चन्द एक महिनासम्म सिंहदरबार धाएपछि पञ्चेश्वरले बल्ल पायो प्रमुख प्रशासकीय अधिकृत


काठमाडौं। बैतडीको पञ्चेश्वर गाउँपालिकाले बल्ल प्रमुख प्रशासकीय अधिकृत पाएको छ। पञ्चेश्वरका अध्यक्ष गोरखबहादुर चन्द एक महिनादेखि सिंहदरबार धाएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बल्ल प्रमुख प्रशासकीय अधिकृत पठाएको हो। मन्त्रालयले वीर सिंह भण्डारीलाई पञ्चेश्वरको प्रमुख प्रशासकीय अधिकृत खटाएको छ।

पञ्चेश्वरमा प्रमुख प्रशासकीय अधिकृत पठाउन अनुरोध गर्दा अध्यक्ष चन्दमाथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अपमान गरिएको थियो। उक्त विषयमा मन्त्रालयको प्रशासन महाशाखा प्रमुख पार्वती शर्मा र अध्यक्ष चन्दबीच भनाभन भएको थियो। अध्यक्ष चन्दले प्रमुख प्रशासकीय अधिकृत नपठाए आमरण अनसन बस्ने चेतावनी दिए। त्यसपछि बाध्य भएर मन्त्रालयले पञ्चेश्वरमा प्रमुख प्रशासकीय अधिकृत पठाएको हो।

हाजिर भएको दुई महिना नपुग्दै प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीलाई मन्त्रालयले सरूवा गरिदिएको हो। साउन अन्तिम साता पञ्चेश्वरको प्रमुख प्रशासकीय अधिकृत धामी कार्तिक अन्तिमतिर सरूवा गरेर बैतडी कै मेलौली नगरपालिका पठाइयो। त्यसपछि पञ्चेश्वर नयाँ प्रमुख प्रशासकीय अधिकृतबिहीन भएको थियो। गाउँपालिकाको सम्पूर्ण कामकाज ठप्प भएपछि अध्यक्ष चन्द प्रमुख प्रशासकीय अधिकृत खोजीमा एक महिनादेखि सिंहदरबार धाइरहेका थिए। अनसन नै बस्ने तयारी गरेपछि मात्र मन्त्रालयले बाध्य भएर प्रमुख प्रशासकीय अधिकृत पठाएको हो। मन्त्रालयको मनमौजी सरूवाले गर्दा पञ्चेश्वर जस्तै धेरै स्थानीय तहले अनाहकमा दुःख पाएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ