वैरोसहित तीन विभागका महानिर्देशक हटाइए


काठमाडौं। सरकारले ३ विभागका महानिर्देशक एकसाथ हटाएको छ। सबैभन्दा शक्तिशाली मानिने वैदेशिक रोजगार(वैरो) विभागका महानिर्देशक कमलप्रसाद भट्टराई मधेश प्रदेश सरूवा भएका छन्। वैदेशिक रोजगार विभागमा राम्रै चलखेल गरेर उनी मधेश झरेका हुन्। मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरूवा भएपछि उक्त प्रदेश प्रमुख सचिवबिहीन बनेको छ। मधेश प्रदेशको निमित्त प्रमुख प्रदेश सचिव बनाउने गरी सचिव बढुवाको मुखमा रहेका भट्टराईलाई पठाइएको हो। तरमारा सहसचिव भट्टराई बल्ल ठिक ठाउँमा पुगेका छन्।

कारागार व्यवस्थापन विभागका महानिर्देशक लिलाप्रसाद शर्मा पनि प्रदेश सरूवा भएका छन्। शर्मालाई कर्णाली प्रदेश खटाइएको हो। सहकारी विभागको रजिष्ट्रार हुँदा विवादमा तानिएका शर्मा सिन्धुलीको सिडिओ समेत भएका थिए। रमेश लेखकले कारागार व्यवस्थापन विभागको महानिर्देशक बनाएका सुदूरपश्चिमका शर्मा कर्णाली पुगेका हुन्।

सहकारी विभागका रजिष्ट्रार (महानिर्देशक) उमेश ढुंगाना गृह मन्त्रालय पुगेका छन्। राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएपनि औचित्यहीन जस्तै बनेको उक्त विभाग छाडेर ढुंगाना गृहतिर छिरेका हुन्। सहकारीको रहलपहल भ्याएर पिताम्बर घिमिरे संघीय मामिला तथा सामान्य प्रशासन हुँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पुगेका छन्। ढुंगानाले पनि रस नपाएपछि सहकारी छाडेका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #उमेश ढुंगाना सहकारी, #कमलप्रसाद भट्टराई बैरो, #लिलाप्रसाद शर्मा कारागार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ