स्वास्थ्य मन्त्रालयको पीडा—बाहिर हुँदा बिचौलियाको सास्ती, भित्र जेन्जीको दादागिरी


काठमाडौं । गत भदौ २३ र २४ गते भएको तथाकथित ‘जेन्जी आन्दोलन’ ले सिंहदरबार आसपास मात्र होइन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अस्तित्वमै गम्भीर धक्का पुर्‍यायो। आन्दोलनको क्रममा स्वास्थ्य मन्त्रालय सिंहदरबार बाहिर रहेको ऐतिहासिक भवनमा आगलागी तथा तोडफोड भयो। झण्डै ६० वर्षभन्दा पुरानो भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि मन्त्रालय त्यहाँबाट सञ्चालन गर्न नसक्ने अवस्थामा पुग्यो।

क्षतिको प्रारम्भिक मूल्याङ्कन अनुसार मन्त्रालयको भौतिक संरचना, कागजात, फर्निचर तथा प्रशासनिक सामग्री गरि ३० कराेड बढिकाे क्षति भएको थियो। आन्दोलनले उठाएको ‘सुधार’ को नारा भन्दा बढी, यसको असर स्वास्थ्य प्रशासनको मेरुदण्डमै प्रहार बनेर देखा पर्‍यो।

बाध्यात्मक अवस्थामा सिंहदरबार प्रवेश

भवन पूर्ण रूपमा काम नलाग्ने भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बाध्यतापूर्वक सिंहदरबारभित्र प्रिफ्याब (अस्थायी) भवनमा सरेको हो। झण्डै ६० वर्ष पछि स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र प्रवेश गर्नु आफैंमा ऐतिहासिक घटना हाे ।

सिंहदरबार बाहिर रहँदा मन्त्रालय बिचौलिया, दलाल, अनावश्यक भीड र पहुँचवालाहरूको सहज खेलमैदान जस्तो थियो। सानो कामका लागि समेत अनावश्यक भिड, सिफारिस र दबाबका कारण सेवा प्रवाह प्रभावकारी हुन सकेको थिएन। मन्त्रालय सिंहदरबारभित्र सरेसँगै ती पुराना समस्या क्रमशः घट्दै गएको कर्मचारीहरू बताउँछन्।

सिंहदरबारको सुरक्षा, पहिचान प्रणाली र पहुँच नियन्त्रणले बिचौलिया र अनावश्यक व्यक्तिको खुलेआम आवतजावत रोकिएको छ। यसले सेवा प्रवाहमा केही हदसम्म सुधार आएको देखिएको छ। तर, दुखकाे कुरा बिचौलिया हटे ‘जेन्जी’को खोल ओडेकाहरुकाे दबाब सुरु भयाे । बिचौलिया र अनावश्यक भिड हटे पनि, अब ‘जेन्जी आन्दोलन’को नाम र खोल ओडेर आउने युवाहरूको दबाबले कर्मचारीहरू झनै त्रसित हुन थालेका छन्।

कर्मचारीहरूका अनुसार, सिंहदरबारभित्र मन्त्रालय भए पनि कामगर्ने वातावरण सहज बन्न सकेको छैन। सटको बाहुलामा सिङ्गान पुस्दै आउने, सचिवलाई ‘जी’ लगाएर सम्बोधन गर्ने, भाषा र शारीरिक हाउभाउ भने पूर्ण रूपमा अमर्यादित हुने क्रम बढेको छ।

एक अधिकारीले भने, “सुधारको नाममा आएको अराजकता पहिलेभन्दा खतरनाक देखिन थालेको छ। अब त उच्च तहका पदाधिकारीलाई समेत रेस्पेक्ट छैन। ‘जेन्जी’ को नाम लिएपछि जे बोले पनि हुन्छ, जे गरे पनि हुन्छ भन्ने भ्रम गहिरिँदै गएको छ।”

जेन्जीको नाममा पुनः बिचौलिया प्रवेश !

कर्मचारीहरूका अनुसार पछिल्लो समय जेन्जीको नाममा बिचौलियाहरू पुनः प्रवेश गर्न थालेका छन्। सुधार र पारदर्शिताको आवरण ओढेर मन्त्रालयमा दबाब सिर्जना गर्ने, निर्णय प्रभावित पार्ने र आफ्नै स्वार्थअनुसार स्वास्थ्य प्रणालीमा चलखेल गर्ने प्रयास देखिन थालेको उनीहरूको गुनासो छ। यसले सिंहदरबारभित्र मन्त्रालय आएपछि देखिएको सकारात्मक परिवर्तनलाई उल्ट्याउने खतरा बढाएको छ। “नाम फरक भए पनि चरित्र उस्तै देखिन थालेको छ,” कर्मचारीहरूको टिप्पणी छ।

कर्मचारीहरूले भनेका छन् सिंहदरबारभित्र जिन्जीको नाममा हुने अवाञ्छित गतिविधि तत्काल रोकिएन भने सेवा प्रवाह पुनः गम्भीर संकटमा पर्नेछ। स्वास्थ्य मन्त्रालय कुनै आन्दोलनको अखडा होइन। यहाँ हुने हरेक निर्णय लाखौं नागरिकको जीवनसँग जोडिएको हुन्छ।

नागरिकको सरकार भन्ने नाममा कर्मचारीमाथि मनलाग्दी बोल्ने, धम्क्याउने, नियम–कानुन उल्लंघन गर्ने छुट कसैलाई पनि दिनु हुँदैन। आलोचना र निगरानी लोकतन्त्रको सौन्दर्य हो, तर अराजकता र दादागिरी लोकतन्त्रको आत्मघात हो।

जेन्जी आन्दोलनले स्वास्थ्य मन्त्रालयलाई भौतिक रूपमा सिंहदरबारभित्र ल्यायो। यसले बिचौलियाको रजगज तोड्ने अवसर पनि सिर्जना गर्‍यो। तर, यही आन्दोलनको नाममा बढ्दो अराजकता नियन्त्रण गर्न नसके त्यो अवसर छिट्टै गुम्ने खतरा देखिएको छ। त्यसैले सरकार, राजनीतिक नेतृत्व र स्वयं जेन्जी आन्दोलनका जिम्मेवार पक्षहरूले स्पष्ट सीमा कोर्नु आवश्यक छ। नत्र स्वास्थ्य मन्त्रालय भौतिक रूपमा सिंहदरबारभित्र भए पनि व्यवहारिक रूपमा फेरि पुरानै अराजक चक्रमा फस्ने संकेत देखिन थालेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ