इमानारायण श्रेष्ठ भ्रष्टाचारमा डामिदा अख्तियारका राजेन्द्र ३ महिना अघि नै बने सचिव


काठमाडौं। सचिव बढुवाको मुखमा रहेका इमानारायण श्रेष्ठ भ्रष्टाचारमा डामिदा राजेन्द्रकुमार पौडेल सचिवमा बढुवा हुन सफल भएका छन्। २०८२ चैत २६ गते घर जाने सूचीमा रहेका श्रेष्ठ भ्रष्टाचारमा डामिएपछि पौडेल ३ महिना अघि नै सचिव बन्न पाएका हुन्।

२०२४ साल चैत २६ गते पाल्पामा जन्मिएका श्रेष्ठ शिक्षा प्रशासनतिरका सहसचिव हुन्। आदिवासी/जनजाति कोटा प्रयोग गरेर २०७१ माघ २९ गते सहसचिव बनेका श्रेष्ठ बढुवाको मुखमै भ्रष्टाचार मुद्दामा डामिए। बैकुण्ठप्रसाद अर्यालसँगै एकैदिन सहसचिवको नियुक्ति लिएका श्रेष्ठ सचिव बढुवा हुने बेलामा भने हेरेको हेऱ्यै भएका छन्। उनी सहसचिवबाटै घर जानुपर्ने अवस्था देखिन्छ।

मधेश प्रदेशको समाजिक विकास सचिव हुँदाको स्वास्थ्य उपकरण खरिदमा श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार भएको अभियोगमा तत्कालीन सचिव श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सामान आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डितसहित सचिव श्रेष्ठलाई २१ करोड ८९ लाख ३९ हजार ७ सय ८० रुपैयाँको बिगो माग दाबी लिएर अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो। हाल उनी निलम्बनमा रहेका छन्।

सचिव बढुवाको सूचीमा शिक्षाका सहसचिवहरू खगेन्द्रप्रसाद सुवेदी, कृष्णप्रसाद काप्री, बैकुण्ठप्रसाद अर्याल र इमारायण श्रेष्ठ रहेका थिए। सुवेदी, काप्री र अर्याल सचिवमा बढुवा हुँदा श्रेष्ठ भने भ्रष्टाचार मुद्दामा डामिएर उछिट्टिएका हुन्। श्रेष्ठ सचिव बढुवाको सूचीबाट ‘आउट’ हुँदा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेल सचिवमा उक्लिएका छन्। उनी कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन भइसकेका छन्। श्रेष्ठलाई भ्रष्टाचार मुद्दा नलागेको भए पौडेलले सचिव हुन् फागुन पर्खनु पर्ने हुन्थ्यो। फागुन ९ गते वाणिज्य तथा आपूर्ति सचिव डा. रामप्रसाद घिमिरे ५८ वर्ष लागेर अनिवार्य अवकाशमा गएपछि मात्र पौडेल सचिवमा बढुवा हुन्थे। श्रेष्ठ भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि पौडेल ३ महिना अघि नै सचिव बन्न सफल भएका छन्।

भ्रष्टाचार मुद्दा लागेका श्रेष्ठको सचिव हुने सम्भावना देखिँदैन। अब सचिव बन्ने लाइनमा वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराई, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे रहेका छन्। अन्यथा नभए उनीहरू फागुनमै सचिव हुनेछन्। त्यसपछि असारमा सचिव बढुवाको लाइन खुल्ने छ। त्यो बेला प्रशासनका ३ जना सचिव घर जानेछन्। उक्त ठाउँमा सहसचिवहरू नारायणप्रसाद भट्ट, श्रीकृष्ण नेपाल र बिनोदबहादुर कुँवर सचिव बन्नेछन्।

सहसचिवहरू उत्तरकुमार खत्री, कालीप्रसाद पराजुली, रूद्रसिंह तामाङ, आभा श्रेष्ठ, चक्रबहादुर बुढा, जयनारायण आचार्यहरू सचिवमा बढुवा हुन अर्को आर्थिक वर्ष कुर्नुपर्ने हुन्छ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #इमानारायण श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ