राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले पहिलोपटक थारु समुदायमा देखिएको सिकलसेल एनिमियाको ५ हजार जनामा परिक्षण गर्ने 


दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले पहिलोपटक ठुलो संख्यामा सिकलसेल एनिमियाको परिक्षण गर्न लागेको छ । आज दाङका दस वटै पालिकाका जनप्रतिनिधिहरुसंगको छलफलमा प्रतिष्ठानले यस्तो जानकारी दिएको हो। प्रतिष्ठानमा सिकलसेल जाच्ने मेसिन भित्रीएपछि पहिलो पटक ५ हजार जनामा परिक्षण गर्न लगिएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिए ।

उहाँका अनुसार यो परिक्षण अभियान भोलि शनिबारदेखि नै जारी रहने छ । प्रतिष्ठानले करिब सिकलसेल एनिमिया भएका ३ सय १५ जनालाई औषधि उपचार सेवा प्रदान गर्दै आएको छ । जसमा एक बर्षदेखि ६५ बर्ष सम्मकामा सिकलसेल एनिमिया भेटिएका छन भने एकै घरका चार जना परिवारमा पनि सिकलसेल देखीएको छ । धेरैजसो थारु समुदायमा यो रोग फेला परेको छ भने योगि र दलित समुदायमा पनि सिकलसेल देखीएको छ । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थिले दाङका १० वटै पालिकाका जनप्रतिनिधिहरुलाई राखेर अबदेखि प्रतिष्ठानमा सिकलसेल एनिमिया रोगको परिक्षण हुने जानकारी दिईएको बताउनु भयो ।

सिकलसेल एनिमिया परिक्षणका लागि बिरामीलाई यसअघि जिल्ला बाहिर जानुपर्ने भएता पनि अब प्रतिष्ठानमा नै चेकजाँच हुने भएपछि बिरामीलाई उपचारमा सहजता हुने उहाँले बताउनु भयो । प्रतिष्ठानका रजिस्ट्रार प्रा. लम्सालले सिकलसेल एनिमिया भए नभएको ५ हजार जना बालबच्चादेखि वृद्धसम्म सबैको चेकजाच गरेर हालको अबस्था बारे जानकारी लिन सकिने र प्रतिष्ठान आफैमा बिश्व बिद्यालय पनि भएकाले भबिष्यमा अध्ययन अनुसन्धान गर्न सहजता हुने बताउनु भयो । साथै उहाँले सिकलसेल एनिमिया रोकथाम र नियन्त्रणको लागि निति तर्जुमा गर्न पनि यो कार्यले सहजता हुने अपेक्षा गर्नु भयो ।

विभिन्न अध्ययन अनुसन्धानमा प्लाज्मोडियम फ्याल्सिपेरम मलेरिया प्रचुर मात्रामा हुने ठाउँमा सिकलसेल ऐनिमिया देखिएको छ ।

वैज्ञानिकहरुले यसलाई कसरी एक आपसमा सम्बन्धित गरेका छन् भने शरीरले प्लाज्मोडिम फ्याल्सिपेरम मलेरियाबाट बच्नको लागि हाम्रो मानव शरीरको रक्तकोष हसियाको आकारमा परिवर्तन भई सिकलसेल जस्तो आकारमा बदलिन्छ । अर्थात ‘सिकल’ भनेको हसियाको आकार र ‘सेल’ भनेको रक्त कोषिका हो । त्यसैले यसको आकार परिवर्तन भइ हसियाको आकारमा बदलिन्छ ।

किनभने हसिया आकारको सिकलसेल भएको रक्तकोषिकालाई फ्याल्सिपेरम नामक मलेरियाले आक्रमण गर्न सक्दैैन । त्यो मलेरियाको प्रतिरोधको लागि उक्त कोषिकाले आकार परिवर्तन गर्दछ ।

आकार परिवर्तन हुने भएकैले यो सिकलसेल एनिमिया मलेरिया निश्चित जनसंख्या भएका ठाउँहरुमा मात्र देखिने गरेको पाइएको छ।

यो खानपानको कारणले हुँदैन । यो पूर्णतया वंशाणुगत हो । यो रोगमा यदि बुवा-आमालाई सिकलसेल छैन भने तिनका छोराछोरीमा सिकलसेल कुनै हालतमा पनि हुँदैन । तर, यदि दुबैमा छ भने उनीहरुबाट जन्मने बालबालिकामा पनि देखा पर्ने गर्छ ।

अहिलेसम्म देखिएकामध्ये दाङ, कपिलवस्तुदेखि महाकालीसम्मका थारु समुदायका मानिसहरुमा यो रोग फैलिएको छ । यो किन भइरहेको छ भनेर यकिन भन्न गार्‍हो छ । किनकी नेपालमा यस सम्बन्धी विस्तृत अध्ययन अनुसन्धान नै भएको छैन । सबै थारु समुदायमा पनि यसबारे अनुसन्धान गरिएको छैन ।

यसका रोगी उपचारका लागि आएमात्र रोगको पहिचान गरी उपचार गर्ने गरिन्छ । जो रोगवहाक हो, जसको जीन खराब छ तर ऊ स्वस्थ्य छ, त्यस्ता जनसंख्या नेपालमा धेरै छन् । तिनीहरुमै रोग बढी देखिएको छ ।

सिकलसेलको लक्षण

सिकलसेल भएकाहरुमा सबैभन्दा पहिले रगत अल्पता हुन्छ । उनीहरुको शरीरबाट रगत कम हुँदै जान्छ ।हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ्ग धेरै दुख्ने गर्छ । धेरै पीडा हुन्छ । साथै जण्डिस पनि देखा पर्छ । पेट दुख्छ ।

जाडोयाममा प्रायः बालबालिकालाई निमोनिया हुने गर्छ । कतिपय बालबालिकामा सिकलसेल रोग पहिचान हुनु पूर्व नै निमोनियाबाट मर्ने गर्छन् । ५० प्रतिशत बालबालिका सिकलसेल पहिचान नहुँदै निमोनियाबाट मर्ने गर्छन् ।

त्यस्तै पित्त थैलीको पत्थरी, कलेजो सुन्निने, फियो सुन्निने जटिलता उत्पन्न हुन्छ । यसले आँखामा समेत असर पार्छ ।

समग्रमा थारु जातीका किशोर किशोरीमा यी लक्षण देखा पर्ने हुँदा उनीहरुमा यी लक्षण देखा परे चाँडो भन्दा चाँडो रोगको पहिचान गरी उपचार गर्नु आवश्यक छ ।

सिकलसेलको उपचार

यसको यकिन उपचार त छैन । तर, समयमा रोगको उपचार भयो, औषधि भयो भने यो रोग चाँडै निको हुन सक्छ । त्यस्तै यस्ता रोगका विरामीको पाचन शक्ति कमजोर हुने भएकाले बच्चाहरुलाई दुई-दुई वर्षमा निमोनिया विरुद्धको खोप दिनुपर्छ ।

उनीहरुलाई बेला-बेलामा रगत चढाउनु पर्ने हुँदा समय-समयमा रगत जाँच गर्नुपर्छ ।

बच्चाहरुलाई निमोनियाबाट बचाउनु पर्ने हुँदा पेनेसिलिनको चक्की दिने, रगत बढाउन फोलिक एसिड दिइन्छ ।

धेरै गर्मीको मौसममा यस्ता रक्त कोषिका हसिया आकारमा परिणत हुने गर्दछ । त्यसैले धेरै चिसो तथा तातोबाट पनि रोगीलाई बचाउनु पर्छ ।

धेरै ज्वरो आएमा पनि विरामीलाई यो रोगले च्याप्ने हुँदा चिकित्सकहरुले धेरै पानी पिउन विरामीलाई परामर्श दिने गर्दछन् । त्यस्तै झोलिलो, पासिलो खानेकुरा खान सुझाव दिइन्छ । धेरै समस्या भएमा तुरुन्त नजिकैको स्वास्थ्य चौकी अथवा स्वास्थ्य संस्थामा गएर जचाउनु पर्दछ । यतिमात्र गर्न सकेपनि धेरै विरामीको ज्यान बच्न सक्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ