लोक सेवा पढाएर देशमा ‘सुशासन र समृद्धि’ ल्याउन कस्सिएका उच्च पदस्थहरू
समाचार टिप्पणी
काठमाडौं। जेन-जी आन्दोलनपछि पनि राष्ट्र सेवकहरूको गति र मति कुनै सुध्रिएको छैन। सरकारी काम छाडेर नेपाल सरकारका सचिव र सहसचिवहरू नै लोक सेवा पढाउन सक्रिय देखिन्छन्। ‘सरकारी काम कहिले जाला घाम’ शैलीमा काम गर्दै आएका उच्च पदस्थहरू लोक सेवा पढाएर देशमा ‘सुशासन र समृद्ध’ ल्याउन कम्मर कसेर लागिपरेका छन्।
जेन-जी आन्दोलनले देशमा राम्रै उथलपुथल ल्यायो तर प्रशासनिक संयन्त्रमा जेन-जी आन्दोलनको कुनै प्रभाव परेको देखिँदैन। लोक सेवा पढ्ने र पढाउने ‘कामचोर’ कर्मचारीहरू अहिले कार्यालयमा होइन होटलमा भेटिन्छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्र जस्ता निकायले लोक सेवा ‘क्लास’ नलिन बेलाबेलामा कर्मचारीहरूलाई सचेत गराउँदै आएको छ। तर, उच्च पदस्थहरू नै सरकारी काम छाडेर होटल र लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने ‘इन्स्टिच्युट’मा भेटिन्छन्। बिहान, दिउँसो र बेलुका खान पनि पाइने, पढाएबापत राम्रै दाम पनि पाइने, काममा राज्यलाई ठग्न पनि पाइने भएकाले अहिले केही सचिव र सहसचिवलाई दसैँ आएको छ। देश बनाउन होइन आफू बन्न आएका कर्मचारीहरू त्यहीँ दिशातर्फ लागेका छन्। जेन-जी आन्दोलनलाई समेत चक्मा दिँदै नेपाल सरकारका केही सचिव र सहसचिवहरू भविष्यमा थप लोक सेवा गुरू उत्पादन गर्न होटलमा भेटिने गरेका छन्।
संघीय निजामती सेवा ऐनमा लोक सेवा पढाउन नपाउने प्रावधान राख्दा ‘इन्स्टिच्युट’का मालिक बोकेर यिनै कर्मचारीले सांसदलाई प्रभावित बनाएका थिए। संघीय निजामती सेवा ऐन संसद्बाट पारित नहुँदा उच्च पदस्थहरूलाई हाइसञ्चो भएको छ।
लोक सेवा नेटवर्कले काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा सहसचिव र उपसचिवका लागि ५ दिने लेखनसिप, सेमिनार र विशेष अन्तरक्रिया कार्यशाला राखेको थियो। त्यसमा नेपाल सरकारका बहालवाला सचिव राजकुमार श्रेष्ठ, सहसचिवहरू प्रकाश दाहाल, यमलाल भुसाल, महेश्वर ढकाल, रामबन्धु सुवेदी, महेश बराल, नरहरि घिमिरे, कृष्ण पौडेल, देवराज जोशी र प्रदिप परियार रहेका थिए।
भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका सहसचिव परियारलाई अहिले लोक सेवा पढाउन ‘खुदो’ पल्टिएको छ। तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग अमेरिका गएर कर्मचारीलाई लोक सेवा पढाउन दिनुपर्छ भन्ने कानुन बनाउन सहमत गराउने प्रकाश दाहाल पनि होटलतिरै व्यस्त छन्। सुदूरपश्चिम प्रदेशतिर सरूवा भएका सहसचिव देवराज जोशी पनि लोक सेवा पढाउन कै लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा डेरा जमाएर बसेका छन्।
चैतन्य लगायतमा पनि लोक सेवा पढाउन मारामार छ। देश र सुशासनले भने मार खाएको छ। देशमा पुरै पाखण्ड ताण्डव चलिरहेको पाइन्छ।
मुख्यसचिवले विभागीय कारबाही गर्न नसक्दा उच्च पदस्थहरू लोक सेवा पढाउन फुक्काफाल देखिन्छन्। सुशासनले पुरै हावा खाएको छ। फेरि यिनीहरू नै सुशासनको गुड्डी हाँकेर बस्छन्।
जेन-जी आन्दोलनको उपलब्धिको हावा खुस्काउने गरी कर्मचारीहरूले लोक सेवा तमासा देखाउन थालेका छन्। ‘जेन-जी’ सरकारका प्रधानमन्त्री, मन्त्री र मुख्यसचिवहरू हेरेको हेऱ्यै भएका छन्।
सहसचिव/उपसचिव जस्तो नीतिगत तहमा जिम्मेवारी लिनु पर्ने मान्छे सुँगाले रटे जस्तो ट्युशन पढेर पास हुन खोज्नु अनि पैसाकै लागि राज्यको नीति निर्माण र कार्यान्वयनमा सारथी बन्नुपर्ने जिम्मेवारीमा रहेका वेतनधारी सचिव/सहसचिव तिनैलाई पढाउँदै राज्यप्रदत्त जिम्मेवारीलाई पाखा लगाएर हिँड्दा यो मुलुकको सार्वजनिक प्रशासनको औचित्यतामाथि नै प्रश्न उठ्ने जोखिम बढ्दै गएको छ। घूस खानु मात्र भ्रष्टाचार हो र? बाटोमा हिँड्दा समेत राज्यको बारेमा सोचेर नीति मस्यौदा र कार्यान्वयनमा सक्रिय हुन गाडी, ड्राइभर समेतको सुविधा दिएको सचिव/सहसचिव त्यहि गाडीमा चढेर कक्षा छुट्लाकी भन्ने डरमा हतारिँदै, कक्षामा के पढाउने भन्दै गाडीमा घोक्दै सोच्दै हिँड्दा सार्वजनिक स्रोत र जिम्मेवारीको दुरूपयोग भएन र?
सरकारी सवारी, इन्धन, अफिसका कम्प्यूटर, ईन्टरनेट, टोनर, प्रिन्टर, फोटोकपि तथा पेपर, पेन, एसी, हिटर चिया पानी खाजा सबै सरकारी प्रयोग भएको छ। कोही बिहान बेलुका र बिदाको दिन अफिसमै बसेर पढ्ने पढाउने काममा व्यस्त छन्। अनि यिनीहरू नै सवारी साधनको मितव्ययी प्रयोगको र भ्रष्टाचार निवारणको ‘क्लास’ लिने गरेका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस