वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएपछि ‘जेन-जी’हरू आक्रोशित

श्रम सचिव कर्णको टिममाथि आर्थिक चलखेलको आरोप 


काठमाडौं। वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएपछि ‘जेन-जी’हरू आक्रोशित भएका छन्। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क एकैपटक ३ हजार बढाएपछि ‘जेन-जी’हरू आक्रोशित भएका हुन्।

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सयबाट ९ हजार पाँच सय रुपैयाँ पुऱ्याएपछि ‘जेन-जी’ हरू श्रम मन्त्रालयसँग रुष्ट भएका छन्। ‘जेन-जी’हरू श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्कर कर्णको भूमिका लिएर पश्न उठाएका छन्।

केपी ओली नेतृत्वको सरकारमा श्रममन्त्री शरदसिंह भण्डारी र सचिव कर्ण भएको समयमा वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएको पाइन्छ। त्यो बेला विवादमा पर्ने भएपछि मुख्यसचिवको दौडमा रहेका कर्णकै सक्रियमा उक्त शुल्क बृद्धिको निर्णय ‘होल्ड’मा राखिएको श्रम मन्त्रालय कै अधिकारीहरू बताउँछन्। मुख्यसचिवको गेम समाप्त भएपछि कर्ण कै सक्रियतामा बृद्धि भएको शुल्क लागू भएको आरोप लागेको छ।

‘जेन-जी’ आन्दोलनको जगमा बनेको सरकार त्यसमाथि पनि प्रधानमन्त्री सुशीला कार्कीले नै नेतृत्व गरेको मन्त्रालय ‘श्रमिकमारा’ काममा लागेपछि ‘जेन-जी’हरू क्रुद्ध छन्। प्रधानमन्त्री कार्कीलाई विवादमा ल्याउन सचिव कर्णले रचेको जाल भन्दै उक्त स्वास्थ्य परीक्षण शुल्कमा भएको आर्थिक चलखेलको छानबिन गर्न ‘जेन-जी’हरूको माग छ। निजी स्वास्थ्य संस्थालाई दिइएको वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा गरिब श्रमिकको ढाँड सेक्ने गरी शुल्क बृद्धि भएपछि ‘जेन-जी’हरू विरोधमा उत्रिएका हुन्।

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बुद्धि गर्दा श्रम सचिव कर्णसहितका कर्मचारी घूस खाएको आरोप लागेको छ। उक्त सार्वजनिक आरोप सुदन गुरुङ समूहकी जेन-जी अगुवा सुप्रिया शाहीले लगाएकी छिन्। जेन-जी अगुवा शाही भन्छिन्, ‘उहाँहरूले ५/६ करोड रुपैयाँ पैसा खाएर नै स्वास्थ्य परीक्षण शुल्क बृद्धि गराएको जानकारी र प्रमाण प्राप्त भएको छ। यो प्रकारको क्रियाकलाप गर्ने मन्त्रालयको विरूद्धमा उत्रिन हामी बाध्य भएका छौं।’,

श्रम मन्त्रालयले गठन गरेको एक अध्ययन समितिले बीमाबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न सिफारिस गरेको थियो। उक्त प्रतिवेदनलाई ‘डस्बिन’मा हालेर बिचौलियाहरूसँगको मिलेमतोमा स्वास्थ्य परीक्षण शुल्क बढाइएपछि ‘जेन-जी’हरू विरोधमा उत्रिएका हुन्।

तत्कालीन मुख्यसचिव एकनारायण अर्याल, श्रम सचिव कर्ण र कैलाश खड्काको मिलेमतोमा मजदुरको ढाँड सेक्ने गरी स्वास्थ्य परीक्षण शुल्क बढाइएको आरोप लाग्दै आएको छ। तत्कालीन स्वास्थ्यमन्त्री शरदसिंह भण्डारीलाई समेत प्रभावित पारेर उनीहरूले चर्को शुल्क बृद्धि गरेको श्रम मन्त्रालयमै चर्चा सुनिन्छ। मलेसियाको बायोमेट्रिकमा र वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिण्डिकेट कायम गर्ने खड्काले तत्कालीन मुख्यसचिव अर्याल र श्रम सचिव कर्णलाई सेटिङ हानेपछि श्रमिक लुट्ने निर्णय भएको ‘जेन-जी’ अगुवाहरूको दाबी छ। खड्का  आफैमा विवादास्पद व्यक्ति हुन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बृद्धि गर्दा ‘जेन-जी’हरूले घूस खाएको भनेर लगाएको आरोप श्रम सचिव कर्णले ठाडै अस्वीकार गरेका छन्। प्रमाण भए अनुसन्धानका लागि तयार रहेको उनको प्रतिक्रिया छ। नेपालमा जसले जस लाई जे आरोप लगाएपनि हुन्छ भन्दै सचिव कर्णले प्रमाण ल्याउन ‘जेन-जी’हरूलाई चुनौती दिएका छन्। तर, सुदन गुरूङसहितका ‘जेन-जी’ अगुवाको समूहले वैदेशिक रोजगारीमा जाने कामदारले स्वास्थ्य परीक्षण शुल्क बृद्धिको छानबिन गर्न माग राखिरहेको छ। मन्त्रालय घेराउ गर्ने उनीहरू तयारी रहेको पाइन्छ।

वैदेशिक रोजगार व्यवसायी संघले पनि बृद्धि भएको उक्त स्वास्थ्य परीक्षण शुल्क फिर्ता लिन माग गरेको छ। ठूला अस्पतालमा ५ हजार रुपैयाँ नपर्ने स्वास्थ्य परीक्षण शुल्क केही निजी स्वास्थ संस्थालाई लाभ पुग्नेगरी पुग्नेगरी ९ हजार ५ सय रुपैयाँ स्वास्थ्य परीक्षण शुल्क तोकेको भन्दै संघले समेत विरोध जनाएको हो। यो विषय निकै पेचिलो बन्ने देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ