‘जेन-जी’ आन्दोलन जाँचबुझ आयोगको निशानामा परेका गृहका पूर्वउच्च अधिकारीहरू अख्तियारको फन्दामा


काठमाडौं। ‘जेन-जी’ आन्दोलन दमनको जाँचबुझ गर्न गठित आयोगको निशानामा परेका गृह मन्त्रालयका पूर्वउच्च अधिकारी अख्तियारको समेत फन्दामा पर्ने भएका छन्। उनीहरू एकैपटक दुई आयोगको छानबिन दायरामा परेका हुन्।

भदौ २३ गते काठमाडौंमा भएको ‘जेन-जी’ आन्दोलनमा गैरन्यायिक हत्या गरेको आरोपमा गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको दायरामा रहेका गृहका पूर्वउच्च अधिकारीहरू भिजिट भिसा प्रकरणमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएकाका हुन्। तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी र गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख हुँदै काठमाडौं प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेका छवि रिजाल एकै पटक दुई आयोगको चेपुवामा परेका छन्।

कार्की आयोगले ‘जेन-जी’ आन्दोलन दबाउन भूमिका खेलेको विषयमा तत्कालीन काठमाडौंको सिडिओ रहेका रिजालको बयान लिइसकेको छ। तत्कालीन गृहमन्त्री लेखक र सचिव दुवाडीलाई पनि आयोगले बयान लिने तयारी गरिरहेको छ। यस्तो अवस्थामा अख्तियारले पनि लेखक, दुवाडी र रिजालमाथि भ्रष्टाचारमा अनुसन्धान गर्ने तयारी थालेको हो।

लेखक, दुवाडी र रिजालको गठबन्धनले ‘जेन-जी’ आन्दोलन दमनदेखि भिजिट भिसा सेटिङसम्म सहकार्य गरेपछि एकैपटक दुई आयोगको ताकेतामा परेका हुन्। दुईवटै आयोगको निशानामा परेका लेखक, दुवाडी र रिजाल जनताको नजरमा समेत ‘भिलेन’ बनेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ