गोरखापत्र संस्थानको अध्यक्षमा भण्डारीको नियुक्ति रोकिन् प्रधानमन्त्री कार्कीले
काठमाडौ। गोरखापत्र संस्थानमा अध्यक्षमा अखण्ड भण्डारीको नियुक्ति प्रधानमन्त्री सुशीला कार्कीले रोकेकी छिन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार भण्डारीको नियुक्ति रोक्न कार्कीले हस्तक्षेप गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले गोरखापत्र संस्थानको अध्यक्षमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिएका अखण्ड भण्डारीको नाम सिफारिस भएको सूचना पाएलगत्तै रोकेको स्रोतको दाबी छ। प्रधानमन्त्री कार्कीले मुख्यसचिव सुमनराज अर्याललाई तत्काल उक्त निर्णय प्रमाणीकरण नर्गन र रोक्न निर्देशन दिएको स्रोतले बतायो।
स्रोतका अनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको सिफारिसमा गोरखापत्र संस्थानको अध्यक्षमा भण्डारीको नाम सिफारिस गर्ने निर्णय गरेको थिए। उनी एमालेका मानिस हुन् भन्ने सूचना लुकाएर प्रस्ताव लगेको सूचना पाएलगत्तै कार्कीले उनको नियुक्ति रोक्न लगाएकी हुन्। ‘मलाई झुक्काएर ओलीको मानिसलाई नियुक्ति गराउने’ भन्दै प्रधानमन्त्री कार्कीले रिसाउँदै रोक्नु भनेर निर्देशन दिएपछि मुख्यसचिवले प्रमाणीकरण नै नगरेको स्रोतले बतायो।
अन्नपूर्ण पोष्टका प्रधान सम्पादक रहेका भण्डारीले गोरखापत्र संस्थानको अध्यक्ष बन्न राजीनामा दिइसकेका छन्। भण्डारीको ठाउँमा बालकृष्ण बस्नेत अन्नपूर्ण पोष्टको प्रधान सम्पादक बनिसकेका छन्। प्रधानमन्त्री कार्कीको हस्तक्षेपपछि भण्डारी अलपत्र परेका छन्।
गोरखापत्र जानकै लागि उनले प्रधानमन्त्रीका प्रमुख स्वकीय आर्दश श्रेष्ठसँग पनि सेटिङ मिलाएको आरोप लागेको छ। प्रधानमन्त्री कार्कीले सूचना पाएपछि मन्त्री र प्रमुख स्वकीय सचिव दुबैसँग रिसाएको स्रोतले सुनायो। गोरखापत्र संस्थानको अध्यक्षमा भण्डारीको नियुक्ति “होल्ड’मा परेको हो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस