१५ दिनमै खोसियो क्यानका निमित्त डिजी डंगोलको जिम्मेवारी


काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी पाएका मुकेश डंगोलको १५ दिनमै जिम्मेवारी खोसिएको छ। गत मंसिर १९ गते डंगोललाई क्यानको निमित्त डिजीको जिम्मेवारीमा खटाइएको थियो। उनको निमित्तको जिम्मेवारी खोसेर क्यान कै १२ औं तहका देवचन्द्रलाल कर्णलाई दिइएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले डंगोलको जिम्मेवारी खोसेर शुक्रबार कर्णलाई दिएको हो। पर्यटनमन्त्री अनिलकुमार सिन्हाले मन्त्रीस्तरीय निर्णयबाट उपमहानिर्देशक कर्णलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका हुन्।

क्यानका डिजी प्रदिप अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि डंगोललाई निमित्तको जिम्मेवारी दिइएको थियो। क्यानको १२ औं तहमा सबैभन्दा वरिष्ठ प्रतापबाबु तिवारीलाई पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण घोटालामा भ्रष्टाचार मुद्दा दायर भएपछि कर्णको भाग्य चम्किएको हो।

क्यानको बाह्रौं तहमा प्रतातबाबु तिवारी, देवचन्द्रलाल कर्ण, हंसराज पाण्डे, प्रेमनाथ ठाकुर र जगन्नाथ निरौला रहेका थिए। उनीहरूबीच प्रतिस्पर्धा चलिरहँदा मन्त्रीस्तरको निर्णय अनुसार प्राधिकरणको कार्य सञ्चालनका लागि अर्को व्यवस्था नभएसम्म सहसचिव डंगोललाई महानिर्देशकको समेत थप जिम्मेवारी दिएपछि उनीहरू हेरेको हेऱ्यै भएका थिए। त्यसैबीच तिवारी र पाण्डे भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परे। निमित्तको दौडधुपमा रहेका तिवारी र पाण्डे आउट भएपछि कर्ण, ठाकुर र निरौला प्रतिस्पर्धा थियो। कर्ण र निरौला निमित्तका लागि चर्को लबिइङमा लागेका बेला मन्त्रालयले कर्णलाई निमित्त डिजीको जिम्मेवारी दिएको हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ