घर गएका समाज कल्याण परिषद्का निवर्तमान सदस्यसचिव मनोज भट्टले अझै बुझाएनन् गाडी 


काठमाडौं। मंसिर १ गतेबाट ४ वर्षे कार्यकाल सकेर घर गएका  समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले अझै गाडी बुझाएका छैनन्। भटृलेसँग परिषद्को  नाममा रहेको गाडी, दुई वटा मोटरसइकल र एउटा ल्यापटप रहेको समाज कल्याण परिषद्का कर्मचारीहरू बताउँछन्। उनले सदस्यसचिव बस्ने कार्यकक्षमा समेत ताला लगाएका छन्। परिषद्का कर्मचारीले उनले कागजात घर लाने सम्भावना देखेर अर्को ताला लगाइदएका हुन्।

समाज कल्याण परिषद्को प्रशासन हेर्ने निमित्त निर्देशक भगवती संग्रौलाले सदस्यसचिव भट्टले लगेका सवारी साधनलगायतका सामानहरू बरबुझारथ नगरेको स्पष्ट पारिन्। ‘दुई गतेबाट गर्नुपर्ने हो तर अहिलेसम्म भएको छैन।’, संग्रौलाले भनिन्। यो विषयमा बोल्दा आफूलाई समस्यामा पार्ने भएकाले उपाध्यक्षसँग बुझ्न उनको आग्रह छ। उक्त विषयमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले पनि चासो देखाएको पाइन्छ।

परिषद्का उपाध्यक्ष नन्दलाल माझी भने उक्त विषयमा प्रशासन नै जिम्मेवार रहेको बताउँछन्। सबै कुरा प्रशासकलाई थाहा हुने उनको भनाइ छ।

भट्टले परिषद्को गाडी र मोटरसाइकल फिर्ता नगरेको गुनासो उठिरहेका बेला अफिसको गाडी आफ्नाे जिम्मामा नरहेको भट्टको जिकिर छ। आफूले करिब ३० प्रतिशत मात्र अफिसको गाडी प्रयोग गर्ने गरेकाे बताए । अहिले भने उक्त सवारी चालकले नै ग्यारेजमा राखेको जानकारी प्राप्त भएको बताए।

भट्टले फेरि पनि सदस्य-सचिव आफै हुने भन्दै सामानहरू बरबुझारथ नगरेको कर्मचारीहरू नै बताउँछन्। उनी मंगलबार पनि परिषद्मा पुगेर फर्किएको बताइन्छ।

मोटरसाइकलबारे सोध्दा भट्टले सचिवालयका कर्मचारी नै जिम्मेवार हुने उल्लेख गर्दै भने, “मैले अहिले सम्म अफिसको मोटरसाइकल लिएको छैन। यदि सचिवालयका कर्मचारीले लिएका छन् भने उनीहरू नै जवाफदेही हुनुपर्छ। त्यसमा मलाई जोड्नु न्यायोचित हुँदैन।” तर, परिषद्को रेकर्डमा हेर्दा उनैले गाडी लिएको देखिन्छ। भट्टले अफिसको एउटा ल्यापटप आफूसँग भएको स्वीकार गर्दै भने, “अफिसको एउटा ल्यापटप छ, त्योबाहेक मेरो साथमा केही छैन। ल्यापटप पनि घरमा होइन, अफिसकै कोठामा राखिएको छ।”

सदस्यसचिव हुँदा भट्टको सचिवालय हेर्दै आएका करारका अधिकृत राजेन्द्रप्रसाद उप्रेती ३ दिनको बिदा स्वीकृत गराएर हिँडेका पाइन्छ।

भट्टका अनुसार अफिसको दराजमा प्रशासनले ताल्चा लगाएका हुन्। सुन्नमा आएको आधारमा उक्त चाबी ऋषि चौधरीसँग भएको जानकारी आफूले पाएको भट्टले बताए। गाडी र मोटरसाइकलको विषयमा विषयमा चौधरीलाई बुझ्दा भट्टले लगेको गाडी, मोटरसाइकल र ल्यापटप कार्यालयमा नरहेको प्रस्ट पारे। भट्टले बरबुझारथ नगरको उनको भनाइ छ। ‘गाडी ड्राइभरसँग रहेको भन्ने बुझिन्छ, मोटरसाइकल अहिलेसम्म कार्यालयमा दाखिला भएको छैन’, चौधरीले स्पष्टीकरण दिँदै भने। कोषाध्यक्ष विनय लामाले जिन्सीलगायतका सामान बरबुझारथ गरिसकेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ