अख्तियारको छानबिनमा रहेका तिवारी सिडिओको जिम्मेवारीमा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका बद्री तिवारी सिडिओ कै जिम्मेवारीमा रहेका छन्। तिवारीको जिम्मेवारीले गृह मन्त्रालय र अख्तियारलाई समेत गिज्याइरहेको छ।
अख्तियारले अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईसमेत ७ विरुद्ध विशेष अदालतमा हालेको भ्रष्टाचार मुद्दामा तिवारीको विषयमा छुट्टै अनुसन्धान भइरहेको जनाएको छ। गृहमन्त्री रमेश लेखकको निजी सचिव हुँदा प्रतिवादी भट्टराईसँग तिवारीको अस्वभाविक सम्पर्क रहेको अख्तियारको दाबी छ। बदनियतपूर्वक भिजिट भिसामा सेटिङ गरी विदेश पठाउँदा गैरकानुनी रकम लेनदेन भएको विषयमा अख्तियारले तिवारीविररूद्ध अनुसन्धान गरिरहेको जनाएको छ। उनै तिवारी अहिले म्याग्दीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) जस्तो महत्त्वपूर्ण जिम्मेवारी रहेका छन्। यसले गृह प्रशासनको सुशासनले हावा खाएको देखिन्छ।
भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्दा भट्टराईको गृह मन्त्रालयले तुरुन्तै जिम्मेवारी खोसेको थियो। तिवारीको हकमा भने गृह मन्त्रालय मौन छ। भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखक, सचिव गोकर्णमणि दुवाडी, प्रशासन हेर्ने सहसचिव, छवि रिजाल, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल, शान्ति सुरक्षा महाशाखा प्रमुख रामचन्द्र तिवारी, गृहमन्त्री लेखकका स्वकीय सचिव जनक भट्ट, सचिवालयका कर्मचारी र अन्य राष्ट्र सेवकहरू संलग्नताको सम्बन्धमा अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ। उक्त प्रकरणमा संलग्न तिवारीबन्धु अहिले महत्त्वपूर्ण जिम्मेवारी रहेका छन्।
अख्तियारले मुद्दा लाने निश्चित जस्तै भएका बद्री म्याग्दीको सिडिओको महत्त्वपूर्ण र संवेदनशील जिम्मेवारीमा रहेका छन्। रामचन्द्र सम्बन्धित अध्यागमन विभागको महानिर्देशकको भूमिकामा छन्। तिवारी बन्धुको जिम्मेवारी गृह मन्त्रालयले तत्काल पुनर्विचार गर्नु पर्ने देखिन्छ।
ट्याग : #बद्री तिवारी



तपाईको प्रतिक्रिया दिनुहोस