पूर्वसचिव नरेन्द्रकुमार श्रेष्ठकी छोरी श्रद्धा बनिन् महिला मन्त्री


काठमाडौं। ताप्लेजुङकी श्रद्धा श्रेष्ठ ‘जेन-जी’ सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बनेकी छिन्। सरकारी वकिलको सर्वाेच्च पद नायब महान्यायाधिवक्ता हुँदै सामान्य प्रशासन मन्त्रालयको सचिव बनेका नरेन्द्रकुमार श्रेष्ठकी छोरी श्रद्धा सुशीला कार्की नेतृत्वको सरकारमा महिला मन्त्री बन्न सफल भएकी हुन्।

नेपाल पर्यटन बोर्डको वरिष्ठ प्रबन्धकबाट राजीनामा दिएर मन्त्री बनेकी श्रद्धा क्षमतावान महिला हुन्। तर, उनी पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको सिफारिस र प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको सेटिङमा मन्त्री बनेको चर्चा छ।

श्रद्धाका बाबु नरेन्द्रकुमार श्रेष्ठ राजाको प्रत्यक्ष शासनमा नायब महान्यायाधिवक्ता (सरकारी वकिलको सचिव)बाट सीधै सामान्य प्रशासन मन्त्रालयको सचिव बनेका थिए। नरेन्द्र २०५९ बैशाख १९ गतेदेखि २०६० असार २० गतेसम्म १४ महिना सामान्य प्रशासन मन्त्रालयको सचिव बनेर सरकारी सेवाबाट अवकाश भए। राजा  ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा बाबु नरेन्द्रलाई जबर्जस्ती सामान्य सचिव बनाए जस्तै ‘जेन-जी’ सरकारमा छोरी श्रद्धालाई पनि दबाबमा मन्त्री बनाएको चर्चा चुलिएको छ।

श्रद्धा एकल महिला समेत हुन्। उनका श्रीमान् स्टिफन श्रेष्ठको प्याराग्लाइडिङ दुर्घटनामा निधन भएको थियो। १२ वर्ष अगाडि (सन् २०१३ अक्टोबर)मा पोखरामा भएको प्याराग्लाइडिङ दुर्घटनामा श्रद्धाका श्रीमान् एभिएसन पाइलट स्टिफनको निधन भएको थियो।

नरेन्द्र र श्रद्धा

श्रद्धाका ससूरा प्रेमलाल श्रेष्ठ नाम चलेका चिकित्सक हुन्। वरिष्ठ अर्थोपेडिक सर्जन डा. प्रेमलालकी बुहारी समेत रहेकी श्रद्धा महिला मन्त्री बनेपछि ‘जेन-जी’ अगुवाहरू हेरेको हेऱ्यै भएका छन्।

डा. प्रेमलाल र श्रद्धा

सानै उमेरमा श्रीमान गुमाएकी श्रद्धा अब्बल महिला हुन्। महिला मन्त्रालयको ‘ड्राइभिङ सिट’मा बसेकी श्रद्धाले मन्त्रालयलाई दुर्घटनामा पार्छिन् कि ‘जेन-जी’ आन्दोलनको उद्देश्य अनुरूप सहजै अवतरण गराउछिन् हेर्न बाँकी छ। मन्त्रीको हैसियतमा श्रद्धाले गर्ने कामको मूल्यांकन गर्न अहिले नै हतारो हुन्छ। विज्ञता र अनुभवका हिसाबले श्रद्धा पर्यटन मन्त्री बन्दा उपयुक्त हुने हो। तर, उनले महिला मन्त्रालयको जिम्मेवारी पाएकी हुन्।

भारतका लागि नेपाली राजदूत शंकर शर्माका सम्धी राजेन्द्र सिंह भण्डारी पनि सुशीला कार्की नेतृत्वको ‘जेन-जी’ सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न सफल भएका छन्। भण्डारी कान्तिपुर मिडिया ग्रुपका संस्थापक कैलाश सिरोहियाका साढू समेत हुन्। श्रम मन्त्री भण्डारीका छोरी-ज्वाइँ शरिन घिमिरेले आरजु राणा देउवा परराष्ट्रमन्त्री हुँदा स्वकीय सचिवको भूमिकामा काम गरेका थिए।

क्याटेगोरी : समाचार
ट्याग : #डा. प्रेमलाल श्रेष्ठ, #नरेन्द्र कुमार श्रेष्ठ, #श्रद्धा श्रेष्ठ, #स्टिफन श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ