भावी प्रधानमन्त्रीको झापाका स्थानीयसँग भेटघाट सुरु
झापा — प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले चुनावी भेटघाटलाई तीव्र पारेका छन्। बुधबार बिहानैदेखि उनी झापाका विभिन्न स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन्।
वैकल्पिक राजनीति र सुशासनको सन्देश लिएर झापा पुगेका शाहले स्थानीय तहमा जनताका आवाज सुन्ने र आफ्ना योजना राख्ने कार्यक्रमलाई प्राथमिकता दिएका छन्। यसै क्रममा उनले दमक नगरपालिका वडा नम्बर ५ स्थित चुनावी सम्पर्क कार्यालयमा स्थानीय बासिन्दासँग प्रत्यक्ष छलफल गरेका छन्।
भेटघाटका क्रममा स्थानीय मतदाताले रोजगारी, विकास, सेवा प्रवाह र समसामयिक राजनीतिक विषयमा आफ्ना समस्या तथा अपेक्षा राखेका थिए। जवाफमा शाहले काठमाडौं महानगरपालिकामा आफूले गरेको काम, शहरी व्यवस्थापन, रोजगारी सिर्जना र पारदर्शी शासनका अनुभव साझा गर्दै आगामी दिनमा संघीय तहमा गर्न चाहेका योजनाबारे धारणा राखेका थिए।
झापा क्षेत्र नम्बर ५ लाई देशकै ‘हाइ–प्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा लिइन्छ। यस क्षेत्रमा बालेन शाहको सक्रिय उपस्थितिलाई राजनीतिक वृत्त मात्र होइन, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै चासोका साथ हेरिएको छ। काठमाडौं महानगरमा गरेका कामका कारण चर्चामा रहेका शाहको झापा यात्रा र मतदाता भेटघाटलाई आगामी राजनीतिक दिशासँग जोडेर विश्लेषण हुन थालेको छ।
काठमाडौंमा देखाएको कार्यसम्पादन र वैकल्पिक राजनीतिक धारका कारण समर्थकहरूले उनलाई भविष्यको राष्ट्रिय नेतृत्वका रूपमा हेर्न थालेका छन्। यही पृष्ठभूमिमा झापाबाट सुरु भएको बालेन शाहको चुनावी भेटघाटले चुनावी माहोललाई थप रोचक बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस