कुलमानले रास्वपा छाडेपनि पशुपतिका मुख्य ठेकेदार तामाङ समानुपातिक सांसद बन्ने दाउमा
काठमाडौं। पदीय भागबण्डा नमिल्दा कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अलग भएका छन्। घिसिङलाई उज्याले नेपाल पार्टी (उनेपा)को अध्यक्ष घोषणा गरिएको छ। उनी अब आफ्नै पार्टीमा सक्रिय हुने भएका हुन्। तर, घिसिङको कोटाबाट रास्वपाको समानुपातिक सूचीमा परेका पशुपति क्षेत्र विकास कोषका मुख्य ठेकेदार धर्मलाल तामाङ रास्वपाको सांसद बन्ने दाउमा रहेका छन्।
विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा सिमेन्ट प्रयोग गरेर प्राचिन स्मारक संरक्षण ऐन अनुसार कारबाहीको दायरामा आउनु पर्ने तामाङ कुलमानको कोटाबाट रास्वपाको समानुपातिक सांसद बन्ने दाउमा रहेका हुन्। विश्वरूपलगायत पशुपति क्षेत्रभित्र अर्बौको ठेक्का हत्याएका तामाङ रास्वपाबाट समानुपातिकमा आदिवासी/जनजाति क्लस्टरको ८ औं नम्बरमा रहेका छन्। एमाले पृष्ठभूमिका काभ्रेपलाञ्चोकका तामाङ कुलमानका सहोदर भाइका ससुरा हुन्।
विश्वरूपदेखि पशुपतिमा ढुङ्गा छाप्नेलगायतका निर्माणका ठेक्कामा तामाङको एकलौटी छ। कार्यकारी निर्देशक हुँदै पशुपति क्षेत्र विकास कोषको कार्यवाहक सदस्यसचिव बन्न सफल शुभाषचन्द्र जोशीको सेटिङमा उनले पशुपतिका ठेक्कामा राज गर्दै आएका छन्। डा. राम लामा, मिलन लिम्बु, डा. मनोहर प्रधानलगायत समानुपातिक सूचीबाट बाहिरिदा तामाङ भने सांसद पड्काउने दाउमा देखिन्छ। पशुपतिको मुख्य ठेकेदार नै रास्वपाको समानुपातिक सूचीमा पर्दा पुराना र नयाँ दलमा केही फरक नरहेको भन्दै आलोचना हुन थालेको हो।
ट्याग : #धर्मलाल तामाङ



तपाईको प्रतिक्रिया दिनुहोस