पर्यटन मन्त्रालय अन्तर्गतका दुई निकाय निमित्तले बनाए अस्तव्यस्त
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका दुई निकाय अहिले अस्तव्यस्त भएका छन्। पर्यटन मन्त्रालय अन्तर्गत दुई शक्तिशाली निकाय नागरिक उड्डयन प्राधिकरण र नेपाल वायु सेवा निगम निमित्तका कारण अहिले अस्तव्यस्त बनेका हुन्।
पर्यटन मन्त्रालयका अन्य निकाय एकातिर र प्राधिकरण र निगमन अर्कातिर राख्दा यी संस्था नै भारी हुन्छन्। नागरिक उड्डयन प्राधिकरणले पर्यटन मन्त्रालय हल्लाउने तागत राख्छ। तर, उक्त निकाय अहिले ‘होल्ड’मा परेको छ।
प्राधिकरणमा १२ औं तहका अधिकृतलाई जिम्मेवारी नदिइ मन्त्रालयको नागरिक उड्डयन महाशाखा प्रमुख रहेका जुनियर सहसचिव मुकेश डंगोललाई निमित्त दिएर पठाइएको छ। तर, फायल देख्दा तर्सिने डंगोलका कारण प्राधिकरणका नियमित गतिविधि समेत ठप्प हुन पुगेको अधिकारीहरू सुनाउँछन्।
प्राधिकरणका वरिष्ठ कर्मचारी प्रतापबाबु तिवारी र हंसराज पाण्डे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरणमा भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका छन्। तिवारीपछि देवचन्द्रलाल कर्ण, प्रेमनाथ ठाकुर र जगन्नाथ निरौला प्राधिकरणको डिजीको प्रतिस्पर्धामा देखिन्छन्। प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी भ्रष्टाचारमा डामिएपछि मन्त्रालयबाट पठाइएका डंगोलले ‘फायल फोबिया’ देखाउँदा प्राधिकरणले गति लिन नसकेको पाइन्छ। प्राधिकरणका कर्मचारीलाई निमित्त नदिएर मन्त्रालयबाट पठाउँदा अहिले यस्तो समस्या आएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण मात्र होइन नेपाल वायु सेवा निगमको हालत पनि उस्तै छ। निगमको महाप्रबन्धक बनाइएका अमृतमान श्रेष्ठ छोराहरू सञ्जय र समिरको करारको जागिर जोगाउन लागिपर्दा विमानको इन्जिन इजरायलमै अलपत्र परेको छ। महाप्रबन्धक बनाए हप्ता दिनभित्र इजरायलबाट इन्जिन ल्याउने दाबी गरेर पद हत्याएका अमृतमान इन्जिनभन्दा छोराहरू कै जागिर जोगाउनमा केन्द्रित भएको आरोप लागेको छ। उनी भने आफू इन्जिन ल्याउने प्रयासमा रहेको बताउँछन्। तर नतिजाले त्यस्तो देखाउँदैन।
प्राधिकरण र निगमपछि अर्को मन्त्रालयको अर्को महत्त्वपूर्ण निकाय पशुपति क्षेत्र विकास कोष पनि विवादमा फसेको छ। निमित्तबाट उक्त निकायले पार पाएपनि कानुनले मार खाएको छ। पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा ६७ वर्षीय प्रकाशमणि शर्मालाई पठाएपछि विवाद उत्पन्न भएको हो।
पर्यटनमन्त्री अनिलकुमार सिन्हाले सोमबार पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा सहपाठी प्रकाशमणि शर्मालाई मनोनित गरेका हुन्। उक्त विषय अहिले अख्तियारदेखि अदालतसम्म पुगेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्डमा कोषको सदस्यसचिव बन्न ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ। तर, ६७ वर्षीय शर्मालाई सिन्हाले सदस्यसचिव बनाएपछि विवाद उत्पन्न भएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस