एक्सनमा भूमिमन्त्री इङनाम: चलखेलमा लागेका मालपोत हाकिमलाई ‘डाँडा कटाए’
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा. डा. कुमार इङनाम मालपोतमा चलखेल गर्ने हाकिमविरूद्ध ‘एक्सन’मा उत्रिन थालेका छन्। तेह्रथुम आठराईको ‘पानी खाएका’ मन्त्री इङनामले ‘पाइन’ देखाउन थालेका हुन्।
मालपोत कार्यालयमा आर्थिक चलखेल विषयका जानकार भूमिमन्त्री इङनाम ‘जेन-जी’ शैलीमै प्रस्तुत हुन थालेका छन्। आर्थिक चलखेलको सूचना पाएपछि मन्त्री इङनामले चाबहिल प्रमुख मालपोत अधिकृत दिपेन्द्रकुमार खत्रीलाई मन्त्रालयको जगेडामा तानेका थिए। मन्त्रालयका कर्मचारीले गुनासो आएका कर्मचारीको विषयमा छानबिन गरेर मात्र तान्दा उपयुक्त हुने सुझाव दिएपछि मन्त्री इङनामले अर्कै तरिका अपनाएका छन्।
ललितपुर र भक्तपुरको मालपोतमा व्यापक आर्थिक चलखेल भएको सूचना पाएपछि मन्त्री इङनामले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोग लिएर उतैतिर हुत्याउन थालेका हुन्। सामान्य प्रशासन मन्त्रालयको सचिव चन्द्रकला पौडेल र प्रशासन महाशाखा प्रमुख पार्वती शर्मालाई कार्यकक्षमै बोलाएर भूमिमन्त्री इङनामले विवादित मालपोत हाकिम सरूवा गर्न निर्देशन दिएका थिए। त्यसको हप्ता दिन नबित्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ललितपुरका प्रमुख मालपोत अधिकृत अशोककुमार भट्टराई र भक्तपुरका माधव घिमिरेलाई अतिरिक्त समूहमा तानेको हो।
मालपोत कार्यालयमा आर्थिक चलखेल हुने कुरा ‘ओपन सेक्रेट’जस्तै छ। आर्थिक चाँजोपाँजो र व्यवस्थापन नगरी उपत्यकाको मालपोतको हाकिम भएर जाने कुरा सहज छैन। उपत्यकाका मालपोतमा कर्मचारी पठाउने विषयमा मन्त्री कै चासो रहने गरेको छ। ‘जेन-जी’ सरकारका भूमिन्त्री इङनाम भने फरक देखिएका छन्। मन्त्री इङनामले भेट्न आउने मालपोत प्रमुखलाई ‘घूस त राम्रै खाइन्छ होला नि’ भनेर केरकार गर्ने गरेको मन्त्रालयका उच्च अधिकारीहरू बताउँछन्। उनले भेट्न आउने मालपोतका कर्मचारीलाई घूस खाएको थाहा पाए कडा कारबाही गर्ने चेतावनी समेत दिँदै आएको बताइन्छ।
मालपोतका कर्मचारीको व्यवहारमा परेका मन्त्री इङनामले कडा ‘एक्सन’ लिन थालेका छन्। विवादमा तानिएका मालपोत हाकिमलाई त उनले डाँडै कटाउन थालेका हुन्। नियत गलत नभएका मन्त्री इङनाम ‘एक्सन’मा उत्रिदा आर्थिक चलखेल गर्ने मालपोत हाकिमको भागाभाग हुने अवस्था आएको हो। मालपोतका कर्मचारीले ‘घूस’ र सरूवामध्ये एक रोज्नु पर्ने अवस्था आएको भूमितिर चर्चा चल्न थालेको छ।
ट्याग : #अशोककुमार भट्टराई, #दिपेन्द्रकुमार खत्री, #माधव घिमिरे



तपाईको प्रतिक्रिया दिनुहोस