ज्योतिषी कानुन सचिवलाई ‘साइत’ हेराएर सिन्हाले पशुपतिको सदस्य-सचिवमा मनोनित गरेका शर्माविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं। ‘जेन-जी’ आन्दोलनको जगमा बनेको सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य-सचिवमा मनोतित गरेका प्रकाशमणि शर्माविरूद्ध उजुरी परेको छ। ६७ वर्षीय शर्मालाई सदस्य-सचिव बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो।
६५ वर्ष नाघेका शर्मालाई कानुनविपरीत नियुक्ति गरेको विषयमा कारबाही गर्न मागसहित अख्तियारमा उजुरी परेको छ। आईतबार मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले सोमबार पशुपति क्षेत्र विकास कोषको सदस्य-सचिवमा सहपाठी प्रकाशमणि शर्मालाई मनोनित गरेका थिए। कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगानालाई साइत हेराएर कोषका अध्यक्ष समेत रहेका सिन्हाले शर्मालाई मनोनित गरेको चर्चा छ। सोमबार कोषको सदस्य-सचिव बनेका शर्माविरुद्ध मंगलबार अख्तियारमा उजुरी परेको हो।

कोषका ‘झगडिया वकिल’ शर्मा सदस्य-सचिव बनाएपछि अर्को चर्को विरोध भइरहेको छ। पर्यटन मन्त्रालयले बनाएको नियुक्तिसम्बन्धी मापदण्डमा ६५ वर्ष ननाघेको व्यक्ति कोषको सदस्यसचिव बन्न सक्ने व्यवस्था छ। तर, ‘जेन-जी’ शहीदहरूको रगतमा लत्पतिएर बनेको सरकारका पर्यटनमन्त्री सिन्हाले पशुपतिमा ६७ वर्षीय शर्मालाई सदस्य-सचिव बनाएर पठाएपछि उक्त ‘केस’ अख्तियारसम्म पुगेको हो।
सचिव ढुंगानाले मापदण्डविपरीत ६७ वर्ष पुगेका शर्मालाई मनोनित गर्न मिल्छ भनेपछि कोषका अध्यक्ष सिन्हाले तत्काल मनोनित गरेका थिए। कृष्णनगर कपिलवस्तुका शर्मालाई सिन्हाले कोषको सदस्य-सचिवमा मनोनित गर्नु अघि कानुन सचिव ढुंगानाले ‘साइत’ हेरेका थिए। शुक्र अस्त भएका बेला हेरिएको साइतले मुद्दा मामिलासम्म धकेलिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस