‘जेन-जी’ मन्त्रीहरूले लिन पाएनन् नियुक्तिको स्वाद


समाचार टिप्पणी

काठमाडौं। ‘जेन-जी’को सिफारिसमा बनेका सुशीला कार्की नेतृत्वको सरकारका दुई मन्त्रीले नियुक्तिको स्वाद (टेस्ट) लिन पाएनन्। ‘जेन-जी’हरूको सिफारिसमा मन्त्री बनेकी श्रद्धा श्रेष्ठ र माधव चौलागाईंले नियुक्तिको स्वाद लिन नपाएका हुन्।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बनेकी श्रद्धा श्रेष्ठलाई नियुक्तिको स्वाद दिलाउने ठाउँ समाज कल्याण परिषद् थियो। तर, श्रद्धाले उक्त मन्त्रालयको जिम्मेवारी सम्हाल्ने पूर्वसन्ध्यामामा समाज कल्याण परिषद्मा सदस्यसचिव नियुक्त गरियो। कानुन मन्त्रालयको जिम्मेवारीमा रहेका अनिलकुमार सिन्हाको ‘च्वाइस’मा महोत्तरीका सरोजकुमार शर्मालाई समाज कल्याण परिषद्को सदस्यसचिव बनाएपछि मन्त्री श्रेष्ठ हेरेको हेऱ्यै भएकी छिन्।

श्रद्धाले महिला मन्त्रालयको जिम्मेवारी सम्हाल्ने निश्चित भएपछि सहकारी हुँदाका विवादित पात्र शर्मालाई हतारमा समाज कल्याण परिषद्को सदस्यसचिव बनाएर पठाइएको हो। सिन्हा चलाखीपूर्ण ढङ्गले एक कदम अघि बढ्दा श्रद्धाले नियुक्तिको स्वाद लिन नपाएकी हुन्।

समाज कल्याण परिषद्को सदस्यसचिव सिन्हाले उछिट्याएपछि रन्थनिएकी श्रद्धा सचिव लक्ष्मीकुमारी बस्नेतलाई लिएर शान्तिको खोजीमा पशुपतिनाथको दर्शन गर्न पुगेकी थिइन्। नियुक्तिको स्वाद लिन नपाएकी उनी सचिवसँग नारिएर हिँडेरै भएपनि चित्त बुझाउन बाध्य भइन्। सिन्हाले भने मन्त्रालय फेरेरै भएपनि नियुक्तिको स्वाद फेरेका छन्। श्रद्धा पशुपतितिरै रहेका बेला सिन्हाले पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा ६७ वर्षीय प्रकाशमणि शर्मालाई मनोनित गरेका थिए। सिन्हाले मापदण्डलाई ‘बागमतीमा सेलाएर’ शर्मालाई पशुपतिको जिम्मा लगाएका हुन्।

श्रद्धाले मात्र होइन अर्का ‘जेन-जी’ मन्त्री माधवप्रसाद चौलागाईंको हाल पनि उस्तै भएको छ। वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका माधवले पनि नियुक्तिको स्वाद लिन पाएनन्।

जेन-जी आन्दोलनले विस्थापित गरेका तत्कालीन मन्त्री ऐनबहादुर शाही ठकुरीले ‘जेन-जी’ मन्त्री माधवलाई ‘चक्मा’ खुवाउँदै राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिवमा नरेश सुवेदीलाई नियुक्ति गरिदिएका छन्। मन्त्रीको हैसियतमा कोषको अध्यक्ष बनेका माधवले उक्त नियुक्तिको स्वाद लिन पाउनु पर्ने हो। तर, उनले वन मन्त्रालयको कार्यभार सम्हाले पनि पुरानै मन्त्री ठकुरीले राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिव नियुक्ति गरेर स्वाद लिएका हुन्। उक्त नियुक्तिले अहिले ‘मार्केट’ तताएको छ। मन्त्रीसँगै कोषको पदेन अध्यक्षबाट खुस्किएका ठकुरीले ‘जस्केला’बाट छिरेर नियुक्तिको स्वाद लिन सफल भएका छन्। ठकुरीले ‘चक्मा’ दिँदा ‘जेन-जी’ मन्त्री माधवले भने मुख अमिलो पारेर बस्नु परेको हो।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ