वीरमा आएर प्रत्यारोपण भाँड्ने पुकार मानव अंग ताक्दै


काठमाडौं ।  वीर अस्पतालमा आएर प्रत्यारोपण भाँड्ने डा पुकारचन्द्र श्रेष्ठ सहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र–भक्तपुरको कार्यकारी निर्देशक बन्ने दौडधुपमा  लागेका छन् ।

नेपालको सबैभन्दा पुरानो र ठूलो अस्पताल वीर विपन्न नेपालीको सहारा हो । तर पुकारले आफू पनि नगर्ने र अरूलाई पनि प्रत्यारोपण गर्न नदिने रणनीति अख्तियार गरेपछि वीरमा मिर्गौला प्रत्यारोपणको काम अझै ठप्प भएको छ । वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले यसै हप्ताबाट प्रत्यारोपण सुरु गर्ने बताएका थिए । तर, पुकार पुन: वीरमा प्रत्यारोपण नगरेर प्रत्यारोपण केन्द्र जाने चलखेलमा लागेका छन् ।

अहिले उनको बास वीर अस्पतालमा नभई बिहानदेखि साँझसम्म स्वास्थ्य मन्त्रालयमा हुने गरेको छ । स्वास्थ्यमन्त्रीको सचिवालयसमेत डा. पुकारप्रति दिक्क भइसकेको छ । आफूले प्रत्यारोपणको अनुमति पाए कायपलट गर्ने फूर्ति लगाउँदै मिडियामा अन्तर्वार्ता दिँदै हिडेका डा. पुकारले अनुमति पाएपछि पनि प्रत्यारोपण गर्न भन्दा प्रत्यारोपण केन्द्र जान राजनीतिक पहुँच जुटाउन र शक्ति केन्द्र धाउन थालेका छन् ।

वीरमा प्रत्यारोपण गर्ने निश्चित भएपछि उनी त्यहाँ डिस्टर्व गरेर प्रत्यारोपण केन्द्र जान लागेका हुन् । उनले वीरमा प्रत्यारोपण सेवा सुरू गर्न लामै आम्दानीसहितको प्रतिवेदन स्वास्थ्य मन्त्रालय र उपकुलपतिलाई बुझाएका थिए । त्यसका लागि करोडौंका उपकरण खरिद गर्न पनि सुझाव दिएका थिए ।

‘वीरमा अप्रेसन थिएटर पनि छ, प्रत्यारोपण गर्छौँ भन्ने हामी चिकित्सक पनि छौँ । तर, प्रत्यारोपणको अनुमति पाएका छैनौँ । हामी डाक्टरले काम पाएका छैनौँ, मिर्गाैलाका बिरामी प्रत्यारोपणका लागि विभिन्न अस्पताल धाउन बाध्य छन । यो बडो विडम्बना छ ।’ डा पुकारले भनेका थिए । तर, उनले वीरमा प्रत्यारोपणसम्बन्धी केही नगरी सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र–भक्तपुरको कार्यकारी निर्देशक हुन चलखेल थालेकाले उनको नियत माथि प्रश्न उब्जिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

पुकारले आफू कामविहीन भएको, हाजिर गरेर, चिया खाएर घर फर्कने गरेको गुनासो गर्दै आएका थिए । बिरामीले दुःख पाए, लौन प्रत्यारोपण सुरु गरौँ भनेर हरेक साता अस्पतालको प्रशासनलाई अनुरोध गरेको उनको दाबी थियो  । तर, उनको पछिल्लो कार्यशैलीले पुकारले आफू पनि नगर्ने र अरुलाई पनि प्रत्यारोपण गर्न नदिने काम गरेको वीर कै चिकित्सकहरूको आरोप छ ।

पत्यारोपण सेवा सञ्चालन गर्न दिए सातामा चारवटा प्रत्यारोपण गर्न सकिने र बिरामीलाई सरकारले दिने अनुदान प्रत्यारोपणबापत ४ करोड अस्पतालमा आइपुग्ने भिजन सुनाएका पुकारले अनुमति पाए पनि काम गरेका छैनन् ।

मानव अंग प्रत्यारोपणमा रहँदा आफू मात्र बनेको तथा अरूलाई बन्न नदिएको र अन्य नेतृत्व जन्माउन नसकेको आरोप खेपेका पुकार अहिले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको कार्यकक्षमा गएर धर्ना कस्न थालेका छन् । स्रोतका अनुसार फेरि उनी सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र–भक्तपुरमै जान ज्यान फ्यालेर लागेका छन् । उनले स्वास्थ्य सचिव र मन्त्रीले नमानेको खण्डमा प्रधानमन्त्री पत्नी आरजु देउवासम्म पुग्ने च्यानल खोज्न थालेको उनीनिकट स्रोतले बतायो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com