रक्षा, परराष्ट्र र खानेपानी मन्त्रालय प्रधानमन्त्री कार्कीसँगै, यी हुन् कार्की नेतृत्वको सरकारका मन्त्रीहरू
काठमाडौं। सुशीला कार्की नेतृत्वको मौजुदा मन्त्रिपरिषद् विस्तार भएको छ। शुक्रबार मात्र श्रम, वन, भूमि, महिला जस्ता मन्त्रालयले नयाँ मन्त्री पाएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले मौजुदा मन्त्रिपरिषद् विस्तार गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी राजेन्द्र सिंह भण्डारीलाई दिएकी छिन्। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय कुमार इङनाम, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय श्रद्धा श्रेष्ठ र वन तथा वातावरण मन्त्रालय माधव चौलागाईंले पाएका छन्। भूमिबाहेकका मन्त्रालयहरू यसअघि प्रधानमन्त्री कार्कीसँगै रहेका थिए। प्रधानमन्त्री कार्की नेतृत्वको मौजुदा सरकार १४ सदस्यीय बनेको छ।
प्रधानमन्त्री कार्कीसँग रक्षा, परराष्ट्र र खानेपानी मन्त्रालय रहेका छन्। भूमि मन्त्रालय हेरिरहेका अनिलकुमार सिन्हालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ। सिन्हालाई पर्यटनसहित उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय समेत हेर्ने जिम्मेवारी तोकिएको हो।

अर्थ; सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय रामेश्वर खनाल र ऊर्जा, जलस्रोत तथा सिंचाइ; भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङले लिइरहेका छन्। गृह मन्त्रालय ओमप्रकाश अर्याल,शिक्षा, विज्ञान तथा प्रविधि महावीर पुन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सुधा शर्मा गौतमले सम्हालिरहेका छन्।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारीमा मदनप्रसाद परियार र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा जगदीश खरेल रहेका छन्। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता हुन्।
पछिल्लो मन्त्रिपरिषद् विस्तारलाई लिएर ‘जेन-जी’ अगुवाहरू असन्तुष्ट बनेका छन्। प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र ‘जेन-जी’ अगुवा जेम्स कार्की मिलेर सेटिङमा मन्त्री बनाएको भन्दै ‘जेन-जी’ अगुवाहरू रुष्ट भएका हुन्।
मन्त्रिपरिषद् विस्तार हुँदा ‘जेन-जी’ अगुवाहरू छुट्टै बैठक राखेर सरकारको विरोध गरिरहेका थिए। सरकारले चुनाव नगराउन खोजेको भन्दै उनीहरू रूष्ट देखिएका हुन्।
क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस