मुख्यसचिवको ‘रेस’मा रहेका बुर्लाकोटी र बज्राचार्यको सरूवा, राउत निर्वाचन आयोगमा


काठमाडौं। मुख्यसचिवको ‘रेस’मा रहेका मधुसुदन बुर्लाकोटीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरूवा गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयमा रहेका बुर्लाकोटीले राम्रै मन्त्रालय पाएका छन्। बुर्लाकोटी यसअघि छोटो समयमा वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेर तथ्याङ्कतिर पुगेका थिए। फेरि उनी उद्योग सचिव बनेर आएका छन्। राष्ट्रिय तथ्याङ्क कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को अतिरिक्त समूहमा रहेका सचिव डा. कमलप्रसाद पोखरेललाई सरूवा गरिएको छ।

मुख्यसचिवको ‘रेस’मा रहेकी खानेपानी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य नेपाल ट्रष्टको कार्यालय पुगेकी छिन्। विवादित सचिव रामआधार साह नेपाल खानेपानी मन्त्रालय आएका छन्। बज्राचार्य र साह एउटै ठाउँमा दोहोऱ्याएर पुगेका हुन्।

उद्योग सचिव कृष्णबहादुर राउत निर्वाचन आयोग सरूवा भएका छन्। निर्वाचन आयोगमा महादेव पन्थले प्रभावकारी काम नगरेको भनेर आयोगका पदाधिकारीले गुनासो गरेपछि उनी निर्वाचन आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा पुगेका हुन्। उद्योगमा राम्रै काम गरिरहेका राउतलाई निर्वाचन गराउन पठाइएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सचिव डा. गोविन्दप्रसाद शर्मा वन तथा वातावरण मन्त्रालय पुगेका छन्। पशुपन्छीतिरका दिपककुमार खराल वनमा जान जोडबल गरिरहेपनि अवकाशको मुखमा रहेकाले शर्मालाई पठाइएको हो। वन सचिव राजेन्द्रकुमार मिश्र कृषि सचिवको भूमिकामा सरूवा भएका छन्।

हालै सचिवमा बढुवा भएका राजेन्द्रकुमार पौडेल कोशी प्रदेशको प्रमुख सचिव बनेर गएका छन्। उनलाई कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ। कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा भएर आएपछि उक्त ठाउँ खाली थियो। उक्त ठाउँमा सुनसरीका पौडेल प्रमुख सचिव भएर गएका हुन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ