गगन नेतृत्वको कांग्रेसले दिएन दागी नेताहरूलाई टिकट
काठमाडौं। गगनकुमार थापा नेतृत्वको कांग्रेसले धेरै जसो दागी नेताहरू टिकटबाट बञ्चित भएका छन्। अघिल्लोपटक प्रत्यक्ष निर्वाचित सांसदहरूलाई नै नेपाली कांग्रेसले टिकट नदिएको हो।भ्रष्टाचार मुद्दा लागेर आर्थिक रूपमा बदनाम भएका नेताहरूलाई कांग्रेसले चुनावमा जान रोकेको छ। यसलाई सकारात्मक रुपमा लिनुपर्छ। मनाङबाट उठेका टेकबहादुर गुरुङबाहेक अधिकांश दागी नेतालाई गगन नेतृत्वको कांग्रेसले टिकट नदिएको हो।
भ्रष्टाचार मुद्दा लागेका सन्तोष चालिसे, मोहनबहादुर बस्नेतदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिन दायरामा रहेका दिपक खड्का, रमेश लेखकलगायत पनि कांग्रेसले टिकट नदिएको हो।
टेरामक्स खरिद प्रकरणमा रहेका भ्रष्टाचार मुद्दा दायर भएका पूर्व स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई कांग्रेसले टिकटबाट बञ्चित गरेको हो। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक-२ बाट निर्वाचित सांसद बस्नेतले यो पटक टिकट नपाएका हुन्। उनको ठाउँमा वंशलाल तामाङलाई टिकट दिएको छ।
अकुत सम्पत्ति आर्जनमा अख्तियारले डामेका सन्तोष चालिसेलाई पनि यो पटक कांग्रेसले टिकट दिएन। काठमाडौं-२ बाट अघिल्लो प्रतिनिधिसभामा निर्वाचित सांसद चालिसेको विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेपछि उनको ठाउँमा कांग्रेसले रमेश अर्याललाई अघि सारेको हो।
अख्तियारको छानबिन दायरामा रहेका रमेश लेखक दिपक खड्कालगायतले कांग्रेसबाट पनि टिकट पाएनन्। भिजिट भिसा प्रकरणमा अख्तियारको छानबिन दायरामा रहेका लेखकलाई टिकट नदिएर हरि बोहरालाई अघि सारिएको छ। ‘जेन-जी’ आन्दोलन दमनमा पनि उनीसँग जाँचबुझ आयोगले बयान लिइसकेको छ। विवादित लेखकलाई गगन नेतृत्वको कांग्रेसले टिकट नदिएको हो। ‘जेन-जी’ आन्दोलनको क्रममा डलर जलेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिन दायरामा रहेका दिपक खड्काले पनि संखुवासभाबाट टिकट पाउन सकेनन्। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री भएका बेलाका कर्मकाण्डले विवादित बनेका र अख्तियारको समेत छानबिन दायरामा रहेका खड्कालाई गगन नेतृत्वको कांग्रेस टिकटबाट बञ्चित गरेको हो। कांग्रेसले संखुवासभाबाट दीपनकुमार श्रेष्ठ उम्मेदवार बनाएको छ।
सहकारी ठगीमा डिभोर्स काण्डले विवादित बनेका धनराज गुरुङले पनि कांग्रेसले टिकट दिएन। गुरूङको ठाउँमा कांग्रेसले स्याङ्जा-२ बाट भागवत प्रकाश मल्ललाई अघि सारेको हो।
कुलिङ पिरियड छेडखानीमा जिम्मेवार ठहरिएका रामहरि खतिवडा पनि यो पटक टिकटबाट बञ्चित भएका छन्। विवादित खतिवडाको ठाउँ ओखलढुङ्गामा कांग्रेसले कुमार लुईंटेललाई अघि सारेको छ।
भ्रष्टाचार मुद्दा लागेका विजयकुमार गच्छारले पनि सुनसरी-३ बाट यसपटक टिकट पाउन सकेनन्। विजयको ठाउँमा कांग्रेसले वेदनारायण गच्छदारलाई टिकट दिएको हो। विवादित ठेकेदार पूर्णबहादुर (कान्छाराम) तामाङले पनि रामेछापबाट टिकट पाएनन्। कान्छारामको ठाउँमा कांग्रेसले रामचन्द्र खड्कालाई टिकट दिएको छ।
नक्कली भुटानी शरणार्थी काण्डमा मुद्दा लागेका बालकृष्ण खाणदेखि सम्पत्ति शुद्धीकरणमा छानबिनमा रहेकी आरजु राणा देउवाको दम्पतिलाई गगन नेतृत्वको कांग्रेसले टिकट नदिएको हो। दागी नेताहरूलाई टिकट नदिएर कांग्रेसले राम्रो कदम चालेको छ। यो कुरालाई अन्य दलले पनि अनुसरण गर्न जरूरी छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस