भूमिमन्त्री इङनाम जागेपछि सहकारीमा बदमासी गर्ने कर्मचारी पर्ने भए कारबाहीमा
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङनाम ‘एक्सन-प्लान” अनुसार चल्न थालेका छन्। उनी ‘एक्सन-प्लान’मा चल्न थालेपछि सहकारीका बिचौलिया कर्मचारीको भागाभाग हुने स्थिति आएको छ। मन्त्री इङनामले मालपोतका ‘भ्रष्ट’ कर्मचारीलाई हायलकायल पारिरहेका छन्। अब उनको ध्यान सहकारीमा बेथिति ल्याउन कर्मचारीतिर पुग्न थालेको हो।
मन्त्री इङनाको प्रस्तावमा मन्त्रिपरिषद्को माघ २ गतको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश विनोदप्रसाद शर्माको अध्यक्षतामा सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोग, २०८२ गठन गरेको छ। उक्त आयोगको मुख्य कार्यदेश नै सहकारीमा बेथिति ल्याउने कार्यमा संलग्न कर्मचारी तथा पदाधिकारीहरूको विवरण सङ्कलन गरी कारबाही सिफारिस गर्ने रहेको छ। समितिले प्रतिवेदन दिएपछि सहकारीमा बेथिति निम्त्याएर मस्ती मार्ने कर्मचारीको पर्दाफास हुने देखिन्छ। उक्त आयोगले सहकारी क्षेत्रमा देखिएका अनियमितता, समस्या तथा बेथितिबारे अध्ययन गरी प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ।
जाँचबुझ आयोगको अध्यक्षमा भक्तपुरका विनोदप्रसाद शर्मा रहेका छन्। सदस्यमा रौतहटका नवराज सापकोटा, धादिङका नवराज सिम्खडा काठमाडौंका पुण्यप्रसाद दंगाल रहेका छन्। विज्ञ सदस्यका रूपमा काममाडौं महानगरपालिका वडा नम्बर-१७ का वसन्तबहादुर शाक्य रहेका हुन्। सापकोटा नेपाल सरकारका अवकाशप्राप्त सहसचिव हुन् । सिम्खडा सहकारी वा बैंक तथा वित्तीय संस्थाको क्षेत्रमा अनुभवी र दंगाल सहकारी कानुनको क्षेत्रमा पैरबी गर्दै आएका कानुन व्यवसायी हुन्। शाक्य सहकारी वा बैंक तथा वित्तीय संस्थाको क्षेत्रमा अनुभवी व्यक्ति रहेका छन्। आयोगले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था रहेकाले त्यसपछि धेरै कर्मचारीको भागाभाग हुने स्थिति देखिन्छ।
ट्याग : #नवराज सापकोटा, #नवराज सिम्खडा, #पुण्यप्रसाद दंगाल, #वसन्तबहादुर शाक्य, #विनोदप्रसाद शर्मा



तपाईको प्रतिक्रिया दिनुहोस