पर्यटनमन्त्री सिन्हाले पशुपतिको सदस्य-सचिव बनाएका शर्मासँग अमेरिकी ग्रीन कार्ड रहेको आशंका
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले पशुपति क्षेत्र विकास कोषको सदस्य-सचिव मनोनित गरेका प्रकाशमणि शर्मासँग अमेरिकी ग्रीन कार्ड रहेको आशंका गरिएको छ। मन्त्री सिन्हाका सहपाठी समेत रहेका शर्मा अमेरिकी ग्रीन कार्ड होल्डर भए/नभएको जानकारी मागिएको पाइन्छ।
विश्वका आराध्यदेव पशुपतिनाथ हेर्ने पशुपति क्षेत्र विकास कोषका सदस्य-सचिव बनेका शर्मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामासँग समेत जोडिएका व्यक्ति हुन्। उनी पशुपति क्षेत्र विकास कोषको सदस्य-सचिव बनेपछि साधु सन्त समाज समेत चकित बनेको छ। पर्यटनमन्त्री सिन्हाले उनलाई पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेको भोलिपल्टै पशुपति क्षेत्र विकास कोषका सदस्य-सचिवमा मनोनित गरेका थिए। उक्त विषयले अहिले निकै तरंग ल्याएको पाइन्छ।
कोषको सदस्य-सचिवमा मनोनित भएका शर्माले आफूसँग अमेरिकी ग्रीन कार्ड भए/नभएको विषयमा स्वघोषणा समेत गरेका छैनन्। उनीसँग ग्रीन कार्ड रहेको विषय चर्चामा रहेपनि उनले त्यो विषयमा मन्त्रालयलाई कुनै जानकारी नदिएको स्रोतले बतायो। पर्यटनमन्त्री सिन्हाले शर्मालाई कोषको सदस्य-सचिवमा मनोनित गरेपछि उनी निकै विवादित बनेका छन्। ६५ वर्ष ननाघेका व्यक्तिलाई कोषको सदस्य-सचिव बनाउनु पर्नेमा पर्यटनमन्त्री सिन्हाले ६७ वर्षीय शर्मालाई सदस्य-सचिवमा मनोनित गरेपछि उक्त विषय निकै पेचिलो बनेको छ।
कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगान पर्यटन मन्त्रालयमै आएर शर्मालाई कोषको सदस्य-सचिव बनाउन मिल्ने मौखिक राय दिएका थिए। ज्योतिषी समेत रहेका कानुन सचिव ढुंगानालाई ‘साइत’ हेराएर मन्त्री सिन्हाले शर्मालाई कोषको सदस्य-सचिवमा मनोनित गरेको चर्चा छ। शर्मालाई पशुपति जिम्मा लगाएर सिन्हा अहिले निकै विवादमा तानिएका छन्। मन्त्री सिन्हाको भूमिकालाई लिएर ‘जेन-जी’ अगुवाहरू पनि रूष्ट देखिन्छन्।



तपाईको प्रतिक्रिया दिनुहोस