‘जेन-जी’ आन्दोलनले पनि नचेतेका महालेखा नियन्त्रक शोभाकान्तद्वारा मनपरी सरूवा 


काठमाडौं। महालेखा नियन्त्रक शोभाकान्त पौडेलले लेखाका कर्मचारीको मनपरी सरूवा गर्दै आएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि माथ खुवाउने गरी शोभाकान्तले लेखाका कर्मचारीको मनपरी र जथाभावी सरूवा गर्दै आएका हुन्। ‘जेन-जी’ आन्दोलनले पनि नचेतेका महालेखा नियन्त्रक शोभाकान्तले मनपरी सरूवालाई निरन्तरता दिँदै आएका छन्।

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल निकट भएर जथाभावी सरूवा गर्दै आएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ राष्ट्रिय योजना आयोग पुगेका छन्। एकनारायण निकट त्यस्तै विवादास्पद सचिव शोभाकान्तको भने ‘जेन-जी’ युगमा पनि सरूवा खेती जारी रहेको छ। जेन-जीहरूले सामान्यको सरूवा छानबिनको माग राखेपछि पन्थलाई हटाइएको थियो। अहिले महालेखाको सरूवा पनि छानबिन दायरामा ल्याउनु पर्ने ‘जेन-जी’हरूले आवाज उठाउन थालेका छन्।

देशमा जेन-जी आन्दोलन ठूलो परिवर्तन ल्याइसक्दा पनि मलेनिका र शोभाकान्तले लेखाको सरूवालाई मासु व्यापारीले जस्तो भाग लगाइरहेको आरोप लाग्न थालेको छ। उनले आकर्षक कार्यालयहरू आफ्ना‌ मान्छेहरुलाई भाग लगाएर दिने गरेको आरोप लाग्न थालेको हो। शोभाकान्तले सुध्रिने छाँट नदेखाएको भन्दै आलोचना हुन सुरू भएको छ।

सोमबार मात्र शोभाकान्तले लेखाका ४ जना उपसचिव र १६ जना लेखा अधिकृतको सरूवा गरेका छन्। उनले फागुनमा मात्र दुई वर्ष पुग्ने कोष तथा लेखा नियन्त्रक कार्यालय, सुनसरीका प्रमुख कोष नियन्त्रक निर्मल न्यौपानेलाई अवधि नै नपुगी झिकेका छन्। न्यौपानेलाई राष्ट्रिय योजना आयोगमा सरूवा गरेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लेखा उपसचिव गोकुल बास्तोलालाई कोलेनिका, सुनसरी पठाइएको छ। गोकुल उद्योगमा गएको वर्ष दिन नपुग्दै सुनसरी पठाइएको हो।

लेखाका कर्मचारी सरूवा सम्बन्धी मापदण्ड अनुसार एक कार्यअवधि (दुई वर्ष) नपुगी लेखाका कर्मचारी चलाउन पाइँदैन। तर, शोभाकान्तले कानुनको खिल्ली उडाउँदै अवधि नपुग्दै निर्मललाई झिकेर गोकुललाई सुनसरी पठाएका हुन्।

शोभाकान्तले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का लेखा उपसचिव हिमलाल तिवारीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय योजना आयोगका लेखा उपसचिव उदयराज भट्टराईलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सारेका छन्।

निर्वाचन आचारसंहिता लाग्ने डरले शोभाकान्तले हतारहतार विवादास्पद सरूवा गर्दै आफ्ना गुन लगाउनु पर्ने मानिसको विधि प्रक्रिया मिचेर किस्ताबन्दी सरूवालाई निरन्तरता दिइरहेका छन्। लेखा उपसचिवका हकमा कतै अवधि पुगे पनि सरूवा नगर्ने र‌ कतै दुई वर्ष नपुग्दै सरूवा गर्ने र कामकाज शब्द लेख्ने ‘काइते’ काईदा शोभाकान्तले खुवै प्रयोगमा ल्याएका छन्। यसबाट महालेखा नियन्त्रक कार्यालयमा सुशासनले हावा खाएको प्रष्टै देखिन्छ। यसपटक बेमौसमी चारजना लेखा उपसचिवको सरूवा गरेका शोभाकान्तले दुई बर्ष पुगेका स्वास्थ्य मन्त्रालय, कोलेनिका झापा, चितवन, कास्की, रूपन्देही आदि जस्ता निकाय आफू निकट व्यवस्थापनका लागि राखेको आरोप छ। शोभाकान्तले कार्यविधि मिचेर गरेको सरूवामा अन्य दुई सहमहालेखा नियन्त्रकलाई सुईकोसम्म नदिई राजश्वबाट लेखामा आएका कनिष्ठ उपसचिव विष्णुहरि रेग्मी र आफ्ना ‘एस-म्यान’ सहमहालेखा नियन्त्रक दीपक लामिछानेलाई प्रयोग गर्ने गरेको महालेखा कै अधिकारीहरू सुनाउँछन्। ‘पहिला तीनै जना सहमहालेखा नियन्त्रकसँग एक चरणको सल्लाह गरेर सरूवा गर्ने चलन थियो। अहिले त सरूवामा महालेखा नियन्त्रकको एकलौटी मन खुशी छ। एकै जनाको ४ ठाउँमा सरूवा भएको छ। दिनदिनै सरूवा भो कुरै नगरौं।’, सहमहालेखा नियन्त्रकहरूले यस्तो गुनासो राख्ने गरेको अर्थ मन्त्रालयमा चर्चा हुने गरेको छ।

पछिल्लो समय कोलेनिका सुनसरीमा सरूवाको लागि निकै जनाको दौडधुप हुन थालेको र ठूलो ‘सोर्स-फोर्स’ आउने ठानेर उनले अवधि नै नपुग्दै गोकुलको सरूवा गरेको मलेनिकाका अधिकारीहरू सुनाउँछन्। मलेनिकाकै रेजिना कोईराला न्यौपाने, हिरण्यप्रसाद पराजुली, झापा कोलेनिकाका सूर्य भण्डारी, रक्षा मन्त्रालयका गायत्रीमणि खनाल, भौतिक मन्त्रालयका मधुकुमार पोखरेल, योजना आयोगका उदय भट्टराई आदिको सुनसरी कोलेनिका जानको लागि तीव्र प्रतिस्पर्धा रहेकोमा नसोचेका पात्र गोकुलको सरूवा भ‌एको मलेनिका स्रोत बताउँछ।

काठमाडौं उपत्यकाकै ठूलो कोलेनिका बबरमहल बसेर कोलेनिकाको स्वाद थाहा पाएका गोकुललाई  शोभाकान्तले अवधि समेत नपुग्दै सुनसरी कोलेनिकाको पुरस्कार दिँदा अरू प्रतिष्पर्धीहरू जिल्लाराम भएका छन्। लोकसेवा आयोगबाट योजना आयोग पुगेका उदय भट्टराईलाई गोकुलको ठाउँमा पठाइएको छ। मलेनिकाको सुधार भन्दा यस्तै विवादित धन्दा चलाएर बसेका शोभाकान्तले आफ्नो कार्यकक्ष बाहिर निजामती पोशाक नलाउनेलाई प्रवेश निषेधको सूचना टाँसेरसेर लेखा प्रणालीको सुधारको गुड्डी हाक्ने गरेका छन्।  यति सम्मकी जिल्ला-जिल्लामा हुने गोष्ठीमा समेत पोशाक नलाउनेलाई हकार्ने गरेकाे चर्चा छ। चितवनमा भएको कार्यक्रममा शोभाकान्तले पोशाक नलाउनेको भत्ता काट्ने भनेपछि सहमहालेखा नियन्त्रक र लेखाका उपससचिवबीच खासखुस चलेको थियो।

यसैगरी १६ जना लेखा अधिकृतहरूको समेत सरूवा वा कामकाजको लागि खटाइएको लिस्ट सार्वजनिक भ‌एको छ। उपसचिव जस्तै यसमा पनि कसैको अवधि नपुगी तानेको र कसैलाई मन खुशी पेलेर सरूवा भ‌एको भन्ने गुनासो रहेको मलेनिकाको कर्मचारी प्रशासन शाखामा चर्चा छ। यस किसिमका सरूवामा अर्थ मन्त्रालयले निगरानी गर्नुपर्ने र शोभाकान्तले गरेका यस अघिका यस्तै अनियमित सरुवाको छानबिन हुनुपर्ने ‘जेन-जी’ कर्मचारीको माग रहेको छ।

शक्तिका पुजारी शोभाकान्तको मनलाग्दी सरूवा

लेखा समूहको कर्मचारीको पदस्थापन, सरूवा तथा काज व्यवस्थापन सम्बन्धी मापदण्ड २०८१, मा एक कार्य अवधि पूरा गरिसकेको कर्मचारीलाई सरूवा गर्ने व्यवस्था छ। तर, शोभाकान्तले लेखाको उपसचिवमा नाम निकालेर कान्ति बाल अस्पतालमा सरूवा भएका विष्णुहरि रेग्मीलाई कान्तिमा हाजिर नै नभइ महालेखा नियन्त्रक कार्यालयको कर्मचारी प्रशासन शाखा प्रमुख बनाएका छन्। रबिन कोइराला, निरज केसी, भुवन काफ्ले जस्ता लेखाका वरिष्ठ उपसचिवहरू बसेको मलेनिकाको कर्मचारी प्रशासन शाखामा उपसचिव भएको १ वर्ष पनि नपुगेका रेग्मीलाई शोभाकान्तले राखेका हुन्। ।

निजामती सेवा नियमावली, २०५० को नियम ३९ कुनै पनि निजामती कर्मचारी सरूवा भएको कार्यालयमा रमानापत्रमा तोकिएको समयभित्र हाजिर हुनु जानु पर्नेछ। कुनै पनि निजामती कर्मचारीको सरूवा भएको कार्यालयमा हाजिर नभई अर्को पद वा कार्यालयमा सरूवा गरिने छैन। यसरी निर्धारित समयभित्र हाजिर हुन नजाने निजामती कर्मचारीलाई विभागीय कारबाही हुनेछ भन्ने उल्लेख छ। तर, उक्त नियमावलीविपरीत कान्तिमा सरूवा भएर पनि हाजिर नभएका रेग्मीलाई शोभाकान्तले विभागीय कारबाही गर्न छाडेर उल्टै पुरस्कृत गरेका हुन्। तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्देशनमा शोभाकान्तले रेग्मीलाई मापदण्ड मिचेर कर्मचारी प्रशासन शाखा सुम्पिएका हुन्। उक्त कदमले शोभाकान्तको सुशासनले पनि हावा खाएको छ।

लेखा उपसचिव भएको एक वर्ष पुगेका मधुसुधन पौडेल ‘दोमासे’लाई शोभाकान्तले सीधै परराष्ट्र मन्त्रालय पठाएका हुन्। शक्तिका पुजारी शोभाकान्तले तत्कालीन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलका निजी सचिव भएकै कारण सरूवा मापदण्डलाई ‘डस्बिन’मा हालेर मधुसुधनलाई परराष्ट्र पठाएका हुन्। शोभाकान्तले मापदण्ड कुल्चेर उपसचिव भएको एक वर्षमै परराष्ट्रमा गरेको मधुसुधनको उक्त सरूवाको छानबिन गर्न ‘जेन-जी’हरूले आवाज उठाउन थालेका छन्।

महालेखा नियन्त्रक कार्यालय (मलेनिका)को कोष व्यवस्थापन तथा प्रणाली विकास शाखा प्रमुख (उपसचिव) परराष्ट्र मन्त्रालय जाने गरेका थिए। कोष व्यवस्थापन तथा प्रणाली विकास शाखा प्रमुख हुँदै विगतमा यदुनाथ भट्टराई, भेषप्रसाद भुर्तेल परराष्ट्र मन्त्रालय पुगेका थिए। शोभाकान्तले मापदण्ड मिच्दा रामचन्द्र शर्मा भने परराष्ट्र जान पाएनन्।

शोभाकान्तले मापदण्ड कुल्चेर लेखा उपसचिव मुरारी निरौलालाई कान्ति बाल अस्पताल सरूवा गरे। कान्तिमा पठाइएका रेग्मीलाई कर्मचारी प्रशासन शाखा सुम्पिएर शिक्षा मन्त्रालयमा गएको ६ महिना पनि नपुगेका निरौलालाई शोभाकान्तले पेलेर कान्ति बाल अस्पताल पठाएका हुन्।

उपसचिव रेग्मी कान्ति बाल अस्पताल जान नमानेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट निरौलालाई कान्तिमा पठाइएको हो। एक वर्षमै कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै शिक्षा मन्त्रालय पुगेका निरौलालाई ६ महिना नपुग्दै फेरि शोभाकान्तले कान्तितिर लखेटेका हुन्। शोभाकान्तको अन्यायपूर्ण सरूवाको शिकार उपसचिव निरौला भएका छन्।

दुई वर्ष बढी लोक सेवा आयोग बसेका लेखा उपसचिव विष्णुहरि बराललाई बल्लतल्ल झिकेर शोभाकान्तले हिरा न्यौपानेलाई लोक सेवा पठाएका छन्। न्यौपाने लोक सेवा पुगेपनि बराल भोजपुरतिर बरालिन पुगेका छैनन्। लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले हिरालाई आयोग पठाउन नभनेको भए शोभाकान्तले रेजिना कोइरालालाई पठाउन खोजेका थिए। शोभाकान्तले गरेको एउटा न्यायिक सरूवा भनेको हिराको मात्र हो। उपसचिव हुनेबित्तिकै महालेखा नियन्त्रक कार्यालयमा डेरा जमाएर बसेका बराल लोक सेवा आयोग दुई वर्षभन्दा बढी बसेर पनि खटाएको ठाउँमा गएका छैनन्। सिन्धुली कोलेनिका सरूवा भएका रबिन कोइराला पनि मलेनिकातिरै हल्लिएर बसेका छन्। तर, शोभाकान्तलाई त्यसले केही फरक परेको छैन। रबिनलाई पनि एक वर्ष नपुग्दै शोभाकान्तले सडकबाट मिलेनिका तानेर रामचन्द्र शर्मालाई पठाएका थिए।

शोभाकान्तले आफ्ना बालसखा विष्णुहरि वाग्लेको सरूवा पनि त्यस्तै गरेका छन्। भेरी बब‌ई सिचाई, कन्चनपुर सडक, रानी जमरा सिचाई आयोजना, अख्तियार हुँदै त्रिपुरेश्वर कोलेनिका पुगेका वाग्लेलाई शोभाकान्तले गृह पठाएका हुन्। शोभाकान्तको अर्को अनियमित सरूवा रूक्माङ्गत अर्यालको हो। लेखा समूहकोको उपसचिव भएपछि सल्यान कोलिनकाबाट वर्ष दिनमा कपिलवस्तु पुगेका उनी त्यहाँ एकवर्ष पनि नपुगी त्रिपुरेश्वर कोलेनिका आएका हुन्। बिष्णु पौडेल र अख्तियारको ‘फोर्स’मा शोभाकान्तलाई प्रयोग गरेर अर्याल त्रिपुरेश्वर आएको चर्चा छ।

तत्कालीन अर्थ सचिव राजन खनालले अर्को चूडामणि शर्माको संज्ञा दिएका शोभाकान्त एकनारायणको ‘ज्याक’ लगाएर महिना दिनमै गण्डकी प्रदेशबाट सिंहदरबार फर्किएका हुन्। सिंहदरबारमा साँझपख भ्रष्टाचार मुद्दामा हाल पुर्पक्षका लागि थुनामा पुगेका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदिप अधिकारीसँग नारिएर हिँड्ने गरेका शोभाकान्त सुशासनको गुड्डी हाँक्ने गर्छन्। प्रदिपलाई जोगाउन एकनारायणसँग मिलेर गठबन्धन गरेका शोभाकान्त महालेखामा बसेर मनपरी गरिरहेका छन्।

प्रदिपलाई जोगाउन एकनारायणसँग मिलेर गठबन्धन गरेका शोभाकान्त महालेखामा बसेर मनपरी गरिरहेका छन्। प्रदिपको मोवाइलसहितका डिभाइस नियन्त्रणमा लिएर गहन अनुसन्धान गरिरहेको अख्तियारलाई प्रदिपका गुह्यकुरा जानकारीमा लिन यी शोभाकान्त पनि एउटा आधार हुन सक्ने यी दुईबीचको स्वार्थको सम्बन्ध रहेको आशंका गर्नेहरूको बुझाइ छ। संघीय निजामती सेवा कानुन ल्याउन नदिन सचिवमा बढुवा भएर पनि प्रदेश नगई एकनारायणसँग हुल बाँधेर हिँडेका उनी ‘जेन-जी’हरूलाई समेत चुनौती दिन थालेका छन्। संघमा दरबन्दीभन्दा बढी सचिव रहेकाले शोभाकान्तलाई मधेश प्रदेश पठाउन ‘जेन-जी’हरूको दबाब छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ