अख्तियार आयुक्त सिलवाल आजबाट अवकाशमा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल अनिवार्य अवकाशमा गएका छन्। ६५ वर्षे उमेर हदका कारण उनी अनिवार्य अवकाशमा गएका हुन्। उच्च अदालतका कामु मुख्य न्यायाधीशबाट अख्तियार पुगेका सिलवाल दुई वर्ष बढी काम गरेर अवकाशमा गएका हुन्। उच्चमा ६३ वर्षसम्म जागिर हुने भएपछि २ वर्ष बढाउन उनी अख्तियारमा पुगेका थिए। सोमबार उनी अख्तियारबाट बिदाई हुँदैछन्।
२०७७ माघमा अख्तियारको आयुक्त भएर गएका सिलवाल ५ वर्ष काम गरेर अख्तियारबाट बिदा भएका छन्। उनीसँगै नियुक्त भएका प्रमुख आयुक्त प्रेमकुमार राई र आयुक्त जयबहादुर चन्द अर्को माघसम्म पदमा रहने छन्। सिलवाल भने १ वर्ष अघि नै घर गएका हुन्।
सिलवाल तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कोटाबाट अख्तियार पुगेका थिए। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुऱ्याएर उनी अवकाशमा गएका हुन्। उक्त भ्रष्टाचार मुद्दामा चोलेन्द्र निकट राष्ट्रिय समावेशी आयोगका पूर्व अध्यक्ष रामकृष्ण तिमिल्सिना पनि डामिएका छन्।
अख्तियारमा अब प्रमुख आयुक्त राईसहित आयुक्तहरू चन्द, हरि पौडेल र सुमित्रा अमात्य रहेका छन्। आयुक्त सिलवालको ठाउँ खाली भएको छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस