प्रेम आलेको पालामा नियुक्त भएका पर्यटनका विवादित पात्रहरू
समाचार टिप्पणी
काठमाडौं। पार्टी चलाउने नाममा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमकुमार आलेले नियुक्त गरेका तीन पात्रहरू विवादै विवादका बीच बाहिरिएका छन्। आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त गरेका प्रदिप अधिकारी भ्रष्टाचार मुद्दामा डामिएका छन्। नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष भएका युवराज अधिकारी विवाद कै बीच कार्यकाल सकिएर घर गएका छन्। आलेले नै पशुपति क्षेत्र विकास कोषमा नियुक्त गरेका अर्का विवादित पात्र नारायणप्रसाद सुवेदी पनि कार्यकाल घर जाने तयारीमा छन्।
प्रदिपले क्यान र युवराजले निगम लथालिङ्ग पारेर गएका छन्। सुवेदीले पनि पशुपति क्षेत्र विकास कोषमा त्यस्तै कार्य गरेको पाइन्छ। पशुपति जस्तो पवित्र ठाउँमा उनकै सेटिङमा भेटी चोरी भएको आरोप लाग्दै आएको छ। पशुपतिनाथ मन्दिरको भेटी चोर्दाचोर्दै रंगेहात पक्राउ परेका अनिल परियारले कोषाध्यक्ष नारायणपसाद सुवेदीलाई पोलेका थिए। यद्यपि सेटिङ मिलाएर सुवेदी मुद्दा लाग्नबाट जोगिए। पशुपतिमा बाजा बजाउने कर्मचारी भेटी चोरीमा संलग्न रहेको पाइएपछि प्रहरीले रंगेहात पक्राउ गरेको थियो। यो विषयमा परिचारले पोलेका सुवेदीमाथि भने अनुसन्धान गर्न प्रहरी हच्कियो। उक्त विषयमा गम्भीर अनुसन्धान नगर्दा भेटी चोरीका योजनाकार ठूला माछा उम्किए।
तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)बाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका प्रेमकुमार आलेले उक्त पार्टीलाई चलायमान बनाउन पार्टी नेतृत्वको निर्देशनमा अधिकारीद्वय र सुवेदीलाई नियुक्ति गरेका थिए। पार्टीले दिएको मान्छेहरू नै आफूले नियुक्ति गरेको तत्कालीन मन्त्री आलेले सार्वजनिक अभिव्यक्ति दिएका थिए। उनले पार्टीलाई चलायमान बनाउन नियुक्त गरेका प्रदिप अधिकारी र युवराज अधिकारीको पद खुस्किसकेको छ। पार्टीलाई चलायमान बनाउन पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष बनेका सुवेदी पनि घर जाने तयारीमा छन्। पशुपतिको भेटी चोरी प्रकरणमा नाम मुछिएका उनीमाथि छानबिन गर्नु पर्ने आवाज उठ्दै आएको छ। पार्टीलाई चलायमान बनाउन प्रेम आलेले नियुक्त गरेका ३ विवादित पात्रबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बल्ल छुटकारा पाउने भएको हो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस