेकी हुन्। एकनारायण सरूवा प्रमाणिकरण गरेलगत्तै चन्द्रकलालाई पत्र पठाएकाले उनी हतारो गरेर सामान्यमा हाजिर भइन्। त्यसैले अहिले संघमा दरबन्दीभन्दा बढी सचिव थुप्रिएका छन्।

सामान्यमा राजकुमार र दिपकमध्ये एकजना पठाएर राजस्व समूहकी उपसचिव चन्द्रकलालाई महालेखा नियन्त्रक कार्यालय पठाउनु पर्ने ‘जेन-जी’हरूको दबाब छ। कुलिङ पिरियडदेखि अनियमित सरूवासम्म छानबिन गर्नुपर्ने भएकाले सामान्यको टिम नै हटाउनु पर्ने दबाब देखिन्छ। त्यसका लागि सामान्य सचिवमा श्रेष्ठ र काफ्लेमध्ये एकजना उपयुक्त हुने ‘जेन-जी’हरूको बुझाइ छ।

एकनारायणको इशारामा काम गरेर सरकारलाई विवादमा ल्याउन भूमिका खेल्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली पर्यटन मन्त्रालयबाट ‘आउट’ भएका छन्। मैनालीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाएर पर्यटनमा मुकुन्दप्रसाद निरौलालाई ल्याइएको छ। मैनालीले एकनारायणको इशारामा पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोषदेखि नेपाल वायुसेवा निगमसम्मका नियुक्तिमा अनियमित तरिकाले चलखेल गरेपछि उनलाई पर्यटनबाट हटाइएको हो।

‘बिलिङ सिस्टम’देखि सञ्चार मन्त्रालयका अन्य गतिविधिमा एकनारायणको इशारामा चल्ने गरेको आरोप खेपेकी राधिका अर्याललाई पनि सरूवा गर्न दबाब छ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लक्ष्मीकुमारी बस्नेतले चलाउन नसकेपछि महिला कोटाबाट आएकी राधिकालाई उक्त मन्त्रालय पठाउन सक्ने सम्भावना छ। सञ्चार मन्त्रालयमा गोविन्दबहादुर कार्कीको चर्चा सुनिन्छ। हाल स्वास्थ्य मन्त्रालयको प्रशासन हेर्ने सचिव डिल्लीराम शर्मा पनि सञ्चार बसेकै कर्मचारी हुन्। तर, उनको निर्णय क्षमता कमजोर भएकाले गोविन्दको सम्भावना बढी देखिन्छ।

एकनारायणको ‘एस-म्यान’ भएर काम गर्ने र मुख्यसचिव हुन सबै तिकडम प्रयोग गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्कर कर्णले सरकारलाई असहयोग गरेको प्रधानमन्त्री कार्यालयकै अधिकारीहरू बताउँछन्। कर्णलाई प्रधानमन्त्री कार्यालयको जगेडा, राष्ट्रिय तथ्याङ्क कार्यालय वा उपराष्ट्रपति कार्यालय पठाउन ‘जेन-जी’ अगुवाहरूको सुझाव छ। मलेसिया काण्डदेखि वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउन चलखेल गरेका कर्णलाई श्रमबाट झिकेर युवा तथा खेलकुद मन्त्रालयबाट डा. हरिप्रसाद लम्साल वा प्रधानमन्त्री कार्यालयबाट डा. कमलप्रसाद पोखरेललाई पठाइने सम्भावना छ। हरि श्रममा गए कमल युवामा पुग्ने सम्भावना छ।

महालेखा नियन्त्रक कार्यालयमा बसेर लेखाका कर्मचारीको अनियमित तरिकाले सरूवा गर्दै आएका शोभाकान्त पौडेललाई त्यहाँबाट हटाउन दबाब छ। एकनारायणको परिक्रमा गर्दै प्रदेश गए जस्तो गरेर मिलिक्कै संघमा फर्किएका शोभाकान्तलाई राष्ट्रिय तथ्याङ्क कार्यालय वा मधेश प्रदेश पठाउने चर्चा छ। संघमा दरबन्दीभन्दा बढी सचिव रहेकोले एकजना सचिव संघबाट प्रदेश फर्काउनु पर्ने बाध्यता छ। त्यसका लागि उपयुक्त पात्रका रूपमा शोभाकान्तलाई हेरिएको हो। आर्थिक गणना गर्ने समय आएकाले उनलाई राष्ट्रिय तथ्याङ्क कार्यालय पठाइने सम्भावना पनि छ। ढुण्डीप्रसाद निरौलाले जस्तै परिवार अमेरिकामा सेटल गराएको आरोप लागेका शोभाकान्त ‘जेन-जी’हरूको ‘नोटिस’मा रहेको पाइन्छ। ढुण्डी अवकाशलगत्तै अमेरिका पलायन भइसकेका छन्। शोभाकान्त पनि त्यहिँ लाइनमा रहेको बुझिन्छ।

सचिव बैठक र प्रधानमन्त्री कार्यालयमा खासै देखा नपर्ने र आर्थिक गणनामा पनि खासै चासो नराख्ने भनेर चर्चामा रहेका राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीको पनि सरूवा हुने चर्चा छ। अहिले प्रशासनतिरका वरिष्ठ सचिव भएकाले बुर्लाकोटीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा राष्ट्रपति कार्यालय पठाइने सम्भावना छ।

निर्वाचन आयोगका सचिव महादेव पन्थसँग आयोगका पदाधिकारी सन्तुष्ट नदेखिएकाले उनी पनि सरूवा हुने सम्भावना देखिन्छ। निर्वाचन आयोगमा राजकुमार श्रेष्ठ, दिपक काफ्ले, दिनेशकुमार घिमिरेमध्ये कोही जान सक्छन्। आयोगका पदाधिकारीले चाहेको सचिव निर्वाचन गर्न जाने अवस्था आउँछ।

एकनारायणले अनावश्यक सचिव संघमा ल्याउँदा व्यवस्थापनमा चुनौती देखिएको छ। उनले प्रशासनिक बेथिति निम्तिने गरी संघमा दरबन्दीभन्दा बढी सचिव तानेका हुन्। आपूर्ति मन्त्रालयको दरबन्दी देखाएर सचिव हुने विकृत अभ्यास रोक्न ‘जेन-जी’ सरकारले तत्काल उक्त दरबन्दी खारेज गर्नुपर्छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष दरबन्दीमा रहेका खगेन्द्रप्रसाद नेपाललाई पनि क्षमताले भ्याउन सक्ने कुनै काम दिनुपर्छ। यसमा ‘जेन-जी’ सरकारको ध्यानाकर्षण हुन जरूरी छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ